ती द्रौपदी यी द्रौपदी

आज द्वापर युग अन्त्यको समय हुँदो हो भने निश्चिय नै महाभारतको लडाइँ चलिरहेको हुन्थ्यो । आज पनि महाभारतको युद्ध हुँदो हो, पाण्डवहरू हुँदा हुन्, कौरवहरू हुँदा हुन्, उनीहरूको शासकीय लडाइँका लागि द्यूतक्रीडा (पौराणिक युगमा राजाहरूले राज्य नै दाउमा राखेर खेलिने जुवा) भइरहेको हुँदो हो । जुवाको खालमा ‘धर्मराज’ युधिष्ठिर र राजकुमार दुर्योधन नारिएका हुँदा हुन् र दाउमा द्रौपदी । तर, आजको युग त्यो होइन र मेरा सामु महाभारत, पाण्डव, कौरव, मायावी कृष्ण र द्रौपदी एक मिथक मात्र हुन् । म तिनीहरूको कथा सुनेर एक सभ्यताको अनुभूत मात्र गर्नसक्छु र आफ्ना अगाडिका घटनालाई संस्कारको सनातन वा अद्भुत परिणतिका रूपमा चित्रण मात्र गर्न सक्छु । पूर्वी चितवनको एक गाउँमा घटेको त्यस्तै घटनाको विवेचकका रूपमा म जो उभिएकी छु, त्यो घटनाले महाभारतको धर्मसभामा पाण्डवहरूले जुवामा हारेकी द्रौपदीलाई झैँ एक महिलालाई नंग्याइएको छ । महाभारतको मिथक र त्यसको दृश्यचित्र मेरा आफ्नै इन्द्रियहरूको अनुभूति हुँदो हो भने मेरा लागि चितवनको शक्तिखोरमा नंग्याइएकी छमीकुमारी रानामगरलाई नांगेझार पारी गाउँ निकालिएको घटना एक साधारण कुरो हुन जान्थ्यो । आफ्ना मूल्यहरूलाई युगले अर्काे युगसामु गर्भाधान गरेको हुन्छ संस्कारका रूपमा र नयाँ युगमा पुरानो युगको वीर्यपातले जन्मेका घटनाले मथिंगललाई चक्राइदिन्छन् । यस अर्थमा मेरो मस्तिष्कबाट महाभारतकी द्रौपदी खिइँदै र छोपिइँदै गइन् र त्यसको ठाउँ लिइन् छमीकुमारीले ।


बालकै छँदा अँगेनाको डिलमा घेरा लागेर हामी पौराणिक कथाहरू सुन्थ्यौँ पुर्खाहरूबाट । भन्थे पुर्खाहरू, राज्यभोगको झगडामा लीन पाण्डव र कौरवहरू एक दिन द्यूतक्रीडामा बसे । जुवामा सबै प्रकारका झेल गर्नसक्ने सकुनी राजकुमार दुर्योधनतिरबाट जुवा खेलिरहेका थिए, पाण्डवतिरबाट धर्मराज यधिष्ठिर । पाण्डवहरू हार्दै गए । शरीर, मस्तिष्क, दुवैमा जुवाको नशा चढ्दै गयो, दाउमा राख्ने सबै कुरा सकिएपछि युधिष्ठिरले पत्नी द्रौपदीलाई दाउ थापे र उनलाई पनि हारे । जब द्रौपदी हारिइन् उनी शाक्तिशाली पाण्डवहरूकी रानीबाट कौरवहरूकी नोकर्नीमा परिणत भइन् । कथामा कारुणिकता र क्रूरता थपिँदै जाँदा मेरो मनमा कम्पन थपिँदै जान्थ्यो, सोच्थेँ ‘अब द्रौपदी के गर्लिन् †’ जब उनलाई पाण्डवहरूले जुवामा हारे राजकुमार दुर्याेधनका भाइ दुशासन द्रौपदीको शरीरभोग गर्न अघि सरे । आफूसँगै जान भने, द्रौपदीले आफू जुवामा हारिएकी भए पनि नातामा दुशासनकी भाउजू पर्ने बताइन् । अनि दुशासन अघि सर्‍यो, उनलाई नंग्याउन । कथामा दुशासन