“साह्रै चकचके थिएँ”

मेरो जन्म २०१८ साल माघ २० झापाको भद्रपुरमा भएको हो । तीन जना आमाबाट जन्मेका ४ दिदी र ९ दाजुभाइमध्ये म जन्तरे (छैटौँ) हुँ । आफ्नी आमातिरको चाहिँ कान्छो । आमा गृहिणी हुनुहुन्थ्यो, बुबा खेतपाती गर्नुहुन्थ्यो ।
सानोमा म चकचके, उपद्रो गर्नुपर्ने, लुच्चो खालको फुच्चो थिएँ । पढाइमा सामान्य विद्यार्थी थिएँ । गणित विषयचाहिँ जति पढे पनि फुस्सा केही आउँदैनथ्यो । तर, अचम्म † एसएलसीमा सबभन्दा बढी अंक गणितमै आएको थियो । ६ कक्षामा पढ्दा गणितका सरले, ‘खै गृहकार्य देखा’ भने । मैले सादाकापी खोलेर देखाइदिएँ । कक्षाका फुच्चाफुच्ची गलल्ल हाँसे, साथीहरूसँगै म पनि हाँस्न थालेँ । सरले मलाई कान समाती कुखुरा बनाएर लट्ठीले मेरो ढाड र खुट्टामा पिट्न थाल्नुभयो । मलाई पनि के भयो कुन्नि, जुरुक्क उठेर सरको लट्ठी च्याप्पै समाइदिएँ । साथीहरू झन् जोडले हाँस्न थाले । सरको अनुहार लाजले टमाटरजस्तो रातो भयो । सर र म आमुन्नेसामुन्ने लट्ठी समाएर उभिएका थियौँ । सरले अर्को उल्टो हातले घुमाएर झापड हाने, मैले दिउँसै झलल्ल तोरीको फूल देखँे । यति हुँदा पनि मैले लट्ठी छोडिनँ । बाठो भएर लाटो काम गरेको सम्झेर अहिले पनि ती सरको अगाडि पर्दा सातो जान्छ ।
फुच्चे बेलामा हामी बुच्चे केटाहरूले साइकल देख्नै हुँदैनथ्यो । घरमा बा तथा दाजुहरूलाई भेट्न आउनेको साइकल टपक्क टिपेर चौरतिर दौडिहाल्थ्यौँ । एकपटक बालाई भेट्न अलिक टाढाका काका सरर साइकलमा हुइकिँदै आए । उनी भित्र पसेपछि मैले आँटिलो भई साइकल लिएर टाप ठोकेँ । निकै बेर साइकल चलाएर ठाँट गरेपछि चालचुल नगरी डोर्‍याउँदै साइकल यथास्थानमा राखी झाडीपछाडि लुकेर बसेँ । ती गाउँले काका साइकलमा बसेर पाउदानी चलाउन थाले, तर हेन्डिल हल्लेर साइकल कुदेन । परिणाम– उनी एकातिर साइकल अर्कैतिर लड्यो । म झाडीबाट फुत्त भ्यागुताभैँm उफ्रेर बाहिर निस्केँ र ट्यार्रटुर्र गर्दै मज्जाले हाँस्न थालेँ । हाँसेको देखेर ती काकाले लख काट्दै भने, ‘ए सिकुटे, फुकिढल (दुब्लो–पातलो भएकाले) नसे अशोके, तँैले साइकलको हावा खुस्काएको हो ?’ मैले पनि विचारै नगरी प्वाक्क बोलिहालेँ, ‘हावा हैन काका, साइकल चलाउँदा ट्युब नै पड्क्यो ।’ घरभित्रबाट दाजु आएर तँैले काकाको साइकल किन पन्चर गरिस् भन्दै मेरो कलिलो कन्चटमा कति साह्रो हिर्काउनुभयो भने मैले अगाडि चकमन्न र धमिलो मात्रै देखेँ । अमिलो मन लिएर घरभित्र पसेँ ।
