“म अझै नायब बडागुरुज्यू”

पूर्वराजा ज्ञानेन्द्रको शासनकालमा नायब बडागुरुज्यू रहेका प्रा. डा. माधव भट्टराई आफू अझै सो पदमा कायमै रहेको दाबी गर्छन् । राजतन्त्रको अन्त्यसँगै आफ्ना सबै सुविधा कटाए पनि आफूलाई बडागुरुज्यूबाट हटाएको औपचारिक पत्र सरकारले अहिलेसम्म नपठाएको बताउँछन् । हाल उनी नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष छन् । उति बेला दरबारमा हुने गरेको धार्मिक अनुष्ठानहरूका यी हर्ताकर्ता सौर्यमार्फत सम्झँदै छन्, दरबारमा छँदाका ती दिन :

०५८ साल मंसिर दोस्रो साता म नायब बडागुरुज्यू नियुक्त भएँ । यो प्राज्ञिक पद हो । खुला प्रतिस्पर्धाबाट छनोट भएको थिएँ । त्यसो त मेरो पदलाई राजदरबार र राजासँग मात्रै जोडेर पनि हेर्ने गरिन्छ । तात्कालीक राजपरिषद्को निर्णयअनुसार मुलुकको ऐन नियमअनुसार मलाई सरकारले नै नियुक्त गरेको हो । देशको धर्म, संस्कृति, विधिविधानबारे सल्लाह–सुझाव दिनु मेरो दायित्व ।
देशमा कुनै अनिष्टको योग भए/नभएबारे पनि सचिवालयमार्फत राजालाई सुझाउनुपथ्र्यो । राजाले धार्मिक उद्देश्यले आएका विन्तीपत्रबारे सुझाव माग्न सचिवालयमार्फत हामीकहाँ पठाउनुहुन्थ्यो । हामीले त्यसको आवश्यकता हेरी उपयुक्त सुझाव दिनुपथ्र्यो । राजदरबारमा कार्यालय भए पनि मेरा लागि दस–पाँचको बन्देज थिएन । कार्यालयमा दैनिक उपस्थितचाहिँ हुनैपथ्र्यो । आवश्यकताअनुसार जति बेला पनि पुग्नुपर्ने हुन सक्थ्यो ।
म नायब बडागुरुज्यू नियुक्त हुँदा देश अप्ठ्यारो स्थितिमा थियो । सशस्त्र द्वन्द्व चरम अवस्थामा थियो । देशमा अनिष्ट हुन सक्ने योग परेको थियो । राजनीतिक सल्लाह दिने काम हाम्रो थिएन तैपनि कुनै धार्मिक उपायले चर्कंदो अशान्ति साम्य पार्न सकिन्छ कि भनेर खोजी भइरहन्थ्यो । अनिष्टको योग टार्न सहस्र चण्डी पाठ गर्नुपर्ने आवश्यकता देखियो, राजाले पनि त्यही इच्छा गर्नुभयो । म नियुक्त भएको एक साता मात्रै बितेको थियो, सो अनुष्ठान सम्पन्न गर्ने जिम्मा आयो । ४० जना विद्वान् खोजियो । पण्डितको पनि व्यवस्था गरेँ । उक्त अनुष्ठानमा राजा आफँैले संकल्प गर्नुभयो ।
पूर्वराजा ज्ञानेन्द्र धर्मप्रति कट्टर आस्था राख्नुहुन्छ । उहाँको धर्मप्रतिको आस्थालाई उतिबेला राजगद्दी बचाउन गरेको प्रयासका रूपमा पनि टिप्पणी हुन्थ्यो । तर, मैले बुझेअनुसार उहाँ संकल्पमा सधैँ नेपाल राष्ट्र र नेपाली जनताको कल्याणको चाहना गर्नुहुन्छ । पहिलो वचन ‘नेपाल राष्ट्रस्य कल्याणम्’ हुन्छ । अनि त्यसपछि मात्रै ‘आयु, आरोग्य, सुखसमृद्धि’ को व्यक्तिगत कामना ।
मैले ६ वर्षसम्म नायब बडागुरुज्यू भएर राजासँग काम गरेँ । नियमित कर्मबाहेक दरबारमा वर्षका छ–सातवटा अनुष्ठान हुन्थे । होम तथा धार्मिक अनुष्ठान सञ्चालन गथ्र्यौं । विशेष गरी विभिन्न विद्वान्हरूले धार्मिक अनुष्ठानको प्रस्तावसहित राजासमक्ष बिन्तीपत्र पठाउँथे । सो प्रस्ताव आवश्यक भए/नभएबारे राजाले सचिवालयमार्फत हामीसँग सुझाव माग्नुहुन्थ्यो । हामी शास्त्रका पाना पल्टाएर तथ्यसहितका सुझाव प्रस्तुत गथ्र्यौँ । शास्त्रमा लेखिएका हरफसहित राजालाई सम्बन्धित कारण स्पष्ट पार्नुपथ्र्यो ।

