माल्दिभ्समा नासिद पक्राउ

माले : मालद्वीपका निवर्तमान राष्ट्रपति मोहम्मद नसिद पक्राउ परेका छन् । आफ्नो कार्यकालमा भएका अनियमितताबारे बयान लिन बोलाउँदा उनी उपस्थित नभएपछि उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
नासिदको ‘माल्दिभियन डेमोक्रेटिक पार्टी’का प्रवक्ता अमिद अब्दुल गाफोरले आफ्ना समर्थकका बीचबाटै नासिदलाई पक्राउ गरिएको उल्लेख गरे । राष्ट्रपति छँदा आफूले गरेको अख्तियार दुरुपयोगसम्बन्धी छानबिन गर्न गठित आयोगको वैधानिकतामाथि प्रश्न उठाउँदै उनले छानबिन समितिसमक्ष बयान दिन अस्वीकार गरेपछि त्यहाँको अदालतले आइतबार उनलाई पक्राउ गर्न आदेश दिएको थियो ।
गत फेब्रुअरीमा भएको प्रहरी विद्रोहमार्फत आफूलाई अपदस्थ गरिएको नासिदले बताउँदै आएका छन् । माल्दिभ्सका पूर्वराष्ट्रपति मौयुन अब्दुल गैयुमले आफ्ना विरुद्ध प्रहरी विद्रोह गराएको आरोप नासिदले लगाउँदै आएका छन् । हिन्दमहासागरमा रहेको मुलुक माल्दिभ्समा सन् २००८ मा भएको आमनिर्वाचनबाट नासिद राष्ट्रपतिमा निर्वाचित भएका थिए । माल्दिभ्समा प्रजातान्त्रिक पद्धतिबाट राष्ट्रपति निर्वाचित हुने उनी पहिलो व्यक्ति हुन् ।
तीन लाख २० हजार जनसंख्या रहेको माल्दिभ्समा नासिदले राजीनामा दिएपछि उनका उपराष्ट्रपति मोहम्मद बाहिदले राष्ट्रपतिको कार्यभार सम्हाल्दै आएका छन् । त्यसयता नासिदको दल र सरकारबीच तनाव बढिरहेका बेला नासिदलाई पक्राउ गरिएको हो । (एजेन्सी)

प्रतिक्रिया