पैसा लिन्छन्, सिटी स्क्यान गर्दैनन्

नेपालगन्ज, २४ असोज । शुल्क लिएर पनि भेरी अञ्चल अस्पताल नेपालगन्जमा बिरामीको सिटी स्क्यान गरिँदैन । टाउकोसम्बन्धी गम्भीर समस्या लिएर सिटी स्क्यान गर्न पुगेका बिरामीलाई अस्पतालले विभिन्न बहाना बनाएर तीन–चार दिनसम्म झुलाएर फर्काउने गरेको छ ।

मध्यपश्चिममा सबैभन्दा ठूलो सरकारी अस्पताल मानिने भेरी अञ्चल अस्पतालले पहिलोपटक २५ भदौबाट बिरामीलाई सिटी स्क्यान सुविधा प्रदान गर्न थालेको हो । निजी अस्पतालले सिटी स्क्यान सुविधा पहिलेदेखि नै दिइरहेका छन् ।
तर निजीमा भन्दा सस्तो सेवा दिन थालेपछि भेरी अञ्चल अस्पतालमा उपचार गर्न आइरहेका गरिब र ग्रामीण भेगका बिरामी राम्रो सेवा नपाउँदा निराश बनेका छन् । मध्यपश्चिमका पहाडी जिल्लाबाट आएका बिरामीसमेत भेरी अञ्चल अस्पतालले सिटी स्क्यान नगरेपछि निजी अस्पतालमा जान बाध्य भएका छन् ।
तीन दिन धाउँदा पनि बर्दियाका मोहमदपुर–३ का ६० वर्षीय फजउल रहमान खाँनले चारवर्षीया नातिनी सुफियाको सिटी स्क्यान गराउन सकेका छैनन् । ‘शुक्रबार डाक्टरले २ बजेभित्र सिटी स्क्यानको रिपोर्ट बुझाउन भनेका थिए । तीन दिन बितिसक्यो तर पनि सिटी स्क्यान भएको छैन ।’
बर्दिया पदनाह–८ का ५५ वर्षीय चुडामणि रिजालले सिटी स्क्यान समयमा नगर्दा उपचार खर्च नै सकिएको बताए । ‘गाडीभाडा र सिटी स्क्यानको पुर्जी काट्दा नै पैसा सकियो तैपनि सिटी स्क्यान गरिदिएका छैनन्,’ रिजालले दुखेसो पोख्दै भने, ‘समयमै सिटी स्क्यान गरिदिएको भए घर जान्थेँ । अब म कहाँ जाऊँ, के खाऊँ ?’ रिजाल पनि तीन दिनदेखि सिटी स्क्यान गर्न भेरी अञ्चल अस्पताल धाइरहेका छन् ।
सिटी स्क्यान युनिटका कर्मचारीले कहिले लो भोल्टेज त कहिले खाना खान जाने भन्दै दिन बिताउने गरेको बाँके कोहलपुर–८ का चार्चुलाल थारूले बताए । ‘डाक्टरले आज २ बजेभित्र रिपोर्ट ल्याउन भनेका थिए । यी हेर्नुहोस् ३ बजिसक्यो, सिटी स्क्यान गर्ने कर्मचारी आएका छैनन्,’ सिटी स्क्यान युनिट भएको घरअगाडि कर्मचारीलाई कुरिरहेको अवस्थामा भेटिएका थारूले भने ।
बिरामीलाई एकछिनमा आउँछौँ भनेर आइतबार सिटी स्क्यानका कर्मचारी १२ बजे बाहिरिएका थिए तर ३ बजेसम्म पनि नआएपछि बिरामी निराश बने । सिटी स्क्यान गर्न गएका बिरामी थाकेपछि भुइँमै सुत्न बाध्य भए ।
‘१२ बजेसम्म भोल्टेज कम छ भने, त्यसपछि आउँदै आएनन्,’ सल्यानबाट ५ वर्षीय नाति ताराप्रसाद घर्तीको सिटी स्क्यान गराउन आएका इन्द्रबहादुरले भने, ‘त्यसपछि आउँदै आएनन् ।’ शुल्क लिएर पनि सिटी स्क्यान नगरेको भन्दै इन्द्रबहादुरले अस्पताल प्रशासनमा पनि आक्रोश पोखे । ‘टाउकोको बिरामी कतिसम्म संवेदनशील हुन्छ भन्ने कुरा हामीलाई भन्दा अस्पतालका डाक्टर र कर्मचारीलाई थाहा होला तर पनि किन ढिलाइ गरिरहेका छन् ?’ इन्द्रबहादुरले भने, ‘कि हुँदैन भन्नुपर्‍यो, होइन भने काम गरिदिनुपर्‍यो ।’
भेरी अञ्चल अस्पताल सिटी स्क्यान युनिटका प्रमुख सञ्जीव मिश्रले सिटी स्क्यान हुँदै नभएको आरोप मात्र भएको दाबी गरे । टेलिफोनमा उनले सिटी स्क्यान सञ्चालन नहुनुमा थुप्रै कारण रहेको बताए । उनले भने, ‘लो भोल्टेजलगायत थुप्रै कारणले छिटो सिटी स्क्यान हुन सकेको छैन तापनि दिनमा पाँचजनासम्मको सिटी स्क्यान गरिरहेका छौँ ।’
अस्पतालका निमित्त प्रमुख डा. विनोद खेतानले यस विषयमा बोल्न चाहेनन् । २५ भदौमा स्वास्थ्यमन्त्री राजेन्द्र महतोले सिटी स्क्यान सेवाको शुभारम्भ गरेका थिए । शुभारम्भ गर्ने क्रममा मन्त्री महतोले बिरामीलाई प्रभावकारी ढंगबाट उपचार सेवा दिन निर्देशन दिएका थिए ।

प्रतिक्रिया