तीनतिर जागिर खान्छन् ट्रमाका निर्देशक

काठमाडौं, २५ असोज । ‘इमरजेन्सी एन्ड ट्रमा सेन्टर’का निर्देशक डा. अशोक बज्राचार्यले तीनतिर जागिर खाइरहेका छन् । सरकारी सेवामा कार्यरत कर्मचारीले एकभन्दा बढी स्थानमा काम गर्न पाउँदैनन् । तर, वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. बज्राचार्य भने सात महिनादेखि ढुक्कसँग तीनतिर जागिर खाइरहेका हुन् ।

वीर अस्पतालको हाडजोर्नी विभागका प्रमुख डा. बज्राचार्यलाई सरकारले गत २८ चैतमा ट्रमाका निर्देशकमा नियुक्त गरेको थियो । सरकारले ट्रमाका निर्देशक बनाएपछि पनि उनले विभागका प्रमुखको जिम्मेवारी छाडेका छैनन् । यस्तै, उनले अर्को एक निजी अस्पतालमा पनि जिम्मेवारी सम्हालिरहेका छन् । सरकारी नियमअनुसार सरकारले कुनै एक स्थानमा नियुक्त गरेपछि कर्मचारीले पहिला काम गर्दै आएको स्थान छाड्नुपर्ने हुन्छ । तर, डा. बज्राचार्य भने दुवै स्थानमा ढुक्कसँग काम गरिरहेका छन् । यसबाहेक उनी पुतलीसडकस्थित निजी अस्पताल ‘क्यापिटल अस्पताल’का प्रमुख छन् ।
सरकारी नियमअनुसार सरकारी सेवामा कार्यरत कर्मचारीले निजी संस्थामा काम गर्न पाउँदैनन् । तर, डा. बज्राचार्य भने गैरकानुनी रूपमा क्यापिटलको प्रमुखका रूपमा काम गरिरहेका छन् । ‘निजी अस्पतालमा गैरकानुनी रूपमा त कार्यरत थिए नै † स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक उच्च कर्मचारीले सौर्यसँग भने, ‘अहिले त झन् सरकारले नै उनलाई नियमविपरीत दुईतिरको जागिर दिइरहेको छ ।’ उनका अनुसार अस्पतालमा विभागीय प्रमुख रहँदादेखि नै गैरकानुनी रूपमा निजी अस्पतालमा समेत कार्यरत डा. बज्राचार्यलाई सरकारले पनि निमयविपरीत वीर अस्पतालको हाडजोर्नी विभागीय प्रमुख र ट्रमा निर्देशकका रूपमा जिम्मेवारी दिएको हो ।
मन्त्रालयका अनुसार डा. बज्राचार्यले ट्रमाका निर्देशकका रूपमा गाडी सुविधा र भत्ता लिइरहेका छन् भने तलब वीर अस्पतालका हाडजोर्नी विभागीय प्रमुखका रूपमा  । स्रोतका अनुसार विभागीय प्रमुखका रूपमा तलबसँगै एक सय ५० प्रतिशत भत्ता पनि आउने भएकाले सुविधा ट्रमाबाट भत्ता र वीर अस्पतालबाट तलब लिएका हुन् । ‘ट्रमाका निर्देशकका रूपमा सेतो रंगको टोयटा कोरोला गाडी लिएर हिँडेका छन्,’ स्रोतले भन्छ, ‘वीर अस्पतालबाट तलबको एक सय ५० प्रतिशत भत्ता आउँछ भनेर तलबचाँहि उताबाट लिएका छन् ।’ स्रोतका अनुसार डा. बज्राचार्यले ट्रमाका निर्देशकका रूपमा आफूलाई कर्मचारी चाहियो भन्दै पिए र ड्राइभर तथा थप अन्य दुई कर्मचारी राखेका छन् । उनले निर्देशकका रूपमा ट्रमाका लागि आउने रकमको चेकमा समेत सही गर्दै हिँडिरहेका छन् ।
