अर्थतन्त्रको आधार वैदेशिक रोजगार : श्रममन्त्री

काठमाडौं, २५ असोज । श्रममन्त्री कुमार बेलवासेले वैदेशिक रोजगारीले मुलुकको अर्थतन्त्र धानेको भन्दै यस क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउनुपर्ने बताएका छन् । नेपाल श्रम पत्रकार संघ (नेल्जा) ले बुधबार राजधानीमा गरेको ‘वैदेशिक रोजगारमा व्यवसायीकरणको खोजी’ विषयक अन्तरसंवाद कार्यक्रममा मन्त्री बेलवासेले सो कुरा बताएका हुन् ।
विश्वका एक सय आठ मुलुकमा नेपाली कामदार कार्यरत रहेको भन्दै मन्त्री बेलवासेले समयअनुसार ऐन, नियम र निर्देशिका परिमार्जन गर्नेतर्फ सरकार लागिरहेको बताए । ग्रामीण क्षेत्रमा रेमिट्यान्सको प्रयोगले जीवनस्तर सुधार भएको भए पनि वैदेशिक रोजगारीका नाममा ठगी घटना बढ्दै गएकोतर्फ सरकारको ध्यानाकर्षण भएको जनाए ।
उनले वैदेशिक रोजगार व्यवसाय दीर्घकालीन व्यवसाय नभए पनि अहिले मुलुकमा रोजगारी सिर्जना नहुँदा यसलाई थप व्यवस्थापनको खाँचो रहेको उनको भनाइ थियो । मन्त्री बेलवासेले कानुनविपरीत कसैले पनि काम गर्न नमिल्ने जनाउँदै व्यवसायीलाई समेत यसतर्फ सचेत रहन निर्देशन दिए ।
वैदेशिक रोजगार विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईले हरेक व्यवसायीले इमानदार भएर कानुनको पालना गरे ठगी नियन्त्रण आफैँ हुने बताए । पछिल्लो समय व्यक्तिगतभन्दा संस्थागत ठगीका घटना न्यून रहेको उनको भनाइ थियो ।
वैदेशिक रोजगार क्षेत्र बाध्यताको रोजगाइ रहेको भन्दै भट्टराईले कामदारको हकहित संरक्षण गर्न सरकार तत्पर रहेको बताए । उनले कुनै व्यवसायीले कानुनविपरीत अघि बढ्न खोजे विभाग आँखा चिम्लेर नबस्ने जनाउ दिए ।
वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष बलबहादुर तामाङले आफूहरू संस्थागत कमीकमजोरीको जिम्मा लिन तयार रहे पनि व्यक्तिगत घटनालाई लिएर व्यवसायीलाई दोषी बनाउन नमिल्ने विचार व्यक्त गरे । उनले ऐनको निर्माण चरणबाटै यो क्षेत्रमा फोहर सुरु भएकाले समयसापेक्ष त्यसको परिमार्जन नगरी व्यवसाय मर्यादित हुन नसक्ने दाबी गरे ।
कार्यक्रममा युएन वुमनकी कार्यक्रम संयोजक सरु जोशीले विभिन्न मुलुकमा महिला कामदार समस्या रहेकाले त्यसतर्फ सरकार संवेदनशील हुनुपर्ने बताइन् ।
यस्तै, अर्थविद् डा. चिरञ्जीवी नेपालले नेपालमा जुनसुकै व्यवसायमा पनि व्यावसायीकरण नभएकै कारण समस्या आउने गरेको धारणा राखे । उनले यसलाई व्यवस्थित गर्ने पहिलो जिम्मेवार निकाय सरकार नै भएको पनि जनाए । सरकारी उदासीनका कारण विभिन्न मुलुकमा नेपाली कामदारले समस्या खेप्नुपरेको भन्दै उनले कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया