“संविधानसभा पुन:स्थापना हुन सक्दैन”

जनकपुर, ३० असोज । राष्ट्रपति डा. रामवरण यादवले कुनै पनि हालतमा संविधानसभा पुन:स्थापना हुन नसक्ने बताएका छन् । राष्ट्रिय सहमति गरेर निर्वाचनमा जानुको विकल्प नभएको उनको जिकिर छ ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावपछि संविधानसभा पुन:स्थापनाको विषयमा दलहरूबीच छलफल भइरहेका बेला राष्ट्रपति जनकपुरधाम पुगेर चुनावमै जानुपर्ने बताएका हुन् । सगोलमा रहेको जग्गा अंसियारको नाममा दर्ता गराउन सोमबार धनुषा आएका राष्ट्रपति यादवले सञ्चारकर्मीसँग अन्तरिम संविधान र सर्वोच्च अदालतको फैसलाले पनि निर्वाचनमै जानुपर्ने बाटो देखाएको बताए । उनले भने, ‘अन्तरिम संविधान एवं सर्वोच्चको फैसलाले समेत निर्वाचनमा जानुपर्ने बाटो देखाएकाले दलहरू चुनावमा जानुको विकल्प छैन ।’ उनले दलहरूले संविधान संशोधन गरी अगाडि बढ्नुपर्नेमा संविधानसभा नै विघटन गर्नु महाभूल भएको बताए । ‘राजनीतिक दलहरूले संविधान संशोधन गरेर अगाडि बढ्नुपर्ने बेलामा संविधानसभा नै विघटन गर्‍यो, जुन महाभूल थियो,’ उनले भने, ‘वैकल्पिक व्यवस्था गरेर संविधानसभा हेर्ने व्यवस्था गर्नुपथ्र्यो, त्यो भएन ।’ राष्ट्रपति डा. यादवले राजनीतिक दलहरूले संविधान निर्माणलाई भन्दा बढी सत्तालाई प्राथमिकता दिएका कारण संविधान नआएको आरोपसमेत लगाए ।
राष्ट्रपति डा. यादवले अहिलेको संविधान आºना लागि गीतसरह भएको उल्लेख गर्दै उनले कुनै हस्तक्षेप नगर्ने स्पष्ट पारे । तर, राष्ट्रको अखण्डता कायम राखी देशमा लोकतन्त्रलाई संस्थागत गर्ने र जनताको अधिकार सुनिश्चित गर्ने अधिकार आफ्नो अधिकार भएको पनि दाबी गरे । राष्ट्रपति डा. यादवले अहिलेको एमाओवादी र मधेसी मोर्चा नेतृत्वको सरकारले मुलुकलाई निकास दिन नसक्ने दाबी गर्दै कांग्रेस र एमालेसहितको राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताए । कांग्रेस र एमालेसहितको राष्ट्रिय सहमतिको सरकारले मुलुकलाई निकास दिने उनको भनाइ छ । उनले राजनीतिक दललाई सहमति गराएर संविधान जारी गराउनु आºनो कर्तव्य भएको बताए । ‘राजनीतिक दललाई सहमति गराएर संविधान जारी गराउनु मेरो कर्तव्य हो । जुन बाटोबाट संविधान आउँछ दलहरूले त्यो काम गर्नुपर्छ,’ उनले भने ।
प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रपतिलाई कुनै अधिकार नभएको भनेर दिएको अभिव्यक्तिलाई उनले आफूले ध्यान दिन जरुरी नभएको बताए । ‘कसले के बोल्छ, मैले ध्यान दिन जरुरी छैन,’ उनले भने । अर्को एक प्रसंगमा राष्ट्रपति डा. यादवले दलहरूले राष्ट्रिय सहमति कायम गरेर मात्रै पूर्ण बजेट ल्याउनुपर्ने बताए ।

प्रतिक्रिया