नेपालको राजनीतिमा पछिल्लो पटक भएका ठूला परिवर्तनमा म दरबारको नजिक थिएँ । दरबारमा हुने धार्मिक अनुष्ठानबारे उति बेलाका कति पत्रिकामा झुटा समाचार आएको मैले देखेको छु ।
०६१ सालको माघ १९ मा शाही घोषणा भयो । उक्त घोषणाबारे हामीलाई पहिल्यै जानकारी हुँदैनथ्यो । यद्यपि, बडा गुरुज्यू नियुक्त भएर दरबार छिरेदेखि नै मलाई मुलुकमा अनिष्टको आभास भने भइसकेको थियो । माघ १९ को केही दिनअघि पनि पहिलेजस्तै दरबारमा रुद्रीपाठ लगाइएको थियो । राजाले स्वस्तिशान्ति गराउन चाहनुभएको रहेछ । त्यसको व्यवस्थापन पनि म आफँैले गराएको थिएँ । तीस–चालीस जना ब्राह्मण राखेर रुद्रीपाठसहित स्वस्तिशान्ति गराइएको थियो । लाग्छ– मुलुकमा शान्ति स्थापनाकै उद्देश्यले राज्य सञ्चालनको सम्पूर्ण अधिकार आफ्नो हातमा लिनुभएको थियो । र, त्यही योजना सफल बनाउन रुद्रीपाठ गराइएको थियो ।
०६२/६३ को १९ दिने आन्दोलन सुरु हुनुअघि पनि गुह्येश्वरीमा चार दिनसम्म रुद्रीपाठ तथा हवन गरिएको थियो, राज्यशान्तिकै खातिर । ३०/३५ जना ब्राह्मणद्वारा हवन गराइएको थियो । उक्त हवनमा राजा स्वयं उपस्थित हुनुहुन्थ्यो ।
दरबारका प्रत्येक धार्मिक अनुष्ठान सम्पन्न गर्न एकदेखि तीन लाख रुपियाँसम्म खर्च हुन्थ्यो । अनुष्ठानको सबै प्रक्रियासहित खर्चको अनुमान गरेर राजालाई जानकारी गराउने काम म आफैँ गर्थें ।
२०६२/०६३ मा नेपालमा ‘विश्व घर्षण पक्षको योग’ परेको थियो । यस्तै योग २०३६ र ०४७ सालमा पनि थियो । ज्योतिषशास्त्रअनुसार यस्तो बेला राजनीतिक अनिष्ट हुन्छ, मुलुकको राजनीतिमा उथलपुथल पनि ल्याइदिन सक्छ । त्यही योगकै कारण राजाले गद्दी छाड्नुपर्ने अवस्था आएजस्तो लाग्छ मलाई । बेलाबेलामा स्वस्तिशान्ति, धार्मिक अनुष्ठानमार्फत त्यो योगको प्रभाव घटाउने प्रयास त गरिएको हो तर सुव्यवस्थाका लागि गरिएको धर्मको एउटा पाटो मात्रै हो यो । अरू पक्षलाई पनि समन्वय गरेर अगाडि बढाउन सके मात्र धर्मको फल प्राप्त हुन्छ । सायद, अन्य पक्षको समन्वयमा राजा चुक्नुभयो । जसको परिणाम, उहाँले राजगद्दी छाड्नुपर्‍यो ।

