उमेरले सात दशक पार गरिसके समालोचक तथा कवि प्रा.डा. वासुदेव त्रिपाठीले । तनहुँको भानुनगर भन्सारमा वि.सं १९९९ सालको चैत १३ गते जन्मेका उनी हाल बानेश्वरस्थित निजी निवासमा साहित्य अनुसन्धानमा घोत्लिँदै बुढ्यौली कटाउँदै छन् । भन्सारमा जन्मिएका उनले भन्सारकै प्रसंगबाट कुराकानी सुरु गरे, ‘गिरीशवल्लभ जोशीको वीरचरित्र उपन्यासमा के चित्रित छ भने भरिया भन्सारमा आउँदै मालसामान देखाउँछ र जान्छ । साहुले तिरो तिर्छ ।’
सुगरको औषधि घुटुक्क निल्दै उनी फेरि थप्छन्, ‘तिवारी, तियारी र त्रिपाठी यी सब पुरानो तनहुँ, भन्सारका तिरो उठाउने भन्सारी हुन् ।’ शिष्ट स्वभावका विशिष्ट विद्वान् तथा सौम्य एवं कुशाग्रबुद्धि डा. त्रिपाठी यसरी स्पस्ट्याउँछन्, त्रिपाठीको ब्युत्पत्ति । आफ्नै योग्यता र ज्ञानको सम्बलले नेपाली साहित्य र समालोचनाका शिखरमा पुगेका त्रिपाठीको एक छोरा–बुहारी, दुई छोरी अनि नातिनातिना र धर्मपत्नीसहितको पूर्ण परिवार छ । शान्तिपूर्ण लाग्छ उनको निवासको परिवेश ।
फुच्चे बेलामा उनी पढ्दा अहिलेका जस्ता बग्रेल्ती मास्टर कहाँ हुन्थे र गाउँमा † ८ कक्षा पास गरेका एक्कादुक्का व्यक्तिले त्यो काम गर्थे । त्यसैले बहिदार, खरिदार र हवलदारजस्ताबाट समेत शिक्षा ग्रहण गर्नुपरे पनि त्रिपाठी त्रिविका प्राध्यापक हुन पुगे । मौकाले चौका ठोक्ने अवसर दिएको हुँदा उनी स्व: परिश्रमले नेपाली विषयका पहिलो पिएचडी पनि बन्न पुगे ।
शरीरमा रोगको खुद्रा पसल मात्रै होइन, विशाल बजार नै ठड्याएका त्रिपाठी अलिक बोल्ड हुँदै भन्छन्, ‘मेरो जेठो रोग कोल्ड एलर्जी हो । माहिलो ढाड दुख्ने र कान्छो चाहिँ सुगर । साथमा युरिक एसिड र प्रेसर त छँदै छ ।’ हो, जहिले ठूल्दाइ भारतले पहिलोचोटि नाकाबन्दी गर्यो, उनको शरीरमा कान्छो भाइ सुगरले चक्लाबन्दी गर्यो । एक त उनी त्यसै पनि मृदुभाषी र स्वल्पहारी, त्यसमाथि पहिलेका जालहारी डक्टरले हाम्रा पिएचडी डक्टरलाई यो खानुहुन्न र त्यो खानु हुन्न भन्दै खुबै भोकभोकै राखिदिएछन् । ढड्डाको ढुङ्गो उफ्रार्दै उनी सुनाउँछन्, ‘अहिलेका डाक्टर अलिक उदार छन्, उनीहरू के सुझाउँछन् भने गुलियो र कार्बोहाइड्रेड भएको खानामा महिनाको २८ दिन कस्सेर लगौँटी बाँध्नुस् अनि दुई दिन जे–जे मन लाग्छ मज्जाले खानुस् ।’ त्यही मौकामा मैले साहस गरेर त्रिपाठी सरतिर ठट्टाको सानो गट्टा उफार्दै भनेँ, ‘अब हामी कट्टु लाउनेले कसरी लगाँैटी बाँध्नु, हैन र ?’ छोटोमा ‘हो हो’ भन्दै त्रिपाठी सर रमाएर हाँस्न थाले । उनको पछिपछि झुन्डिँदै म पनि हाँस्न थालेँ ।
आधा दर्जन पत्र–पत्रिकाका सम्पादक रहिसकेका, पूर्व र हाल गरेर डेढ दर्जन संस्थासँग सम्बद्ध रहेका तथा समालोचनाका अनेकौँ ठेली लेखिसकेका त्रिपाठी प्रात:भ्रमणको आख्यानबारे यसरी व्याख्यान दिन्छन्, ‘चकडस्टर खियाउँदै कराएर पढाउने मजस्ता मास्टरलाई घाँटी दुख्ने रोग पनि छ । कोल्ड एलर्जी भएकाले बिहान हिड्न हुँदैन, चिसो र प्रदूषणले सताउँछ । अर्कातिर सुगर छ, बस्न नहुने हिँड्नै पर्ने । दुईधारे तरबारजस्तै भएको छ प्रात: भ्रमण ।’ उनी कोठामा एक्लै धुम्धुम्ती फन्को लगाउँछन् र बिहान मुखौटो लाएर छत र आँगनमा ओहार–दोहोर गर्छन् ।
बिहान ४ देखि ५ बजेसम्म उठिसक्ने, राति बिबिसीको खबर सुनेर मात्र सुत्ने, दिउँसो सुत्ने बानी रहेनछ उनको । शरीरभित्र अत्याधिक प्रतिजैविक (एन्टिबायोटिक) औषधि परेकाले उनी दिउँसो ननिदाएको ग्यारेन्टी गर्छन् तर नझकाएको वारेन्टीचाहिँ दिँदैनन् । समाचार रेडियो र अखबारमा मात्र सुन्ने र पढ्ने गर्छन् । दैनिक पत्रिकामा राशिफल हेर्ने र पढ्ने फुर्सत छैन उनलाई । वार्षिक नयाँ वर्षको पात्रोमा वार्षिकफल हलचल नगरी पढ्नचाहिँ भुल्दैनन् । पुस्तकको गुण–दोष केस्राकेस्रा र रेसारेसा केलाएर लामो र विस्तारपूर्वक पूर्ण जानकारी दिँदै भूमिका र समालोचना लेख्ने त्रिपाठी फुच्चे अभिव्यक्ति दिँदै भन्छन्– ‘नाचेको जति हेरियो सिनेमामै हेरियो ।’ उसो त साहित्यिक कार्यक्रमबाहेक उनी धेरै टिभी कार्यक्रमका फ्यान र सौखिन पनि रहेछन् । नेपालको भौगोलिक र प्राकृतिक सौन्दर्य प्रस्तुत भएको कार्यक्रम, राष्ट्रिय र अन्तर्राष्ट्रिय फुटबल, फुटबलको विश्वकप, क्रिकेटको अन्तर्राष्ट्रिय खेल र विश्वकप हेर्न मन पराए पनि उनको फेबरेट कार्यक्रम चाहिँ भारत (दुवै सदन), अमेरिका र नेपालको आमचुनाव हुन् । यी कार्यक्रम आँखा झिमिक्क नगरी टिभीमै टाँसिएर हेर्ने गर्छन् उनी ।
पहिला पूजापाठका नाममा दसैँमा ‘चण्डी’ र ‘दुर्गा सप्तशती’ नौ दिन पाठ गर्थेँ, अहिले पत्नीलाई पुस्तक वाचन गरेर सुनाई पूजाथानमा मोटामोटी चार दिन साथ दिन्छिन् उनी । दुईवटा ध्यान नबिराई र नटुटाई गर्ने उनको बानी नानीदेखि नै रहेछ । आÏनो वैयक्तिक र एकलौटी ध्यानबारे ज्ञान दिँदै त्रिपाठी भन्छन्– ‘अँ, ध्यानचाहिँ अवश्य गर्छु । एउटा ध्यान पढ्दा गर्छु, अर्को ध्यान लेख्दा गर्छु ।’ अध्ययन, चिन्तन र मननमा व्यस्त त्रिपाठीले अन्य तिरचाहिँ ध्यान दिनै पाउन्नन् अरे †
उनी व्यंग्यात्मक भाषामा महानगरपालिकावासीलाई खानेपानी संस्थान, विद्युत् प्राधिकरण र सरकारले सुविधा प्रदान गरेको कुरा निर्धक्क अवगत गराउँछन् । अनि, यस व्यंग्यको खोलुवा आनाकानी नगरीकन थाल्छन्– ‘नेपाल जलस्रोतमा ब्राजिलपछिको दोस्रो धनी राष्ट्र भए पनि धारो आउँदैन, ट्यांकरको व्यवस्था आपैँm गर, मिनरल वाटर किनेर खाऊ । बिजुली बत्ती छै्रन, टुकी, मैन, इन्भर्टर र सोलारको व्यवस्था गर्नुपर्ने, खानेपानी संस्थाले काकाकुल बनाएर प्यासै मार्यो नगरबासीलाई । प्राधिकरणले लोडसेडिङका नाममा चकमन्न र अन्धकार उपहार दिएर नेपालीलाई गुफायुगमा पछाडि फर्कायो ।’ अनि सदा नरम रहने त्रिपाठीले अलिक गरम हुँदै भने– ‘खै केके तन्त्रमन्त्र दिने सरकारलाई कर उठाएर पनि नेपालीलाई धर नदिने । पानी र बिजुलीमा नेपालीले व्यर्थै पैसा तिरिरहेका छन् ।’
उहिले काठमाडौं विश्वविद्यालयमा कक्षा लिँदा एक्कासि दाँत दुखेर आएछ उनको । छोराका साथी डाक्टरसँग सम्पर्क राखे । ती डाक्टरले उनको दाँत हेर्दै भनेछन्, ‘बुबाको दुइटा दाँत किराले खाएछ । हजुरले एक रात यही नर्सिङहोममा बसेर दाँत फुकाल्न लगाउनुपर्छ ।’ कुरा मानेर त्रिपाठीले दाँत झिक्न लगाए । राती गिजा भयंकर फुलेर साह्रै दु:खेछ । मध्यरातमा डाक्टरले आएर सोधे, ‘बुबाको दुखाई निको भयो ?’ त्रिपाठीले आँ गरेर भयंकर सुनिएको मुख देखाइदिए । त्यसपछि छक्क पर्दै त्यहाँबाट हिँडेका डाक्टर कहाँ गए, थाहा भएन । एक रात भनेर दाँत झिक्न गएका उनी त्यहाँ नौ रात बसेछन् । गाँठी कुरो के भएछ भने प्रेसर र सुगर जाँच नगरी दाँत झिकेकाले रियाक्सन भएर उनको गिजा फुलेछ । डिस्चार्ज हुने दिन डाक्टरले त्रिपाठीतिर हेर्दै भनेछन्, ‘अर्को पनि दाँत झिक्ने हो कि बुबा †’ ‘नाइँ’ भन्दै त्रिपाठी हतारहतार कुम्लोकुटुरो बोकेर नर्सिङहोमबाट टाप ठोकेछन् ।
अलिक दिनपछि पत्नीले पोलेको मकै खान दिइन् । त्रिपाठी बडो आनन्दसाथ मकै खाँदै थिए । मकैको एउटा दाना जति गरे पनि चपाउनै सकेनन् । मनमनै सोच्न थाले, ‘सायद वर्णसंकर मकै परेछ क्यारे †’ चपाउन छाडेर यसो हातमा झिकेर हेर्छन् त किराले खाएको त्यही नझिकिएको दाँत पो रहेछ । अनि कोठामा हाँसो गुन्जियो, हा.. हा.. हा †
म पनि हाँसोको भुलभुलैयामा परेर प्रा.डा.वासुदेव त्रिपाठी सरलाई अभिवादन गर्दै धेरै कुरा सोध्दै नसोधी पो हिँडेछु ।
प्रतिक्रिया