पर्वमा हवाई उडान थपिने

काठमाडौं : दसैँ तथा दीपावलीलाई ध्यानमा राख्दै उडान संख्या थप गरिने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालक संघले दसैँका लागि उडान थप्ने सहमति गरी प्रक्रिया अघि बढाएका हुन् । सुगमतर्फ भद्रपुर, जनकपुर, विराटनगर, भैरहवा, भरतपुर, नेपालगन्ज र धनगढीजस्ता गन्तव्यका लागि उडान थप गर्न निजी हवाई कम्पनीले सहमति गरेको प्राधिकरणका महानिर्देशक त्रिरत्न मानन्धरले बताए ।

त्यसैगरी, दुर्गमतर्फका कर्णाली क्षेत्रका हुम्ला, जुम्ला, मुगु, डोल्पा, बाजुरा, बझाङ, जोमसोम, मनाङ, लुक्ला, भोजपुर, रुम्जाटार, लामीडाँडा, रामेछाप गन्तव्यमा जहाजको विकेन्द्रीकरण गरी उडान गरिने भएको छ । कर्णाली क्षेत्रका लागि नेपालगन्ज वा सुर्खेत बेस गन्तव्यबाट उडान गरिने, जोमसोम, मनाङ, मुस्ताङका लागि पोखरा बेस बनाइने र पूर्वीक्षेत्रका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गरिने भएको छ । कर्णाली क्षेत्रका लागि सीता र तारा एयरको एक–एकवटा जहाज नेपालगन्ज वा सुर्खेत बेसमा राख्ने व्यवस्था मिलाएको छ ।
यस्तैगरी, पोखरा बेसबाट तारा र अग्नि एयरको नियमित उडानबाहेक तारा एयरको एउटा जहाज रहनेछ । काठमाडौंबाट पूर्वी दुर्गम गन्तव्यमा तारा, सीता र अग्नि एयरले नियमित उडान गर्ने व्यवस्था मिलाएको छ । थप उडानलाई चार्टर्ड उडानको रूपमा नलिई नियमित भाडादरमै उडाउनुपर्ने व्यवस्था मिलाइएको छ । नेपाल वायुसेवा निगमले देशभरका दुर्गम गन्तव्यमा उडान गर्ने गरी व्यवस्था मिलाएको छ । निगमसँग रहेको दुईवटा ट्वीनअटर विमानले सो सेवा दिने र धेरै उडान गर्न आग्रह गरिएको छ । वायुसेवा प्रदायक संघ (आयोन)का अध्यक्ष रामेश्वर थापाले चाडबाडका समयमा उडान थप गर्न प्राधिकरणले गरेको आग्रहलाई स्वीकार गरी इमानदारीका साथ कार्यान्वयनमा ल्याइने बताए । (सौस)

प्रतिक्रिया