२०१२ अप्रिल ८
बिहान झिसमिसे नै थियो । सायद काठमाडौं पूरै ब्युँझिसकेको थिएन । आरुबारीस्थित एक घरको ढोका घरक्क उघ्रियो । बडेमानको झोला बोकेर एक अधबैँसे पुरुष र पन्ध्रवर्षे किशोरी बाहिर निस्किए । मंगोलियन मोहडाकी एक महिला सँुक्कसुँक्क गर्दै बाहिर आइन् । अनि, उनीहरूलाई खादा पहिर्याएर बिदाइ गरिन् । किशोरी र पुरुष फटाफट सडकतिर निस्किए । मानौँ, उनीहरू कुनै लामो यात्रा तय गर्दै छन् । ढोकामा उभिएकी महिलाले ओझेल नपरुन्जेल उनीहरूलाई हेरिराखिन् ।
मे १९, मध्याह्न साढे १२ बजे
घरबाट हिँडेको ४२औँ दिन । हिउँ नै हिउँको उकालोमा लम्किँदै छे त्यो किशोरी । हिउँले जिउ खान नदिन बाक्लो ज्याकेट लगाएकी उसका मुखमा अक्सिजन पाइप जोडिएको देखिन्छ । डोरीमा झुन्डिँदै ‘हिलारी स्टेप’ बाट निरन्तर उकालिइरहेकै छे ऊ । केही छिनमै हिउँको चुचुरोमा पुगी । अब उसलाई सर्वोच्च भएको अनुभूति हुँदैझैँ, धर्तीको सम्पूर्ण भूभागलाई तलतिर देखिरहेकी छे । मुहारमा छुट्टै चमक छ । मानौँ, उसले विश्व जितेकी छे ।
१९ वर्षअघि विश्वको अग्लो चुचुरो सगरमाथामा नेपाली चेलीका तर्फबाट पहिलोचोटि पासाङल्हामु शेर्पाले पाइला टेके पनि उनले सशरीर उपस्थित भएर त्यो खुसी राष्ट्रवासीसँग बाँड्न पाइनन् । यद्यपि, नेपाली महिला आरोहीलाई बाटो भने खोलिदिइन् । त्यसपछि डेढ दर्जनबढी नेपाली महिलाले सगरमाथामा राष्ट्रिय झन्डा फहराएका छन् ।
काठमाडौं आरुबारीकी निमा छेम्जी शेर्पालाई पनि सगरमाथा चढ्ने हुटहुटीले तान्यो । पासाङल्हामुलाई पछ्याउँदै १९ वर्षपछि उनी पनि त्यही पथमा लम्किइन् । अरू नेपाली महिलाले व्यक्तिगत रहर पूरा गरे तर उनलेचाहिँ राष्ट्रका नाममा कीर्तिमानै लेखाइदिइन् । १५ वर्ष आठ महिनाको उमेरमा उनले ‘सगरमाथा चुचुरो टेक्ने कान्छी आरोही’ को रेकर्ड राष्ट्रलाई उपहार दिएकी छन् ।
‘गाह्रो भयो भने चुचुरोमै पुग्छु भनेर जिद्दी नगर्नु है छोरी † हिलारी स्टेप पुगेपछि आमाले भनेको यो वाक्य सम्झिरहेकी थिएँ,’ चुचुरो टेकेपछिको रोमाञ्चक अनुभूति सुनाउँदै छिन् निमा– ‘सबैभन्दा अग्लो चुचुरोमुनि एकदमै असजिलो रहेछ । पाइला अगाडि बढायो, चिप्लिएर तलै खसिने । हिलारी स्टेप सबैभन्दा अप्ठ्यारो रहेछ । माथिबाट एक चप्लेटी हिउँ खसेर ढाडमा बजारियो । समातिरहेको डोरीबाट हातै फुस्केलाजस्तो भइरहेको थियो । बुबाले भन्नुभयो– ‘छोरी तिमीलाई गाह्रो भएजस्तो छ, फर्क ।’
