अखिल क्रान्तिकारीको सम्मेलनमा ५० लाख संकलन

काठमाडौं, २२ असोज । नेकपा–माओवादीको भ्रातृसंगठन अनेरास्ववियु (क्रान्तिकारी)ले शिक्षा क्षेत्रमा देखिएका विकृतिविरुद्ध संघर्ष गर्ने भएको छ । दुई दिनअघि मात्र १९औँ राष्ट्रिय सम्मेलन सम्पन्न गरेको अखिल (क्रान्तिकारी)ले नेताका छोराछोरीलाई निजी विद्यालयबाट निकालिने जनाएको छ ।

राजधानीमा आइतबार आयोजित पत्रकार सम्मेलनमा संगठनका नवनिर्वाचित अध्यक्ष शरद रसाइलीले नेता, शिक्षक, प्राध्यापक र सरकारी कर्मचारीका छोराछोरीलाई निजीबाट निकालेर सरकारी विद्यालयमा भर्ना अभियान सञ्चालन गरिने जानकारी दिए । यसको सुरुआत आºनै पार्टीबाट गरिने अध्यक्ष रसाइलीको भनाइ थियो । ‘यो काम हाम्रै पार्टीका नेताबाट थाल्छौँ,’ रसाइलीले भने, ‘त्यसपछि अन्य पार्टीका नेता मात्र होइन, कार्यकर्ता, प्राध्यापक र सरकारी कर्मचारीमा पनि कार्यान्वयन गराउछौँ ।’
आगामी शैक्षिक सत्रबाट सरकारीमा पढाउन लगाइने उनले बताए । त्यसका लागि अहिलेदेखि नै नेताका छोराछोरीको तथ्यांक संकलन गरिने जानकारी उनले दिए । यसअघि अखिल क्रान्तिकारीले नेताका छोराछोरी निजीबाट निकाल्ने भने पनि कार्यान्वयन हुन सकेको थिएन । साँच्चिकै क्रान्तिका लागि भन्दै यो अभियान कार्यान्वयन गरी छाड्ने दाबी रसाइलीले गरे ।
उनले शिक्षण संस्था र विश्वविद्यालयलाई क्रान्तिकारीको शिविर बनाइने बताए । ‘राष्ट्र निर्माणको आधार खम्बा भनेका विद्यार्थी हुन्,’ उनले भने, ‘त्यसैले विद्यार्थी पढ्ने विद्यालय र विश्वविद्यालयलाई शिविर बनाउँछौँ ।’
संगठनले कक्षा १२ सम्मको अध्ययनलाई ड्रेस, कापी–किताब र पोसाकसहित पूर्ण नि:शुल्क बनाउन संघर्ष गर्ने जनाएको छ । संघर्षको स्वरूप भने खुलाइएको छैन । शिक्षा क्षेत्रमा भएका भ्रष्टाचार, व्यापारीकरण र अनियमितताको भण्डाफोर गर्न संघर्षका कार्यक्रम ल्याउनुपरेको रसाइलीले बताए ।

१८५ सदस्यीय नयाँ नेतृत्व
एमाओवादीसँग छुट्टिएपछि पहिलोपटक भएको अखिल क्रान्तिकारीको सम्मेलनले रसाइलीको अध्यक्षतामा १ सय ८५ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिमा ७ अपांग, १६ महिला २२ दलित ३३ आदिवासी जनजाति रहेको जानकारी अध्यक्ष रसाइलीले दिए । उनका अनुसार ७ सदस्य चयन गर्न बाँकी छ ।
१६ देखि १९ असोजसम्म राजधानीमा चलेको सम्मेलनका लागि ५० लाख रकम संकलन गरेको सचिव रत्न ढकालले बताए । जसमध्ये १२ लाख ८१ हजार ५ सय विभिन्न क्षेत्रबाट चन्दा उठाइएको थियो । त्यस्तै, प्रतिनिधि र पर्यवेक्षकबाट १० लाख २५ हजार ५ सय, विभिन्न राज्यतहबाट १६ लाख ५० हजार उठाइएको थियो । ७ लाख रुपियाँ बचत भएको ढकालले बताए ।

प्रतिक्रिया