चेकिङ्गका क्रममा प्रहरी माथि गोली प्रहार

नेपालगञ्ज, २७ असोज । यात्रु र सवारी साधन चेकजाँच गरिरहेका समयमा नेपालगञ्जको घरबारी टोलमा प्रहरी माथि गोली चलाउन दुई युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीयको सहयोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बाँके कम्दीका तीर्थराम धोबी र मनिकापुरका राजु हरिजन रहेको प्रहरी उपरीक्षक बिक्रम सिंह थापाले जानकारी दिए । उनीहरुका साथबाट प्रहरीले एक थान कटुवा पेस्तोल र ५ वटा गोली बरामद गरेको छ ।
पक्राउ परेका हरिजन र धोबी दुबै जना बाँके प्रहरीको मोस्ट वान्टेड सूचिमा छन् । पक्राउ परेका दुबै जनाले आफूहरु भूमिगत समूह तराई मधेस मुक्ति पार्टीको सदस्य रहेको दावी गरेका छन् ।
उनीहरुको गोली प्रहारबाट प्रहरी जवान हरि बोहरा घाईते भएका छन् । बोहराको अवस्था खतरा मुक्त रहेको छ ।
वडा प्रहरी कार्यालय नेपालगञ्जले दशैं र तिहारलाई ध्यानमा राखेर शनिबार राति सवारी सधान र यात्रुको चेकिङ्ग गरिरहेका बेला रिक्सामा आएका हरिजन र धोबीले प्रहरी माथि गोली चलाएका थिए ।
रिक्सामा आएका उनीहरुलाई शंका लागेर जाँच गर्ने क्रममा प्रहरी जवान बोहारा माथि गोली चलाएको उपरीक्षक थापाको भनाई छ । दुई राउण्ड गोली हानेर भाग्न खोजेका उनीहरुलाई स्थानीयबासिन्दा र प्रहरी मिलेर पक्राउ गरेका हुन् ।

प्रतिक्रिया