तर, निमालाई हार मान्न पटक्कै मन लागिरहेको थिएन । बुबाको मायालाई स्विकारेर चुचुरोतर्फको पाइला मोडेको भए कीर्तिमानी बोकेर उज्यालिने मौका उनको हातबाट फुत्किसकेको हुन्थ्यो । भएभरको शक्ति सञ्चय गरेर पाइला उचालिन् । दुखाइ र थकानबाट उनको ध्यान फेरि रिस्क गेमतर्फ मोडिइसकेको थियो । सम्झन्छिन्– ‘मेरो मनले शिखर चुमिसकेको थियो, बीच बाटोबाटै कसरी फर्किनु । बुबालाई ‘सक्छु’ भनेँ ।’ जम्मा १५ मिटरको त्यो उकालो पार गर्न आधा घन्टाभन्दा बढी लाग्यो । आखिरमा रिस्कलाई पराजित गरेरै छोडेँ ।’
एसएलसी परीक्षा सकेर बसेका अरू किशोरकिशोरीका योजनाभन्दा नितान्त फरक थियो निमाको सपना । समवयीहरूले घुमफिर, फिल्म अनि पिकनिकका योजना बनाइरहँदा उनीचाहिँ सगरमाथासँग अनन्त साइनो जोड्ने तयारी गरिरहेकी थिइन् ।
२०१२, अप्रिल ८ मा काठमाडौंबाट सोलुखुम्बुतर्फ लम्किनुअघि आमाले निकै सम्झाएकी थिइन् उनलाई– ‘छोरी यो खतरनाक खेलमा हात नहाल ।’ त्यसैले त छोरीलाई बिदाइ गर्दा उनका आँखा आँसुले भरिएका थिए । आमाको आँसु देखेर निमा पनि भक्कानिएकी थिइन् त्यो क्षण । सायद मनमनै भनिरहेकी थिइन्– मैले चुचुरो टेकेका दिन यी आँसु हर्षमा परिणत हुनेछन् आमा †
निमालाई सगरमाथा चढ्न आँट दिलाउने उनकै बाबु थिए । त्रिभुवन विमानस्थलबाट लुक्लातिर बढ्दै गर्दा निमाको मनचाहिँ बारम्बार सगरमाथातिरै पुगिरहेको हुन्थ्यो । हिँडेको पाँचौँ दिन बेसक्याम्पमा पुगे पनि आरोहणबारे थुप्रै कुरा सिक्नुथियो निमाले । ट्रेकिङ गाइड पिताले उनलाई सघाए । ‘बेस क्याम्पमा बसेर हिउँमा हिँड्न सिक्यौँ । हाइकिङलगायत हिमाल चढ्दा जान्नुपर्ने प्राविधिक कुरासँग परिचित भएँ । मौसम सफा हुँदा आइस ट्ेरकिङलगायत अभ्यास गरेँ । बेसक्याम्पमा पुगेपछि क्याम्प २ सम्म पुगेर दुई दिन बसेर पनि फर्किएका थियौँ,’ लगातारको अभ्यास सुनाउँदै छिन् निमा ।
खुम्बु आइसफलसँग सीमा जोडिएको पाँच हजार तीन सय ६४ मिटर उचाइमा बेसक्याम्प बस्दा त्यहाँको अल्टिच्युट सिकनेस र हिमाली वातावरण अनुकूल हुनु सबैभन्दा समस्याको कुरा हो । त्यसैका लागि फेदीको शेर्पा गाउँ पेरुचे धेरैपटक आउजाउ पनि गरिन् उनले । पहिलोपटक हिमाल पदयात्राको अनुभूति सँगाल्दा त्यहाँका रमाइला दृश्य सम्झिन्छिन् – ‘यसपटक अनुमति पाएका ३३ वटा आरोहण दलका करिब साढे तीन सय जना सगरमाथा आरोही र शेर्पाहरूको भिड थियो । रंगीचंगी टेन्टका कारण बेसक्याम्पमा त मेलाजस्तै हुँदो रहेछ ।’
