‘विवादरहित रूपमा’ प्रहरी सरुवा

काठमाडौं, २६ असोज । प्रहरी पधान कार्यालयले ५० एसपीसहित एक सय ३३ डिएसपीको सरुवा गरेको छ । गृह मन्त्रालयले खासै चासो नदिएका कारण यसपटकको सरुवा विवादरहित बन्न पुगेको प्रहरी स्रोतको दाबी छ ।
स्रोतका अनुसार विगतका दिनमा जुनियर अधिकृतसम्मको सरुवा गर्दा पनि राजनीतिक भागबन्डाका आधारमा गरिन्थ्यो । तर, यसपटक प्रधान कार्यालयलाई यस्तो दबाब आएन । स्रोतले भन्यो, ‘यसपटकको सरुवामा गृह मन्त्रालयले खासै चासो दिएन, गृहमन्त्री र प्रहरी महानिरीक्षकको मनमुटावका कारण पनि यस्तो भएको हुन सक्छ ।’
विगतमा हुने सरुवा बढुवामा विशेष गरी गृहमन्त्री र प्रहरी महानिरीक्षकबीच ‘तेरो र मेरो मान्छे’ का नाममा जुहारी चल्ने मात्रै होइन, आर्थिक चलखेलसमेत हुने गर्थे । सरुवा बढुवा हुनु केही दिन अघिदेखि नेताका घर–घरमा प्रहरीका लाइन लाग्ने गर्थे । प्रहरी स्रोतले भन्यो, ‘विगतका दिनमा अरू ठाउँ नभए पनि महानिरीक्षकको कार्यालयमा प्रहरी अधिकृतको भिड नै लाग्ने गथ्र्यो तर यसपटक देखिएन ।’
नियमत: एसपीभन्दा तलका प्रहरी कर्मचारी सरुवा गर्ने अधिकार प्रहरी महानिरीक्षकको हातमा हुन्छ । प्रहरी स्रोत भन्छ, ‘सम्भवत: यसपटकको सरुवामा महानिरीक्षकले आºनो अधिकार पूर्णरूपमा अख्तियार गर्ने मौका पाए ।’  भागबन्डामा विवाद भएकै कारण १८ महिनादेखि डिएसपीहरूको सरुवा हुन सकेको थिएन । कतिपय स्थानमा त दुई वर्षदेखि डिएसपीहरूको सरुवा हुन सकेको थिएन । प्रधान कार्यालयले केही डिएसपीहरूको काजमा भए पनि सरुवा गर्नुपर्ने अवस्था आएको थियो ।
प्रहरी स्रोत भन्छ, ‘राजनीतिक हस्तक्षेप नभए प्रहरीले सबै काम विवादरहित ढंगले गर्न सक्छ भन्ने सन्देश यस घटनाले दिएको छ ।’ सरुवा बढुवामा राजनीतिक भागबन्डा भएकै कारण पछिल्लोपटक प्रहरी सेवा आयोग बनाइने भनिए पनि अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन ।
प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको सूचीअनुसार ५० एसएपीको सरुवा गरिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंमा नयाँ एसपीका रूपमा गणेशबहादुर थापा क्षत्री आएका छन् । परिसर प्रमुख एसएसपी हुने सरकारको निर्णयपछि काठमाडौंमा एसपीको एउटा दरबन्दी खाली नै थियो । त्यस्तै, महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका  एसपी श्याम खत्रीका ठाउँमा एसपी प्रद्युम्न कार्की सरुवा भएका छन् । एसपी खत्रीलाई भने लागुऔषध कानुन कार्यान्वयन इकाइमा सरुवा गरिएको छ । एसपी खत्रीलाई एसपी शेरबहादुर बस्नेतको ठाउँमा सरुवा गरी लगिएको हो । एसपी बस्नेतलाई भने जिल्ला प्रहरी कार्यालय झापा सरुवा गरिएको छ । त्यस्तै, महानगरीय ट्राफिक प्रहरी महाशाखामा एसपी पूर्णचन्द्र जोशी सरुवा भएका छन् ।
प्रधान कार्यालयको सूचीअनुसार काठमाडौं मातहतका चारवटै वृत्तमा काजमा सरुवा गरिएका डिएसपीहरूलाई नै थमौती दिइएको छ । प्रधान कार्यालयले केही साताअघि महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरमा डिएसपी भीम ढकाल, प्रहरी वृत्त महाराजगन्जमा जीवनकुमार श्रेष्ठ, प्रहरी वृत्त बालाजुमा राजेश बास्तोला र कालिमाटीमा शेखर खनाललाई काजमा सरुवा गरेको थियो । प्रहरी वृत्त बौद्धमा भने डिएसपी श्यामलाल ज्ञवालीका ठाउँमा मनोजकुमार केसीलाई सुरुवा गरिएको छ । महानगरीय प्रहरी ठिमी वृत्तमा डिएसपी विनोद खरेल, चापागाउँ वृत्तमा बुद्धिराज गुरुङ सुरुवा भएका छन् ।

प्रतिक्रिया