गाउँकै स्कुलमा कखरा चिनेपछि चार कक्षादेखिचाहिँ भद्रपुर हाइस्कुल भर्ना भएको थिएँ । सर भुँइमा चकले लेख्थे, हामी मसिनो ढुंगा राखेर छापेर कखरा सिक्थ्यौँ । निलो पाइन्ट, सेतो सर्ट र खुट्टामा चप्पल हल्लाउँदै हातमा थोरै किताबकापी बोकेर स्कुल पढ्न जान्थेँ । प्रायजसो साथीहरूको किताब तानेर वा खोसेर पढ्थँे । पढेपछि फर्काउँथँे । नौ कक्षा पुगेपछि बल्ल कपडाको जुत्ता लगाउन पाएँ । म स्कुलमा हुने प्राय: सबै कार्यक्रममा भाग लिन्थेँ, गीतसंगीत नाटक आदि ।
अग्लो भएकाले म भलिबल राम्रो खेल्थेँ । फुटबलमा चाहिँ डिफेन्स भएर खेल्थेँ । मुढे बल लगाएर हुत्तिँदै बल खोस्न जान्थेँ । बल पाएपछि त्यही खेलाडीको ढाड र हाड तताउने गरी हान्थेँ । म आएको देखेर सबै परपर भाग्थे । केटासाथीहरूसँग डन्डिबियो, कपर्दी र केटी साथीहरूसँग भाँडाकुटी खेल्थेँ ।
सानो बेलामा आफूलाई मिठाई खान मन लाग्थ्यो । तर, स्कुलमा सरको र घरमा दाजु तथा बुबाको पिटाइ मात्र खाइन्थ्यो । मिठाई खानलाई सधैँ उही पैसाकै अभाव । एकपटक बुबा कोठामा मज्जाले सुतेर घुर्दै हुनुहुन्थ्यो । मैले बुबाको इस्टकोटको खल्तीबाट पहिलोचोटि एक–एकका नोट झिकेँ र हतार–हतार घरबाहिर भान्साको छेउमा मख्ख परेर आँैलामा थुक लगाउँदै दुवै हातले गन्न थालेँ । मनमनै आज त मिठाई खान पाइने भो भन्दै सोच्दै थिएँ । एक्कासि बुबाले मलाई पछाडिबाट झ्याम्म पिट्दै भन्न थाल्नुभो, ‘तँ सिकुटे, चुर्सेले अस्ति पनि मेरो पैसा चोरेको थिइस्, त्यसैले म मस्तीले सुतेको अभिनय गरेर गस्ती गरिरहेको थिएँ, बुझिस् †’ मैले बुबालाई यही पहिलोचोटि चोरेको हो भनेँ । तर, जति भने पनि पत्याउनु भएन । एक पटकको चोर सधैँको चोर हुँदो रहेछ, क्या बोर †
फुच्चे बेलामा सिनेमा हेर्न जाँदा म बडो छक्क पर्थें । पर्दापछाडि पक्कै मान्छे होला भनेर धेरै पटक चिहाउन पनि पुगेको थिएँ । रेडियो देख्दा मेरो कलिलो दिमाग झन् तीनछक नै पथ्र्यौ । ‘अरे, यो आवाज कहाँबाट आइरहेछ’ भनेर ठूलो रेडियो फङ्ल्याङ्फुङ्लुङ् खोलेर हेर्थें । त्यहाँ बोल्ने मान्छे नभेट्टाउँदा साह्रै दिक्क लाग्थ्यो । त्यहाँ पनि दाजुहरू आएर पिटिहाल्थे । पिटाइको शृंखला फुच्चे बेलामा चली नै रह्यो ।
मलाई भूतदेखि साह्रै डर लाग्थ्यो । गाउँमा कोही मर्दापर्दा क्रियापुत्रीलाई कुनै दाजु तथा गाउँले काकाहरू भूतको कुरा सुनाउँथे । घरमा राति दाजुभाइ लहरै सुत्थ्यौँ । घरबाट ट्वाइलेट अलिक टाढा भएकाले भूतको कुरा सम्झेर साह्रै डर लाग्थ्यो । साहस गरेर उठ्थेँ, फटाफट बाहिर गएर पिसाब गरेर आउँथेँ र ओछ्यानमा आएर सुत्थेँ । एकछिनपछि झसङ्ग भए र फेरी उठ्थेँ । लौ जा, मैले त सपनामा ओछ्यानमै सुसु गरेको पो हुन्थे † भरसक दाजुभाइले चाल नपाउन् भनेर तन्ना, सर्ट जे पाइन्छ गिलो ओछ्यानमा ढिलो नगरी ओछ्याएर त्यसैमाथि सुत्थेँ । बिहान कहिले ओछ्यान सुकेको हुन्थ्यो त कहिले चिसै हुन्थ्यो । चिसो भएको दिन पुन: दाजुहरूको धुलाइ खान्थेँ ।
