विद्युतीय मेसिनबाट निर्वाचन गराइने

काठमाडौं : निर्वाचन आयोगले विद्युतीय मेसिनबाट निर्वाचन गर्ने भएको छ । आयोगले बुधबार आयोगमा दर्ता भएका सबै राजनीतिक दलका प्रतिनिधिलाई बोलाएर विद्युतीय मेसिनबाट निर्वाचन गर्ने जानकारी दिएको हो ।
आयोगका कार्यवाहक निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले चुनाव गर्नुपर्ने अवस्था आए आयोगले सबै ठाउँमा विद्युतीय मेसिनबाट चुनाव गराउने जानकारी दिए । आयोगले संविधानसभा चुनावमा काठमाडांै क्षेत्र नम्बर १ मा पहिलोपटक विद्युतीय मेसिन प्रयोग गरेको थियो । विद्युतीय मेसिनको प्रयोगले चुनाव निष्पक्ष हुने र छिटो परिणाम आउने कार्यवाहक निर्वाचन आयुक्त उप्रेतीले बताए । आयोगले निर्वाचनका लागि आवश्यक पर्ने विद्युतीय उपकरण किन्न एक अर्ब ६४ करोड रुपियाँ लाग्ने जनाएको छ । छलफल कार्यक्रममा आयोगले मतदाता शिक्षा, फोटोसहितको मतदाता नामावलीलगायतमा राजनीतिक दलले असहयोग गरेको गुनासो गरिएको थियो । आयोगका प्रवक्ता शारदाप्रसाद त्रितालले दलहरूले जनतालाई जागरुक नबनाएको गुनासो गरे । ‘गाउँ–गाउँ गएर आºना कार्यकर्ता लगाई नागरिकलाई जागरुक गराउने काम भएन,’ उनले भने, ‘दलका नेताहरूलाई निरन्तर जिल्ला निर्वाचन कार्यालयमा जान र सक्रिय भएर सहयोग गर्न आग्रह गर्दछौँ ।’
राजनीतिक दलका नेताहरूले आयोगको काम सकारात्मक भएको बताए । चुनाव निष्पक्ष र धाँधलीरहित बनाउनुपर्ने, नागरिकताका कारण कोही पनि फोटोसहितको मतदाता नामावलीबाट वञ्चित हुनु नुहने, सुरक्षा र आचारसंहितामा कडाइ गरिनुपर्ने उनीहरूको सुझाव छ । त्यस्तै, उनीहरूले विद्युतीय उपकरण खरिद गर्दा ग्लोबल टेन्डरका आधारमा गर्न पनि निर्वाचन आयोगलाई सुझाव दिए । छलफलका लागि आयोग कार्यकक्षमा पुगेका नेताबीच बस्ने कुर्सी नमिलेका कारण केहीबेर सामान्य विवादसमेत भएको थियो । (सौस)

प्रतिक्रिया