युवा बिदेसिएपछि गाउँ नै सुनसान

जाजरकोट, २६ असोज । बड्दो बेरोजगारीसँगै युवा पलायनको क्रम तीव्र भएको छ । जाजरकोटका हजारौँ युवा विदेश पलायन हुन थालेपछि यति बेला जाजरकोटका गाउँ सुनसान बन्न थालेका छन् । युवाहरू रोजगारीका लागि खाडी मुलुकतिर पलायन भएपछि गाउँमा महिला, बालबालिका तथा वृद्धवृद्धा मात्र बाँकी छन् ।
मान्छे दु:खी–बिरामी भएमा स्वास्थ्य संस्थासम्म पुर्‍याउने मान्छेको समेत अभाव रहेको पुन्मा–३ की विपना पुनले बताइन् । ‘कसैको मृत्यु भएमा घाटसम्म पुर्‍याउने मलामीसमेत पाउन गाह्रो छ,’ विपनाले थपिन्, ‘बिहे, व्रतबन्ध वा पूजापाठमा सहयोग गर्ने पनि कोही हुँदैनन् ।’ युवाजति सबै विदेश पलायन भएपछि अधिकांश खेतबारीसमेत बाँझै रहने गरेको पुनको भनाइ छ ।
महिला, बालबच्चा र वृद्धवृद्धा मात्र भएका कारण समस्या भएको विपनाले बताइन् । उनका अनुसार गाउँबाट मात्रै वैदेशिक रोजगारीका लागि २७ जना युवा बिदेसिएका छन् । विदेश गएर धेरै धन कमाउने सपनाका साथ राहदानी बनाउन अहिले जिल्ला प्रशासन कार्यालयमा दैनिक सरदर १८/२० जना युवा आउने गरेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सबैभन्दा बढी जिल्लाका पश्चिमी गाविस मजकोट, पजारु, साल्मा, दशेरा, सीमा, जुँगा थापाचौरलगायत गाविसबाट विदश जाने युवाको संख्या धेरै छ ।
विदेश जाने चक्करमा राहदानी बनाउन सदरमुकाम आएका जगतिपुर–४, कातिलवीरे रानाले गाउँमा रोजगारी नपाएर मन नलागी–नलागी भए पनि विदेश जान लागेको दु:खेसो सुनाए । ‘के गर्ने यहाँ पढेर मात्र काम पाउन गाह्रो छ, जहान–केटाकेटी पाल्नै पर्‍यो,’ रानाले भने, ‘मन नभए पनि बाध्यताले विदेश जाँदै छु ।’ विदेश पलायन हुने युवामा पढेलेखेकाको संख्या पनि उल्लेख्य छ । प्रमाणपत्र र स्नातक तह उत्तीर्ण गरेका युवासमेत राहदानीका लागि आउने गरेको सिडिओ कार्यालय, राहदानी फाँटका नायब–सुब्बा वीरबहादुर नेपालीले बताए ।
युवा गाउँमा रोजगारी नपाएपछि बाध्यताले भए पनि धेरै ‘कमाउने’ आशामा विदेश पस्छन् तर त्यहाँ पनि उनीहरुले सोचेजस्तो छैन । आफू कुन कम्पनीमा के कामका लागि जाने भन्ने कुराको आधारभूत ज्ञान नै नलिई विदेश पलायन हुँदा समस्या हुने गरेको मलेसियामा साढे पाँच वर्ष बसेर फर्किएका पुन्मा–३ का रत्नबहादुर पुनको अनुभव छ ।
उनले भने, ‘त्यहाँ सोचेभन्दा फरक छ । सुरुका सात/आठ महिना त मैले रोएर बिताएँ तर पछि बिस्तारै बाध्यताले बानी पर्‍यो ।’ विदेशमा छिरेको सुरुसुरुमा सबैभन्दा बढी भाषाले समस्या पार्ने पुनले बताए । उनी अगाडि भन्छिन्, ‘भाषाले समस्या पार्ने गरेको छ । सिडिओ कार्यालयका अनुसार गत वैशाखयता मात्र करिब एक हजार युवाले राहदानीको सिफारिस लिइसकेका छन् । सिफारिस लिनेमा १८ देखि ३५ वर्ष उमेर समूहका युवा बढी छन् । असोजमध्यसम्म १० जनाले राहदानीको सिफारिस लिएको कार्यालयको तथ्यांकमा छ । फाराम भरेको एक महिनापछि मात्र जिल्लामा एमआरपी आइपुग्छ, त्यसैले दसैँतिहार मनाएर विदेश जाने सोच बनाएकाले अहिले नै फारम भर्ने गरेका छन् । जिल्लामा एमआरपी ढिला आउने भएपछि प्राय: युवा फाराम लिएर राजधानी जाने गरेका छन् ।
पहिले सिडिओ कार्यालयबाट सिधै लेखेर राहदानी दिने गरिन्थ्यो भने अहिले एमआरपी लिनुपर्ने भएकाले काठमाडौंबाटै आउने गरेको छ । ‘जिल्लाबाट क्षेत्र हुँदै केन्द्रसम्म सिफारिस पुर्‍याउनुपर्ने हुन्छ,’ सिडिओ कृष्णश्याम बुढाथोकीले भने, ‘फेरि केन्द्रबाट क्षेत्र हुँदै जिल्लासम्म राहदानी आइपुग्ने भएकाले समय लाग्ने गरेको छ ।’

प्रतिक्रिया