गाउँका ठूला मानिस कोही मर्दापर्दा मलामी जान्थे । चाल नपाउने किसिमले हामी फुच्चेहरू पनि पछिपछि जान्थ्यौँ । मलामी जानेहरू ‘राम नाम सत्य’ भन्दै तिल, जौ र पैसा फाल्थे । हामी फुच्चेहरू कसैले नदेख्ने गरी पैसा टिपेर खल्तीमा हाल्थ्यौँ । एक्लै बटुल्न पाएको बेलामा कहिलेकाहीँ भक्कु पैसा हुन्थ्यो । धेरै साथीहरू छन् भने आपसमै खोसाखोस र मारमुंग्री पनि चल्थ्यो ।
भद्रपुरका नामी धनाढ्य सत्यनारायण अग्रवालका बगानमा सयौँ जातका फलफूल फल्थे । हामी बगानमा पसेर मनमाफिकका फल टिपेर खान्थ्यौँ । एकपटक रूखमा चढेर मज्जाले आँप खाँदै थिएँ । पाले आएको देखेर अरू साथी मलाई छाडेर भागे । म रूखमाथि एक्लो परेँ । पाले तलबाट खुरुक्क ओर्लिन कराउँछ, म झन् माथि चढेर आँप खान थालेँ । ३/४ घण्टा बिते पनि पाले मलाई समाउन कुरेर बसिराखेको थियो । यसो विचार गरेँ, ‘यो पाले त यहीँ बस्छ, रातभरि पनि मलाई समाउन कुर्न सक्छ ।’ मेरो फुच्चे दिमागमा एउटा आइडिया आयो । म तलतल ओर्लन थालेँ । पाले पनि तेलमा भिजाएर राखेको लट्ठी बोकेर बसिराखेको थियो । निकै तल ओर्लेपछि लिचीको रूखतिर हेर्दै न्वारनदेखिको बल लगाएर जोडले कराएँ, ‘ए धुर्बे, तँ लिचीको रुखमा छस् ओर्ली ।’ त्यति सुन्नासाथ पाले लिचीको रूखतिर दौडियो । म भुक्क हामफालेर घरतिर दौडिएँ ।
सेन्टअप पास भएपछि हामी विनोद भन्ने साथीका घरमा १०–१२ जना सामूहिक पढाइ गथ्र्यौं । एक दिन कसैलाई पनि पढ्न मन लागेन । राति सबै जना बजारतिर गयौँ । भद्रपुर बजारमा खसीबोका राति पनि बाटोमा बस्थे । हामी सबैले मिलेर एउटा खसीको मुख छोपी त्यसलाई बोकेर विनोदको घरमा ल्यायौँ र आ–आफू मिलेर काटकुट पारी रातभरि टन्न मासु र चिउरा खायौँ । खाँदाखाँदै बिहान भयो । सबै आ–आफ्नो घरतिर लाग्यौँ । बेलुकीपख नारायण भन्ने साथीको बुबाले चाल पाउनुभएछ । सबैको घरघरमा गएर तपाईंका छोरानाति, भाइले यसो गरे भनेर सुनाउनुभएछ । कुरो के भएको रहेछ भने खसी बोक्ने, काट्ने त्यही नारायण भन्ने साथी थियो । मासु पनि सबैभन्दा बढी त्यसले नै खायो र आफ्ना बालाई पोल पनि उसैले हाल्यो । त्यसले आफ्नै खसी चिन्न नसकेको हुँदा हामी बिलखबन्दमा परेका थियौँ । नारायणका बुबाले सबैको घरघरमा डुलेर खसीको पैसा उठाइछाडे । के गर्ने, बिगार गरेपछि बिगो त तिर्नै पर्‍यो † ०३६ सालमा भद्रपुर हाइस्कुलबाट एसएलसी परीक्षा उत्तीर्ण गरेपछि मेरो स्कुले जीवन सदाका लागि समाप्त भयो ।
प्रस्तुति : अनुक्रमराज

प्रतिक्रिया