इरानमाथिको हमला ‘आत्मघात’

तेहरान : इरानी राष्ट्रपति महमुद अहमदिनेजादले इरानमाथि इजरायलको सम्भावित हमलालाई ‘इजरायलको आत्मघाती कदम’को संज्ञा दिएका छन् । इरानको जाम–ए–जाम टेलिभिजनलाई मंगलबार दिएको अन्तर्वार्तामा उनले यस्तो चेतावनी दिएका हुन् ।
‘इरानमाथि यहुदीवादी शासन (इजरायल)ले आक्रमण गर्नु भनेको त्यस्तो शासनले आत्महत्या गरेसरह हो भन्ने कुरा संसारका सबै ज्ञानी मान्छेले बुझेको हुनुपर्छ जस्तो मलाई लाग्छ,’ अहमदिनेजादले भने । स्मरण रहोस्, इरानले इजरायलाई अझैसम्म राष्ट्रको मान्यता दिएको छैन । इजरायले ओगटेको भूगोललाई इरानले ‘जबर्जस्ती हडपिएको भूमि’ र इजरायलको सत्तालाई ‘यहुदीवाद’को संज्ञा दिँदै आएको छ ।
अन्तर्वार्तामा अहमदिनेजादले इरानले कहिल्यै पनि युद्ध नभड्काएको बताए । तर, बाह्य आक्रमणबाट आत्मरक्षाका लागि भने ऊ सदैव तत्पर रहेको उनले प्रस्ट पारे । इरानमाथि हमला गर्नेलाई ध्वस्त गर्ने र युद्धको परिणाम देखेर शत्रुपक्षले पश्चात्ताप गर्नुपर्ने अवस्था आउने सत्यतर्फ सजग रहन सुझाव दिँदै उनले घुमाउरो पारामा इजरायललाई चेतावनी दिए ।
अत्यन्तै आक्रामक अन्तर्वार्तामा उनले दमन र हत्याका भरमा इजरायल टिकेको आरोप लगाए । भूमि कब्जा, हत्या र नरसंहारविना ‘यहुदीवादी शासन’ टिक्नै नसक्ने दाबी उनले गरे । आसन्न मृत्युबाट जोगिन इजरायलले अनेक प्रपञ्च रचिरहेकोसमेत उनले बताए । राष्ट्रपति अहमदिनेजादले विश्व मानचित्रबाट इजरायलको नक्सा सदाका लागि मेटिदिने चेतावनी यसअघि पनि पटकपटक दिइसकेका छन् ।
केही साताअघि राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिका पुगेका अहमदिनेजादले ‘यहुदीवादी शासन’ले आक्रमण गर्ने र उसबाट खतरा आइलाग्ने विषयलाई इरानले गम्भीरतापूर्वक नलिएको भन्दै इरानमाथि हमला गर्ने इजरायली चेतावनीलाई हलुका रूपमा लिएका थिए । अमेरिकी पत्रिका ‘वासिंगटन पोस्ट’लाई दिएको अन्तर्वार्तामा उनले आक्रमणको हौवा पिटेर इजरायलले अस्तित्व जोगाउने प्रयत्न गरेको आरोप लगाउँदै यसमा इजरायल असफल हुने दाबी गरेका थिए ।
आमविनाशकारी परमाणु हतियार निर्माण गर्न इरान अग्रसर भएको आरोप लगाउँदै इजरायलले इरानका पारमाणविक केन्द्रमाथि हमला गर्ने चेतावनी दिँदै आएको छ । कूटनीतिमार्फत परमाणु हतियारप्रतिको महत्त्वाकांक्षा त्याग्न इरानलाई बाध्य पार्न नसके उसमाथि आक्रमण गर्ने इजरायलको चेतावनी छ । इजरायललाई ध्वस्त गर्न परमाणु बम बनाउन खोजेको आरोप लगाउँदै इजरायलले इरानलाई परमाणु हतियार हात पार्न नदिन आफू प्रतिबद्ध रहेको प्रस्ट पार्दै आएको छ । (एजेन्सी)

प्रतिक्रिया