आकर्षक खेलेरै हार्‍यो बौद्ध

काठमाडौं, २३ असोज । एनसेलकप फुटबलमा बौद्ध फुटबल क्लबको सनसनीपूर्ण यात्राको अन्त्य भएको छ । सोमबार भएको क्वार्टरफाइनल खेलमा आरसिटीले बौद्धलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्‍यो ।
टाइब्रेकरमा बौद्धका लागि सोम थापा र बुद्ध लामाले मात्र गोल गरे । आरसिटीका युगलकिशोर राई, शेखर लिम्बू, नरेश केसी र कृष्ण कबुरले गोल गरे । सेमिफाइनलमा आरसिटीले मध्यपुर युथ एसोसिएसनको सामना गर्नेछ । बौद्धका हेम तामाङको प्रहार बाहिरियो भने अजित भण्डारीको प्रहार अरासिटीका गोलरक्षक दिलीप क्षत्रीले बचाए । जितका बाबजुद रक्षक नुराज काफ्लेको इन्जुरी आरसिटीका लागि महंगो सावित भयो । डा. राजु डंगोलका अनुसार काफ्लेको कुहिनोको जोर्नीमा समस्या (डिस लकेट) भएको छ । अर्को खेलमा उनको उपस्थितिको सम्भावना नै कम छ ।
पराजयका बाबजुद बौद्धले नै प्रभावकारी खेल खेलेको थियो । युवा खेलाडीबाट प्रभावित बौद्ध सुरुआतदेखि नै मैदानमा हाबी भएको थियो । १०आँै मिनेटमा सुबिन श्रेष्ठले आफैले प्रहार गर्नुपर्ने बल सुमन लामालाई दिएपछि बौद्धको एउटा राम्रो अवसर गुमेको थियो । त्यसको ६ मिनेटपछि नै अजितले एउटा राम्रो मौका खेर फाले । ४७आँै मिनेटमा सुबिनले अर्को अवसर खेर फाले । ५०औँ मिनेटमा उमेश थापा, बुद्ध लामा र हेम तामाङ मिलेर राम्रो मुभ बनाए पनि गोल हुन सकेन । यसअघिका खेलमा महत्त्वपूर्ण गोल गरेका सुबिनले बारम्बार मौका गुमाएपछि बौद्धले ६३आँै मिनेटमा उनलाई प्रतिस्थापन गर्दै भूपाल गुरुङलाई मैदानमा प्रवेश गराएको थियो । खेलमा नायक ठहरिएका दिलीपले ८४आँै मिनेटमा त्यत्तिकै डरलाग्दो आक्रमणलाई बचाएका थिए ।

प्रतिक्रिया