ट्रमाको निर्देशक भएपछि डा. बज्राचार्यले वीर अस्पतालमा हुने गरेको शल्यक्रियासमेत आफूभन्दा जुनियरलाई गर्न लगाइरहेका छन् । विभागीय प्रमुख पनि रहेका उनले तलबलगायत सेवा लिएबापत सोमबार, बिहीबार ओपिडी र आइतबार र मंगलबार शल्यक्रिया गर्नुपर्ने हुन्छ । यसका साथै तलबसँगै एक सय ५० प्रतिशत भत्ता लिएकाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा अध्ययनरत आवासीय चिकित्सकलाई अध्यापनसमेत गराउनुपर्ने हुन्छ । तर, डा. बज्राचार्यले दुई वर्षदेखि अहिलेसम्म न्याम्सका विद्यार्थीलाई पढाएका छैनन् । उनको स्थानमा डा. गणेश गुरुङले पढाउँदै आइरहेका छन् ।
ट्रमाको जिम्मेवारी सम्हालेदेखि ओपिडीको समयमा कहिलेकाहीँ मात्र आउने गरेको विभागका कर्मचारी बताउँछन् । ‘ओपिडीका लागि बल्ल–तल्ल आएका हुन्छन्,’ हाडजोर्नी विभागमा कार्यरत एक कर्मचारीले भने, ‘आएको दिन पनि एक डेढ घन्टा बस्छन् त्यो पनि ल्यापटमा इन्टरनेट चलाउन व्यस्त मात्र हुन्छन्, बिरामी हेर्दैनन् ।’ उनका अनुसार शल्यक्रियाका दिन पनि उनी बिरामी हेर्दैनन् विभागमै रहेका जुनियर चिकित्सकलाई लगाउने गर्छन् । वीर अस्पतालमा शल्यक्रिया नगरे पनि उनी निजी अस्पताल क्यापिटलमा भने शल्यक्रिया गरिरहेका भेटिन्छन् ।
मन्त्रालयका उच्च कर्मचारीका अनुसार नियमअनुसार डा. बज्राचार्य ट्रमाको निर्देशकका हैसियतले ट्रमाको कार्यालयमा बिहान १० देखि ५ बजेसम्म बस्नुपर्ने हुन्छ । यसका साथै वीर अस्पतालको हाडजोर्नी विभाग प्रमुखका हैसियतले पनि ९ देखि ५ बजेसम्म । तर, उनी दुवै कार्यालयमा पूर्ण समय बस्ने गरेका छैनन् । ‘वीरमा ट्रमाको कार्यालय रहेको स्थान स्वास्थ्य मन्त्रालयमा जाने भनी निस्कन्छन्,’ उनले भने, ‘अनि ट्रमाको अफिसबाट वीरमा भनी निस्कन्छन् । तर, उनी दुवै स्थानमा नगई क्यापिटल अस्पतालमा पुगेका हुन्छन् ।’ उनका अनुसार सरकारले नै दुईतिर जिम्मेवारी दिएपछि उनलाई निजी अस्पतालमा गएर काम गर्ने बहाना मिलेको छ ।
डा. बज्राचार्यले सरकारले आफूलाई दुईतिर काम दिएकाले जिम्मेवारी मात्रै पूरा गरेको दाबी गरे । क्यापिटलमा भने कार्यालयको समयभन्दा बाहेकको समयमा काम गर्ने गरेको उनको जिकिर छ । ‘ट्रमा र वीरमा त सरकारले नै जिम्मेवारी दिएको हो,’ उनले भने, ‘क्यापिटलमा त म कार्यालय समयभन्दा पछि मात्र सेवा गर्छु ।’ उनले वीरमा विद्यार्थी नपढाउने र बिरामी नहेरको विषयमा भने बोल्न चाहेनन् ।

प्रतिक्रिया