निर्वाचनको मिति माग्नु असंवैधानिक

काठमाडौं, २९ असोज । नेकपा–माओवादीका सचिव देबप्रसाद गुरुङले राष्ट्रपतिले निर्वाचनको मिति तोक्न भनेर दिएको अभिव्यक्ति असंवैधानिक रहेको टिप्पणी गरेका छन् ।
काठमाडौंमा आज आयोजित कार्यक्रममा उनले सहमतिका लागि दलहरुलाई गरेको आब्हान सकारात्मक रहे पनि नयाँ निर्वाचनको मिति माग्नु असंबैधानिक रहेको बताए ।
उनले भने, ‘अन्तरिम संविधान जीवित रहे सम्म राष्ट्रपतिले निर्वाचनको मिति माग्न सक्नु हुन्न ।’
एमाओवादीका पोलिटब्यूरो सदस्य लीलामणि पोखरेलले राष्ट्रपतिले स्वविवेकले कुनै कदम चाले त्यस विरुद्ध जनतामा जाने चेतावनी दिए । उनले भने, ‘राष्ट्रपतिले स्वविवेकले केही पनि गर्न सक्दैनन् ।’
पोखरेलले पछिल्लो समयमा राष्ट्रपति आफ्नो थाकथलो छाडेर महत्वकांक्षी बन्न थालेको आभाष हुन लागेको बताए ।
एमाले नेता रघुजी पन्तले राष्ट्रपतिका सम्बन्धमा संविधानमा कतै पनि एक शब्द आलंकारिक नलेखिएको बताए । उनले लिक भन्दा बाहिर गएको संविधानलाई लिकमा फर्काउन राष्ट्रपतिले संविधानको संरक्षकको नाताले भूमिका खेल्नु पर्ने सुझाव दिए ।

प्रतिक्रिया