टेन्टभित्र बसिरहँदा सोलु एफएम सुन्थिन्, जसले सगरमाथा चढ्न आएकाहरूका अनेक गाथा सुनाइरहेको हुन्थ्यो । सोच्थिन्, ‘टुप्पोमा पुगेँ भने मेरो नाम पनि यसैगरी बज्नेछ ।’ फेरि त्रास पनि उत्तिकै थियो, उनका मनमा– ‘अलिकति तलमाथि परे जीवनै सगरमाथालाई चढाउनुपर्ने पनि हुनसक्छ ।’
८ अप्रिलमा बेसक्याम्प पुगे पनि यात्रा भने मे १५ मा सुरु गरेका थिए । हिमाच्छादित चट्टानसँग मितेरी लगाउँदै गर्दा उनले मनमनै प्रार्थना गरेकी थिइन्– ‘विश्व चिनाउने मेरो सगरमाथालाई एकपटक चुम्बन गर्ने शक्ति देऊ भगवान् ।’ रातिको २ बजे टर्चलाइटको उज्यालोमा बाटो नियाल्दै निमासहितको १८ जनाको समूह अघि बढ्यो । सानी भए पनि सबैभन्दा अगाडि उनै थिइन् । ‘हामी नौ घन्टा हिँडेर क्याम्प २ मा पुग्यौँ । हाम्रो टोलीले पनि अरूले झैँ आधारशिविर, क्याम्प वान, टु, थ्री र फोर (साउथकोल) मा टेन्ट लगाएको थियो,’ यात्रावृत्तान्त सुनाउँदा घरिघरि हिउँमै हिँडिरहेको अनुभूति अनुहारमा देखिन्थ्यो । ‘मुखमा अक्सिजन लगाइएको थियो । बाटामा धेरै बोल्ने वा अनुभव बाँड्दै हिँड्ने कुरै हुँदैन । म भने मनमनै सगरमाथाको आठ हजार आठ सय ४८ मिटर उचाइमा रमाइरहेको हुन्थेँ । १८ मेमा क्याम्प ४ पनि नाघेर साउथ कोल पुग्यौँ ।’
साउथ कोलमा पुग्दासम्म उनको समूहका सात जनाले सगरमाथासँग हार मानेर पाइला मोडिसकेका थिए । निमाको अठोट झन् बुलन्दै हुँदै थियो । सुनाउँछिन्, ‘१९ मे मेरो जीवनको सबैभन्दा महत्त्वपूर्ण दिन । जीवनकै सबैभन्दा जोखिमपूर्ण दिन पनि त्यही थियोजस्तो लाग्छ अहिले । मान्छेले आँटेमा जस्तोसुकै कठिनाइ पनि सहज भइदिन्छ, हिजोआज यस्तै लाग्छ ।’ डोरीमा झुन्डिँदै, बनाइएको सानो कृत्रिम बाटोमा पाइला राख्दै सगरमाथाको उचाइ चुम्नु सहज पटक्कै थिएन । घरबाट हिँडेको ४२औँ दिन बुबा डेन्डी शेर्पाका साथ निमा चुचुरोमा पुगिन् । निमाले काठमाडौंमा बसेर गरेको कल्पना मे १९ को मध्याह्न साढे बाह्र बजेको यो साइतले पूरा गरिदिएको थियो । सगरमाथा चुचुरोमा छँदाका स्मृति झनै ताजा भएर आउँदै छन् उनमा, ‘ब्यागबाट चन्द्रसूर्य अंकित झन्डा निकालेर फोटो खिचाएँ । बुबाको अँगालोमा बेरिएँ । मसँगै बुबाको चाहना पनि पूरा भएको थियो । हर्षका आँसु गालासम्म आइपुगे । सगरमाथाबाट मातृभूमि नियालेँ, ससाना हिमशिखरले ढपक्क ढाकिएको । चुचुरोमा ढुंगै उडाउलाजस्तो हावा चल्दोरहेछ । हामी १५/२० मिनेटभन्दा बढी त्यहाँ अडिन सकेनौँ, त्यसको तीन दिनपछि आधारशिविर आइपुग्यौँ ।’
प्रतिक्रिया