ठूला गाडीले सडक भासिँदै

नेपालगन्ज, २५ असोज । सडकको भार क्षमताभन्दा बढी लोड भएका गाडी हिँड्नाले सडक भासिने क्रम बढेको छ । सोही कारण रत्न राजमार्गअन्तर्गत पर्ने नेपालगन्ज सुर्खेत सडकको अवस्था नाजुक भएको हो ।
यो राजमार्गबाट सडकको क्षमताभन्दा चारगुणा बढी भार बोकेर गाडी गुड्ने गरेका छन् । अधिक लोडले पक्की सडक ठाउँठाउँमा दरार परेको छ भने दुवै छेउ भास्सिएकाले सडकबीचमा अग्लो र किनारमा होचो भएको छ ।
तर, पनि सडक भासिँदै छ भन्ने चिन्ता कसैलाई प्रकट गरेका छैनन् । आफ्नै अगाडिबाट अधिक भार बोकेका गाडी गुड्दा र सडक बिग्रिएको देख्दासमेत राजनीतिक दलका नेता तथा अन्य सरोकारवालाले मौन रहेन गरेका छन् । सम्बन्धित पक्षले चासो नदिएका कारण सडकको आवस्था नाजुक बन्दै गएको हो ।
मध्यपश्चिम डिभिजन सडक कार्यालयका अनुसार ६ चक्का भएको गाडीले १० टनको भार बोके मात्र यो सडकको क्षमताले धान्न सक्छ । तर, यहाँ यस्ता गाडीले ४० टनसम्म भार बोक्ने गरेका छन् । जसले गर्दा भार थाम्न नसकेर सडक चर्कने, दरार पर्ने र भासिँदै गएको हो ।
सडकलाई जीर्ण हुनबाट बचाउन सडकको मुख्य जिम्मेवारी बोकेको मध्यपश्चिम डिभिजन सडक कार्यालयले हालसम्म पनि कुनै सक्रियता देखाएको छैन । अधिक लोड बोकेका गाडी सडकमा हिँडिरहे पनि न सडक कार्यालयले अहिलेसम्म अनुगमन गरेको छ न त नियन्त्रण गेर्न कार्य नै अघि सारको छ ।
सडक कार्यालयसँग गाडी चेकजाँच गर्नलाई उपकरण पनि छ । कार्यालयसँग गाडीले बोकेको भार तौलनलाई अध्याधुनिक मोबाइल सेट उपकरण पनि रहेको कार्यलयका अधिकारीले बताए । यो सेट जहाँसुकै लगेर तुरुन्तै गाडीले बोकेको भारको तौल निकाल्न सकिन्छ । तर, यो यन्त्रको प्रयोग सडक कार्यालयले नगर्नुलाई भने आश्चर्यका रूपमा लिइएको छ ।
सडक कार्यालयले सक्रियता नदेखाउँदा मनोमानी ढंगले सडकको क्षमताभन्दा कयौँ गुणा बढी भार बोकेर गाडीहरू कुदिरहेका छन् । मध्यपश्चिम सडक डिभिजन कार्यालय नं. ३ का इन्जिनियर खगेन्द्र शाहीले भने, ‘अनुगमन नगर्नु, नियन्त्रण नगर्नु त्यो हाम्रो गल्ती हो, स्विकार्छौं ।
अब त्यस्तो हुँदैन, हामी चाँडै चेकजाँच गर्छौं ।’ इन्जिनियर शाहीले सडकको क्षमताभन्दा बढी लोड बोकेर गाडीहरू गुडिरहेका र सडक बिग्रिएर जीर्ण भइरहेको बताए । ‘ओभर लोड भएका गाडी हिँडेर सडक भासिँदै गएको छ, सडकको आयु कम हुँदै छ । भार दुईगुणा बढ्यो भने सडक चार गुणाको हिसाबले बिग्रन्छ,’ शाहीले भने ।

प्रतिक्रिया