काठमाडौं : आज शुक्रबारबाट दुई नयाँ नेपाली चलचित्र सार्वजनिक प्रदर्शनमा आउँदै छन् । म छु नि तिम्रो काठमाडौं उपत्यकामा र माई ब्रदर मोफसलबाट प्रदर्शनमा आउन लागेका हुन् । म छु नि तिम्रो मदन घिमिरेको निर्देशनमा तयार भएको हो भने माई ब्रदरका निर्देशक विष्णु भट्टराई हुन् ।
सोफिया सिने आर्ट फिल्म्सको ब्यानरमा एक वर्षअघि उपत्यकाबाहिर प्रदर्शन भइसकेको म छु नि तिम्रो पालो प्रणालीअन्तर्गत उपत्यकामा प्रदर्शन कुरिरहेको थियो । विश्वज्योतिलगायत उपत्यकाका २० हलमा एकसाथ लाग्दै छ । मायाप्रेमलाई मुख्य विषयवस्तु बनाइएको चलचित्रमा रोज राणा, सौजन्य सुब्बा, आयुष रिजाल, करण क्रेजी मुख्य भूमिकामा छन् । मौनता श्रेष्ठको लेखन, एनबी महर्जनको द्वन्द्वनिर्देशन, कृष्ण श्रेष्ठको छायांकन रहेको चलचित्रमा चेतन सापकोटा र वसन्त सापकोटाले संयुक्त रूपमा संगीत दिएका छन् । यो चलचित्रको तिमीविनाको जीवन बोलको गीतले गत वर्ष सिआरबिटीमा सबैभन्दा बढी कलेक्सन गरेको थियो । रोज राणाले बनाएको यो चलचित्रमा राम्रो लभस्टोरी रहेकाले सफलता हात पार्नेमा आफू विश्वस्त रहेको निर्देशक घिमिरेले बताए ।
त्यस्तै, माई ब्रदरमा दाजुभाइबीचको सम्बन्धलाई मुख्य विषयवस्तु बनाइएको छ । मोफसलका २० सिनेमा भवनबाट प्रदर्शनमा आउन लागेको चलचित्रमा नायक जीवन लुइँटेल र नयाँ अनुहार लक्की दीपकले दाजुभाइको भूमिकामा अभिनय गरेका छन् । सुमिना घिमिरे, रमेश बुढाथोकी, बालकलाकार अमिश कँडेल पनि मुख्य भूमिकामा छन् । चलचित्रमा बालमनोविज्ञानलाई पनि प्रस्तुत गरिएको निर्देशक भट्टराईले बताए । गोपाल भण्डारी कार्यकारी निर्माता रहेको चलचित्रमा विपिन आचार्यको संगीत, अष्ट महर्जनको द्वन्द्वनिर्देशन तथा धीरेन्द्रप्रसाद भट्टको छायांकन छ । (सौस)
प्रतिक्रिया