द्रौपदीको साडी तान्न थाल्यो उनलाई नंग्याएर बेइज्जत गर्न, कथा सुन्दै गरेकी म कहालिनथालेँ । धर्मसभामा धर्मराज यधिष्ठिर थिए, नीतिवान् विदुर थिए, कुरुवंशका सर्वाेच्च भीष्म पितामह र गुरुहरू द्रोणाचार्य र कृपाचार्य पनि थिए । कसैले द्रौपदीको स्वत्वलाई स्वीकार गर्न सकेनन् र कोहीकेही बोल्न सकेनन् । उनले भगवान् श्रीकृष्णलाई पुकारिन् । श्रीकृष्ण द्रौपदीको पुकारा सुनेर आए र उनको साडी बनिदिए, इज्जत बचाइदिए । कथाको दर्दले निधारबाट चिटचिट बगेको पसिना मैले पुछेँ । सोचेँ, द्रौपदी किनबेचयोग्य साधन थिइन्, पुराणमा नारीहरूलाई दिइएको स्थान मैले बुझेँ, यी मैले मिथकबाट सुनेकी द्रौपदी ।
०००
२०६५, चैतको एक साँझ चितवनको शक्तिखोर गाउँ, मगरहरूको झुरूप्प बस्तीबीच ठूलो खैलाबैला । एक घरको दैलो संघारबाट छमीकुमारी रानामगर निस्कँदै छिन् आँगनमा, अझ होइन आँगनमा जम्मा भएको भिडले उनलाई निकालिरहेको छ । छमीकुमारी बाहिर निकालिन्छिन् । मदिराले लठ्ठ पुरुषहरूको घेरामा छिन् उनी । भिडमा सबैका हातमा लठ्ठी, सबैका मुखबाट एकोहोरो गालीको पर्रा । रोजगार गर्न लोग्ने विदेसिएका, छमीकुमारीका घरमा सासूससुरा, नन्द र स–साना छोराछोरी मात्र ।
भिडले छमीकुमारीलाई आफूतिर तान्यो, गाउँमा रक्सीको निर्वाध चलन, गाउँलेहरूलाई रक्स्याहा हुनबाट रोकेको आरोप लगायो र नंग्याउन थाल्यो । महाभारतमा युधिष्ठिरले पत्नीलाई जुवामा हारेपछिको मनोदशामा थिएनन् उनका ससुरा । ससुरा चुप मात्र लागेर बसेनन् उनले त भिडलाई झन् हौस्याए, छमकिुमारीलाई कारबाही गर्न । भात भान्छा सकेर, जुठो भाँडो गरिरहेकी छमीकुमारी राना एकाएक पुरुषजनको हुलभित्र परिन् । रक्सीले उन्मत्त झुन्ड हातमा हतियार, एक महिलालाई गाउँ निकाल्ने उद्देश्यले पुगेको थियो । उनले गाउँमा रक्सी विरोधी अभियान चालेकाले उनीसँग गाउँले क्रुद्ध थिए । द्वापर युगले वीर्यपात गरेर गएको महाभारतको त्यही मिथक छमीकुमारीको जीवनमा जन्मिँदै थियो † होइन, यो मिथक थिएन । महाभारतमा जुवाको नशाले उन्मत्त धर्मसभाजस्तै यो रक्सीको नशाले उन्मत्त गाउँ थियो र उसका सामु छमीकुमारीले नांगिनु परेको थियो । उनको शरीरमा भएको पुरानो म्याक्सी कसैले लुछ्यो र धरर च्यातिदियो । झुन्ड नै आइलागेपछि एउटी नारीको शारीरिक शक्तिले कसरी प्रतिवाद गर्न सक्छ र । पुरानो भइसकेको म्याक्सी देब्रे कुमबाट च्यातिएर भुँइमा झर्‍यो । सर्वांग नांगो भइन् उनी, बस्तीबीच पसेको स्याललाई मानिसले लखेटेजस्तै छमी अघिअघि र गाउँलेहरू पछिपछिको उपक्रम चलिरह्यो निकैबेर । द्रौपदीलाई धर्मसभामा श्रीकृष्णको जस्तो साथ थियो छमीकुमारीलाई सासूले साथ दिएर केहीबेरमा लाज छोपिदिइन् । नन्द र कलिला छोराछोरीको रुवाबासी चल्यो तर छमी रोइनन् । आँखा होइन, मन रोएको थियो सायद । उनका आँखाबाट त्यसबेला आँसु झरेनन् । ‘एक थोपा पनि आँसु चुहिएन’ घटनाबारे छमी बताउँछिन् ।
