इलाममा सुरक्षा व्यवस्था कडा

इलाम, ३० असोज । हिन्दु नेपालीहरुको पर्व दसैं, तिहार र छठ नजिकिदै जाँदा इलाममा शान्ति सुरक्षा कडा पारिएको छ ।
प्रहरी प्रशासनको सहकार्यमा चाडपर्वको अवधिभर कुनै पनि अपराधिक क्रियाकलापहरु हुन नदिन स्थानीय प्रशासनले नयाँ सुरक्षा रणनीति अपनाएको छ । सर्वसाधारणको रक्षाका लागि नयाँ सुरक्षा अभियानलाई अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
चाडपर्वको बेला नागरिकको सुरक्षाका लागि आफ्ना गतिविधिलाई चौविसै घण्टा सञ्चालन गरिरहेको प्रहरी निरीक्षक गणेश बाँस्तोलाले बताए ।
प्रहरीले रातको समयमा सिभिल गस्ती सञ्चालन गर्नुका साथै सदरमुकामका प्रमुख बजारहरु बिब्ल्याँटे, धोवीधारा, जिरो किलोमिटर र चोकबजार क्षेत्रमा चेकिङ्ग शुरु गरेको छ ।
सुरक्षा व्यवस्थालाई अझ प्रभावकारी बनाउन मोवाइल गस्ती समेत गरिएको प्रहरी निरीक्षक बाँस्तोलाले बताए ।
जिल्लाका अन्य बजारहरु फिक्कल, पशुपतिनगर, मंगलबारे, दानाबारीलगायत अन्य मातहतका निकायमा समेत सुरक्षा व्यवस्था कडा बनाईएको प्रहरी भनाई छ ।
ट्राफिक प्रहरीसहित मादक पदार्थ सेवन (मापसे) चेकिङ्ग, सवारी साधनको छतमा यात्रु चढाउने, एउटा प्रयोजनका लागि चलाईएका सवारी साधन अर्को प्रयोजनमा लगाएको पाएमा पनि कारबाही गर्ने योजना प्रहरीको छ ।
बढ्दै गएको दुर्घटना न्युनिकरणका लागि विना हेल्मेट मोटरसाईकल चलाउने र दुई जना भन्दा बढी चढ्नेलाई कारबाही गरिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया