व्याकुल माइला कपलाई राईत्रयको प्रायोजन

काठमाडौं : एक वर्षअघिदेखि ओखलढुंगा जिल्लामा सञ्चालन हुँदै आइरहेको ‘व्याकुल माइला कप’ फुटबल प्रतियोगिताले दिगो प्रायोजक भेटेको छ । राष्ट्रगानका सर्जक व्याकुल माइलाको सम्मानमा आयोजना हुन थालेको उक्त प्रतियोगिताका लागि ओखलढुंगामै जन्मेर हाल बेलायत बसोबास गरिरहेका दुई जना गैरआवासीय नेपाली (एनआरएन) ले उक्त प्रायोजन गरेका हुन् । ‘ब्रिगेड अफ गोर्खाज’ अन्तर्गत २२ वर्ष लामो आफ्नो फौजी–सेवा यसै वर्ष पूरा हुन गइरहेको सम्झनास्वरूप ओखलढुंगा, उबुँ–९, फ्वाकुल स्थायी घर भई हाल क्याम्बर्ली, बेलायत बस्ने डिल्लीमान राई र थाक्ले–९, तल्लोरिचुवा स्थायी घर भई हाल बेलायतनिवासी बनेका अमृतबहादुर राईले संयुक्तरूपमा प्रायोजन गरेका हुन् ।
जिल्लाको खेलकुदलाई थप गरिमामय, उल्लेखनीय एवं महत्त्वपूर्ण बनाउन यो प्रायोजन गरिएको जनाउँदै राईद्वयले भनेका छन्, ‘स्थानीय युवाहरूमा रहेको खेलकुदप्रतिको लगावलाई सम्मान तथा प्रोत्साहन प्रदान गर्न, उनीहरूलाई अनुशासित एवं गतिशील बनाउन र राष्ट्रिय एकता एवं सामाजिक सद्भावको निरन्तर विकास गर्न यो प्रतियोगिता राम्रो माध्यम बन्नेछ भन्ने हाम्रो विश्वास छ ।’ आफ्नो फेसबुक वालमार्फत उनीहरूले भनेका छन्, ‘यस खेलकुद प्रतियोगिताको माध्यमबाट पिछडिएका गाउँ–समाजको सर्वाङ्गीण विकासको चौतर्फी ढोका खोल्ने हाम्रो शुभेच्छा हो ।’ रनिङकपको रूपमा यो प्रतियोगिता नियमितरूपले सञ्चालन भइरहन सकोस् भन्ने लक्ष्यसाथ राईद्वयले संयुक्तरूपमा १ लाख २० हजार रुपियाँ मूल्यबराबरको चाँदीको कलात्मक र मौलिक ढाँचाको आकर्षक सिल्ड प्रदान गर्ने भएका हुन् जुन सिल्ड प्रथम हुने टोलीलाई प्रदान गरिनेछ ।
त्यसैगरी प्रतियोगितामा दोस्रो हुने टोलीलाई ७५ हजार रुपियाँ र तेस्रो हुने टोलीलाई ५० हजार रुपियाँबराबरको चाँदीकै कप अन्य दुई जनाबाट प्रायोजन हुने भएको पनि जनाइएको छ ।
स्मरणीय छ, दोस्रो स्थानका लागि रकम प्रदान गर्ने ओखलढुङगा उँबु–७, बनछेउ स्थायी घर भई हाल अक्सफोर्ड, बेलायत बसोबास गरिरहेका नवल राई ‘बनछेउले कान्छा’ र श्रीमती गीता राई हुन् । त्यसैगरी तेस्रो स्थानका लागि रकम पुरस्कार प्रदान गर्नेमा ओखलढुङगा थाक्ले–८, हिलेपानी स्थायी घर भई हाल मेड्स्टोन, बेलायत बस्ने कर्णबहादुर राई ‘गौरङकान्छा’ र श्रीमती दिलकुमारी राई छन् । श्री दूधकौशिका प्राइमरी स्कुल सोक्मटार, श्री नयाँ नेपाल सरोकार समाज हिलेपानी र स्थानीय युवा क्लबहरूको अग्रसरतामा गत वर्षदेखि सञ्चालन हुन थालेको यो प्रतियोगिता यस वर्ष जिल्लाकै ठाक्लेमा १३ कात्तिकदेखि सञ्चालन हुने भएको छ । (सौस)

प्रतिक्रिया