भट्टीमा दिन बिताउनु, राति अबेर घर फर्किएर परिवारमाथि हैकम चलाउनु त्यसबेला पूरै गाउँको कृत्य थियो । अवचेतन गाउँ, पितृसत्तात्मक संस्कार र त्यसले उत्पादन गर्ने परिणति थियो त्यो घटना । हरेक युगका सत्ताले संस्कार आफू अनुकूलको संस्कार सिकाउँछ, त्यसैलाई सघाउने कानुन पढाउँछ र केही नलागेपछि डन्डा बर्साउँछ । कानुन त त्यो अवचेतन गाउँमा थिएन र कानुनको पालक राज्यको प्रतिनिधि पनि छमीकुमारीको रक्षाका लागि त्यहाँ आइपुगेन तर भिडसँग आफ्नो रक्स्याहा आकांक्षा र संस्कृतिको निरन्तरताका लागि लाठीहरू भने थिए ।
०००
असोजको पहिलो साता एक बिहान पूर्वी चितवनको शक्तिखोर हुँदै देवीटार पुग्ने मौका जुर्‍यो । छोरीलाई बोर्डिङ पुर्‍याउन जाँदै गरेका एक दम्पती भेटिए । शक्तिखोर गाउँ पहिलेभन्दा बेग्लै देखिन्थ्यो । त्यस दिन सुँगुरका छाउरा खुट्टामा बेरिन आएनन् । आँगन र पिँढी बढार्दै गरेका गृहिणी ज्यादै हँसिला देखिँदै छन् । बाटोमा यत्रतत्र मलविष्टा र दुर्गन्ध थिएन, गाउँ सफा सुग्घर छ । आँगनछेउ आइपुगेका पराइलाई मधुर स्वरमा उनीहरू सोध्छन् ‘कति कामले हाम्रो गाउँ आइपुग्नुभयो †’ बदलिएको गाउँ देखेर छमीकुमारीलाई सम्झेँ । उनको चेतनाको संघर्षभावले पूरै गाउँलाई यस्तो बनायो । संस्कारको पारम्पारिक व्याख्यामा नारीहरूलाई दुईथरी पात्रको रूपमा खडा गरिएको छ । संरक्षणभावका नारी र संघर्ष भावका नारी । पुरातन समाजमा पनि नारीहरूले संघर्ष गरेका थिए । तर, परम्परागत समाजले नारीहरूलाई जहिले पनि अरूको संरक्षण र निर्भरतामा राख्दै आयो । त्यो अवचेतन गाउँकी एक्ली छमीकुमारीले परम्पराको संरक्षणभाव त्यागिदिइन् र संघर्षभावलाई अँगालिन् । त्यसैले गाउँ पूरै बदलिएको देखिन्छ आज । कुर्ता सलवार लगाएर पिँढीमा बसिरहेकी छमी उज्यालिएकी देखिन्छिन् । उनको दरिएको आत्मविश्वास अनुहारले बोलिरहेको थियो । तीन छोरी भर्खरै बोर्डिङ स्कुलमा पठाएकी रहिछन् । गोठभरि बाख्रा छन् । जीविकाका लागि कमाउने आफैँ छिन् । ‘आफ्नो साहु आफँै’ भित्रको खुसी एकैपटक देखिने गरी हाँस्दै भनिन् छमीले । महाभारतकी द्रौपदीको शारीरमुद्रा कस्तो थियो मलाई थाहा छैन, उपभोक्तावादबीच प्रगतिको खुबै गीत गाइरहेको काठमाडौंमा बसेर आज म आफ्नै संघर्षले गाउँ बदलेर खुसी भएकी छमीकुमारीले घना आँखीभौँ सिउँरेर उन्मुक्त हाँसेको झलझली सम्झिरहेकी छु म ।

प्रतिक्रिया