नक्कली रिर्पोट बनाउनेलाई सरकारले नछाड्ने

काठमाडौं, २२ असोज । वैदेशिक रोजगारीमा जाने कामदारको नक्कली रिर्पोट बनाउने स्वास्थ्य संस्थालाई सरकारले कडा कारबाही गर्ने भएको छ । रोजगारीमा जाने कामदारको नक्कली रिर्पोट दिने संस्थाहरू अहिले पनि खुलेआम स्वास्थ्य परीक्षण गरिरहेकाले उनीहरूमाथि कारबाही गर्ने जनाएको हो ।
वैदेशिक रोजगार विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईले कामदारको स्वास्थ्य परीक्षणजस्तो विषयमा लापरबाही गर्ने तथा कानुनविपरीत काम गर्नेलाई दण्डजरिवाना र कडा कारबाही गर्ने जनाए । उनले मानिसको स्वास्थ्यमाथि खेलबाड गर्ने संस्थालाई सरकारले अनुमति खारेजसमेत गर्ने बताए ।
‘नक्कली रिर्पोट बनाउने संस्थालाई यसअघि नै विषेशज्ञ समितिमा आवश्यक अनुसान्धान र कारबाहीका लागि सिफारिस गरिएको छ,’ उनले भने, ‘अहिले पनि ती संस्थाले स्वास्थ्य परीक्षण गरिरहेको पाइएकाले कानुनी कारबाहीको तयारी भइरहेको छ ।’ विभागले केही समयअघि गरेको स्वास्थ्य परीक्षण गर्नेसंस्थाको अनुगमनबाट तीन दर्जनभन्दा बढीले नक्कली रिर्पोट बनाउने गरेको फेला परेको थियो । मान्यताप्राप्त स्वास्थ्य संस्थाहरूले कामदारको स्वास्थ्य परीक्षण नै नगरी परीक्षणको प्रतिवेदन नक्कली बनाउने गरेको तथ्य फेला परेको हो । हचुवा र अन्दाजको भरमा प्रतिवेदन बनाउने गरेको तथ्य वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको थियो । स्वास्थ्य परीक्षणमा अयोग्य भएर कामदार फर्किने क्रम बढेपछि विभागले स्वास्थ्य संस्थामा अनुगमन गरेको थियो । अनुगमनका क्रममा हेमोग्लोबिन शून्य भएको, महिलाको प्रिटेस्टमा अप्लिकेसन नभएको, ब्लड सुगरमा रेन्ज कम भएको, धेरै कामदारको परीक्षणको नतिजा एउटै भएकोलगायत तथ्य फेला पारेको थियो ।
स्वास्थ्य संस्थाले गरेको परीक्षण प्रतिवेदनमा हेमोग्लोविन शून्य भएको प्रतिवेदन फेला पारेको थियो । सम्रिजी मेडिकल सेन्टर प्रालि, नयाँ बसपार्क र हिमालय ड्राई क्लिनिक प्रालि, बिर्तामोड झापाले गरेको स्वास्थ परीक्षणमा हेमोग्लोविन शून्य भएको भेटिएको थियो ।
विभागका अनुसार ती क्लिनका चिकित्सकलाई कारबाहीका लागि मेडिकल काउन्सिलमा पुर्‍याइएको छ । मेडिकल काउन्सिल स्वास्थ्य क्षेत्रको माथिल्लो निकाय हो । विभागका अनुसार सिरप मेडिकल सेन्टर प्रालि, सामाखुसीले गरेको स्वास्थ्य परीक्षणको प्रतिवेदनमा ३३ जनाको परिणाम एउटै भेटिएको थियो । त्यसमध्ये २५ वटा स्टिकर नटाँसिएको प्रतिवेदन र आठवटा मात्र स्टिकर टाँसिएको प्रतिवेदन विभागले फेला पारेको थियो । ईवन मेडिकल सेन्टर, लाजिम्पाटको २१ वटा, एसियन रायस मेडिकेयर एन्ड रिसर्च सेन्टर, महाराजगन्जको १५ वटा स्वास्थ्य परीक्षणका प्रतिवेदन एउटै भएको विभागले फेला पारेको छ ।
त्यस्तै, सुधा पोलिक्लिनिक प्रालि, तीनकुनेका ५२ वटा, सिलिंक मेडिकल सेन्टर प्रालि, तीनकुनेका १९ वटा, अखण्ड पोलिक्लिनिक सेन्टर प्रालि, गौशालाका १६ वटा, सभ्य मेडिकल सेन्टर प्रालि, महाराजगन्जका ३० वटा प्रतिवेदनमा महिलाको प्रिटेस्टमा अप्लिकेसन नभएको, बुढासुब्बा मेडिकल सेन्टर प्रालि, दमक झापा, पाथीभारा मेडिकल सेन्टर प्रालि, गंगबुको नतिजा एउटै भएको र महिलाको प्रिटेस्टमा अप्लिकेसन नभएको विभागले तथ्य फेला पारेको थियो । यस्तै, कतिपय म्यानपावर व्यवसायीले आपैँm स्वास्थ्य परीक्षण गर्ने गरेकाले नक्कली प्रतिवेदनको समस्या देखिएको बुझिएको छ । कामदारको स्वास्थ्य परीक्षण नै नगरी अन्दाजको भरमा रिर्पोट बनाउन म्यानपावर कम्पनी नै लागि परेको भन्दै त्यस्ता म्यानपावरको पनि विभागले अनुगमन गर्ने जनाएको छ ।

प्रतिक्रिया