ब्लु फिल्मकर्मी ओबामाका पक्षमा


न्युयोर्क : अमेरिकाको आगामी राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन पार्टी र यसका उम्मेदवार मिट रोम्नीले राष्ट्रपति बाराक ओबामालाई अलोकप्रिय बनाउन विभिन्न अभियान सञ्चालन गरिरहेका छन् । तर, यसले अमेरिकाका ब्लु फिल्मकर्मीलाई छुन सकेको छैन ।
ब्लु फिल्मकर्मीबीच डेमोक्रेटिक पार्टीका नेता ओबामा अझै पनि उत्तिकै लोकप्रिय छन् । अमेरिकाको वयस्क मनोरञ्जन उद्योग (पोर्न इन्डस्ट्री)मा आबद्ध मानिसमाथि सोसल नेटवर्किङ साइट इक्सबिआइजेट डट नेटले गरेको सर्वेक्षणले यो तथ्य फेला पारेको हो ।
सर्वेक्षणमा पोर्न उद्योगमा आबद्ध तीन सय ३९ मानिसको राय दिइएको थियो । उनीहरूमध्ये ६८ प्रतिशतले ओबामालाई अर्को कार्यकालका लागि समेत राष्ट्रपति चुन्नुपर्ने मत राखेका थिए । १३ प्रतिशतले मात्रै रिपब्लिकन उम्मेदवार रोम्नी मुलुकको नयाँ राष्ट्रपति बन्नुपर्ने बताएका थिए । १४ प्रतिशतले राष्ट्रपतिमा नयाँ मानिसलाई ल्याउनुपर्ने बताएका थिए भने बाँकी पाँच प्रतिशतले जो राष्ट्रपति भए पनि आफूलाई फरक नपर्ने भनाइ राखेका थिए ।
अमेरिकाको ठूलो पोर्न उद्योगमध्येका भिभिड इन्टरटेनमेन्टका मुख्य कार्यकारी हिर्सले सर्वेक्षण नतिजामाथि टिप्पणी गर्दै भने, ‘पोर्न उद्योगमा आबद्ध मानिसका लागि वित्तीय मुद्दाभन्दा सामाजिक मुद्दा महत्त्वपूर्ण छ । सामाजिक मुद्दामा जोसँग आफ्नो विचार मिल्छ, उनीहरू त्यसैलाई भोट दिन्छन् । त्यसैले सर्वेक्षण नतिजालाई मैले सामान्य रूपमा लिएको छु ।’ डेमोक्रेटिक पार्टी अमेरिकामा उदारवादी पार्टी मानिन्छ । वेश्यावृत्ति, समलैंगिकता तथा अश्लीलतासम्बन्धी कानुनप्रतिको यसको दृष्टिकोण उदार छ ।
अमेरिकी ब्लग अफिंगटन पोस्टका अनुसार पोर्न उद्योगमा आश्रितहरू रिपब्लिकन पार्टीप्रति खुसी छैनन् । केही महिनाअघि भएको पार्टी सम्मेलनमा रिपब्लिकन पार्टीले पोर्नोग्राफी र अश्लीलतासम्बन्धी कानुनमाथि कडाइ गर्नुपर्ने पार्टीको धारणा सार्वजनिक गरेको थियो । पोर्नोग्राफीको विरोध गर्नेले ओबामा प्रशासनले अश्लीलतासम्बन्धी कानुनमाथि कडाइ नगरेको आरोप लगाउने गरेका छन् । (एजेन्सी)

प्रतिक्रिया