राजाको हैसियतमा नारायणहिटीमा नरहे पनि ज्ञानेन्द्रले ती धार्मिक अनुष्ठानलाई छोड्नुभएको छैन । दसैँ, तिहार, जनैपूर्णिमा, वसन्तपञ्चमीजस्ता पर्वका नियमित पूजाआजालाई निरन्तरता दिइरहनुभएकै छ । म अहिले पनि निर्मलनिवास गइरहेकै हुन्छु । गत जनैपूर्णिमामा राजालाई रक्षाबन्धन गराएर आएँ । यसपालि दसैँमा पनि बोलावट हुन्छ होला †
हरेक मन्दिरमा पुग्दा पूर्वराजा ज्ञानेन्द्र भगवान्को चरणमै दण्डवत् गर्नुहुन्थ्यो, अहिले पनि त्यसै गर्नुहुन्छ । उहाँअघिका अरू राजाले हात जोडेर नमस्कार मात्रै गर्थे । उहाँ विशेष गरेर दुर्गा एवम् काली देवीलाई बढी आराधना गर्नुहुन्छ । यद्यपि, धर्ममा समन्वयवादी लाग्नुहुन्छ । सामान्यतया राजाहरूले जुठोसूतक बार्नु पर्दैन भन्ने चलन थियो तर उहाँ ती सबै बार्नुहुन्छ । कति दिन बार्नुपर्छ, शास्त्रले के लेखेको छ भनेर सोधखोज गरिरहनुहुन्छ ।
त्यही बलियो धार्मिक आस्थाका कारण उहाँ धार्मिक यात्रामा निस्किरहनु हुन्छ । गद्दीबाट हटेपछि पनि मुलुकका थुप्रै मठमन्दिर पुगिसक्नुभयो । कतिले उहाँको यो भ्रमणलाई जनताका बीच प्रभाव बढाउने सस्तो बहाना भनेर व्याख्या गर्छन् । कसैले सत्तासीन हुँदा गरेको पापको प्रायश्चित् गर्दै हिँडेको भन्ने आरोप पनि लगाउँछन् । धर्मले पापलाई मेट्न सक्ने कुरा शास्त्रले उल्लेख गरेको छ । जीवितै छँदा गरिएको प्रायश्चितले पापकर्मलाई झनै मेट्न सक्छ । शास्त्रमा लेखिएका यस्तै व्यवस्था र पूर्वराजा ज्ञानेन्द्रको धार्मिक सक्रियता देखेर मानिसहरूले आरोप लगाएका होलान् । तर, उहाँको स्वभावै धर्मप्रति आस्थावान् देखेकाले मलाई चाहिँ त्यस्तो लाग्दैन । धर्मको कडा पालना गर्नुपर्छ भन्ने उहाँको मान्यता छ । उहाँ भगवान्को दर्शनमा निस्किएको कुरालाई पापमोचनका रूपमा लिनु हुँदैन ।

नेपालका राजनीतिक दलहरूले राजतन्त्र अन्त्यको घोषणा गरिसकेका छन्  । ज्ञानेन्द्रले राज्यगद्दी छाड्ने केही दिनअघिदेखि म पनि दरबार जान छोडेको हुँ । यद्यपि, आजसम्म मलाई औपचारिक रूपमा नायब बडागुरुज्यूबाट हटाइएको जानकारी आएको छैन ।
यस अर्थमा म अझै पनि यो देशको नायब बडागुरुज्यू हुँ । मैले सरकारी कोषबाट पाउने तलब, सुविधा रोक्का गरिएको छ । सेवाबाट अवकाश नदिई ती सुविधा किन रोकिए, आजसम्म आधिकारिक जानकारी पाएको छैन । त्यसैले म कुनै दिन सरकारसँग आफ्नो सुविधाको माग गर्न सक्छु । मागको सुनुवाइ नभए अदालत जान सक्ने कानुनी अधिकार मसँग छ ।
प्रस्तुति : प्रतिमा सिलवाल

प्रतिक्रिया