पुलिस पराजित, फाइनलमा आरसिटीविरुद्ध मनाङ

काठमाडौं, २६ असोज । राष्ट्रिय टिमका स्ट्राइकर जुमानु राई दुईवटा वानभर्सेस वान अवसरमा चुकेपछि ब्रिटिस गोर्खाकप विजेता नेपाल पुलिस क्लब सर्वाधिक राशिको नकआउट फुटबल प्रतियोगिता एनसेलकपमा सेमिफाइनलबाट बाहिरिएको छ भने उपाधिको प्रबल दाबेदार
मनाङ–मस्र्याङदी फाइनलमा पुगेको छ ।
बिहीबार भएको अत्यन्तै प्रतिस्पर्धात्मक भिडन्तमा मनाङले पुलिसलाई ३–१ ले पराजित गर्‍यो । अतिरिक्त समयमा मनाङले दुई गोल गरेको थियो । गत वर्षको सहिद स्मारक ए–डिभिजन लिगयता मनाङविरुद्ध पुलिसको यो पहिलो हार हो । दोस्रो हाफको अन्तिम १० मिनेट समयमा प्राप्त पेनाल्टी अवसरलाई सदुपयोग गर्दै खेलमा बराबरीमा आइपुगेको मनाङले अतिरिक्त समयको पहिलो हाफमा वैकल्पिक खेलाडी सुलभ मास्केको गोलमार्फत अग्रता लिएको थियो । अतिरिक्त समयको दोस्रो हाफमा सुजल श्रेष्ठले मनाङका लागि थप गोल गरे ।
मनाङलाई दुई अवसरमा विफल बनाएपछि पुलिसले दोस्रो हाफको सुरुआतमा अग्रता लिएको थियो । मिडफिल्डर रमेश कटुवालले
डी–बक्सबाहिरबाट गरेको प्रहार मनाङका विदेशी गोलकिपर एकवोलेद इम्मानुएल डेरले नियन्त्रणमा लिन नसक्दा अगाडि बढ्दै जुमानुले गोल गरेका थिए । सुमन सुवेदीले डी–बक्सभित्र नीराजन मल्ललाई लडाएपछि प्राप्त पेनाल्टी अवसरमा सर्विन्द्र श्रेष्ठले गोल गर्नुअघि पुलिस अग्रता दोब्बरको नजिक पुगेको थियो तर जुमानु राईले वानभर्सेस वान अवसरमा बल साइडबारभन्दा बाहिर प्रहार गरे ।
पुलिसका भरत शाह विपक्षी क्षेत्रमा लडे पनि मनाङले बल अगाडि बढाएर गोल गरेको थियो यद्यपि गोल भने निकै सुन्दर रहयो । अनिल गुरुङले टचलाइनबाट गरेको क्रसमा सेकेन्डबारभन्दा बाहिर अनमार्कड देखिएका सुलभले बललाई आकर्षकरूपमा पोस्टभित्र कटाइदिए । उता भरत भने अस्पताल पुर्‍याउने गरी घाइते भएका थिए । त्यसअघि पटकपटक मैदानमा लडेका उनी अन्तिमपटक भने मनाङका सुजलले बल अगाडि बढाउने क्रममा उनको खुट्टाले भरतको टाउकोमा लागेको थियो ।
हारपछि पुलिस प्रशिक्षक विराटकृष्ण श्रेष्ठले रेफ्रीले पटकपटक गल्ती गरेको गुनासो गरे । राष्ट्रिय लिगमा यी दुईबीच बराबरी भएको थियो भने केही महिनाअघि सम्पन्न ब्रिटिस गोर्खाकपमा पुलिसले मनाङलाई सेमिफाइनलमा पराजित गरेको थियो । त्यसअघिका दुई ब्रिटिस गोर्खाकपमा मनाङले पुलिसलाई सेमिफाइनलमा पराजित गरेको थियो ।

प्रतिक्रिया