कथा अनुसारको संगीत भएन

काठामडौं, २५ असोज । भ्याएसम्म हेर्छु नेपाली चलचित्र । रिलिज भएका सबै हेर्दिनँ । सेलेक्टेड र राम्रा निर्देशकका चलचित्र प्राथमिकतामा पर्छन् । पछिल्लो समय हेरेकामध्ये लुट, सानो संसार र कागबेनी निकै मन परे । चलचित्र हेरिसकेपछि केही थप कुरा सिकियोस् भन्ने धारणा हुन्छ । म मनोरञ्जनका लागि मात्रै हेर्दिनँ, त्यसैले सन्देशमूलक चलचित्र नै रोजाइमा पर्छन् ।

कहिलेकाहीँ हेर्छु भनेको चलचित्र पनि समय अभावका कारण हेर्न पाइँदैन । हाइवे हेर्न नपाउँदा त्यस्तै भयो । मैले हेरेको सबैभन्दा पछिल्लो चलचित्र अपवाद हो । अहिले नेपाली चलचित्रले पनि टेक्निकल्ली निकै फड्को मारिसकेको छ । प्राविधिक रूपमा १० प्रतिशतबाट सय प्रतिशतमा पुग्न सफल भएजस्तो लाग्छ । तर, अरू पक्षमा अघि बढ्नसकेको महसुस हुँदैन । चलचित्रको संगीत पनि जहाँको त्यहीँ छ, यसमा परिवर्तन आउनुपर्छ । कथावस्तुअनुसारको संगीत हुँदैन । कथावस्तुअनुसार गीतसंगीत तयार पार्न सक्ने संगीतकारको अभाव छ ।
अभिनयका आधारमा यो नै मनपर्ने कलाकार हो भन्ने छैन । त्यसो त निर्देशकले जे गरायो कलाकारले त्यही गर्ने न हो । पछिल्लोचोटि आएका कति कलाकारको अभिनय नचाहिँदो लाग्छ । त्यसो त नयाँ पुस्ताका कति प्रतिनिधि आशा गर्न सकिने खालका पनि छन्, जसले अघिल्लो पुस्ताको बिँडो थाम्न सक्छन् ।
पछिल्लोचोटि हिरोइनलाई नंग्याएर सस्तो मनोरञ्जनका नाममा अश्लीलता फैलाउने प्रवृत्ति पनि बढेको छ । जबकि यो दर्शकको माग नै होइन । यो गलत हो जस्तो लाग्छ मलाई । नचाहिँदा प्रतिस्पर्धामा चलचित्रकर्मीहरू लाग्नु हुँदैन । चलचित्रकर्मीले नैतिक र सामाजिक जिम्मेवारी बहन गर्न सक्नुपर्छ ।
हिन्दी चलचित्रको प्रदर्शन रोक्दैमा नेपाली चलचित्र माथि पुग्छ भन्नेमा म सहमत छैन । यस्तो प्रवृत्तिले नेपाली चलचित्रको बढ्दै गरेको अन्तर्राष्ट्रिय बजार पनि साँघुरो पार्छ । स्तरीयतामा जोड दिएर प्रतिस्पर्धा गरे मात्रै माथि पुगिन्छ, अरूलाई रोक लगाएर होइन ।
नेपाली भाषामा भन्दैमा चलचित्रमा राष्ट्रियता हुने होइन । नेपाली चलचित्रमा नेपालकै विषयवस्तु, कथा–संस्कृति र नेपालीपन जरुरी छ । राम्रा प्रविधिमा मौलिकतासहित निर्माण भएका चलचित्र नै प्रतिस्पर्धामा खरो उत्रने हुन् । नेपाली चलचित्र नचल्नुका पछाडि तीन कारण देखेको छु– आर्थिक मन्दी, एकै समय पाँचवटासम्म चलचित्र प्रदर्शन हुनु र दर्शक तान्न प्रयोग गरिने प्रोमो सबै एकैखाले हुनु । प्रोमोमा चलचित्रका राम्रा पक्षभन्दा पनि हिंसात्मक दृश्यको प्रचार बढी हुन्छ । फेरि प्रचारका क्रममा देखाएका कतिपय दृश्य चलचित्रमा पाउन मुस्किल पर्छ । त्यसैले अहिलेको प्रचारशैलीले चलचित्र हेरौँ भन्ने भावना जागृत गराउँदैन ।

प्रतिक्रिया