“वायु सेना परिचालन गरिएको भए नतिजा बदलिनेथियो”

नयाँदिल्ली : सन् १९६२ को चीन–भारत युद्धमा भारतीय वायु सेनालाई परिचालन गरेको भए युद्धको अन्तिम परिणाम बललिने दाबी भारतीय वायु सेनाप्रमुख एनएके ब्राउनले गरेका छन् । भारतीय राजधानी नयाँदिल्लीमा वायु सेना दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा चीनसँगको युद्धमा भारतले लज्जास्पद पराजय बेहोरेको प्रसंग उल्लेख गर्दै उनले यस्तो दाबी गरेका हुन् । भारतीय वायुसेनालाई ‘आक्रामक भूमिका’ निर्वाह गराएको भए भारतले लज्जास्पद पराजय बेहोर्न नपर्ने दाबी उनले गरे ।
चीनसँगको पूर्वी तथा पश्चिमी सिमाक्षेत्रमा सन् १९६२ मा भारतले युद्ध लडेको थियो । पश्चिममा अक्साइ चीन र पूर्वमा अरूणाचलप्रदेशमा दुई देशले युद्ध लडेका थिए । चीनको निर्णायक जितसँगै सिमा विवादका कारण भड्किएको युद्ध एक महिनापछि अन्त्य भएको थियो । युद्धमा भारतले १३ सय ८३ सैनिक गुमाएको थियो भने एक हजार ४७ जना घाइते भएका थिए । युद्धका क्रममा १६ सय ९६ वेपत्ता भएका थिए र ३९ सय ६८ लाई चिनियाँ पक्षले बन्दी बनाएको थियो । चीनका तर्फबाट युद्धमा सात सय २२ ले ज्यान गुमाएका थिए भने १६ सय ९७ घाइते भएका थिए ।
‘यदि भारतले वायु सेना परिचालन गरेको भए युद्धको परिणाम पुरै बदलिने निश्चित थियो,’ ब्राउनले भने । भारतीय वायु सेनाको क्षमताको चर्चा गर्दै उनले सन् १९९९ मा पाकिस्तानसँगको कार्गिल युद्धमा वायु सेनाले राम्रो काम गरेको उदाहरण पेश गरे । कार्गिल युद्धमा वायु सेनालाई परिचालन नगरेको भए युद्ध तीन महिना लम्बिने निश्चित रहेको उनले बताए । ‘उपयुक्त समयमा भारतीय वायु सेनाले आक्रामक भूमिका निर्वाह नगरेको भए पाकिस्तानसँगको युद्ध थप तीन महिना लम्बिने निश्चित थियो । वायुसेनाको प्रयोगले कार्गिलका अप्ठेरा भिरपाखामा हाम्रा जवानको जीवन रक्षा गर्‍यो । साथै वायुसेनाले नै युद्धलाई अन्तिम टुंगोमा पुर्‍यायो,’ उनले भने ।
चीन–भारत युद्धमा भारतले आफ्नो वायु सेनालाई युद्ध मैदानमा उतारेको थिएन । वायु सेनालाई किन तैनाथ गरिएन भन्नेमा भारतका इतिहासकार र सैन्यविज्ञले अनेक आशंका गरेका छन् । यद्यपी, यसको चित्तबुझ्दो कारण अझैसम्म बाहिर आएको छैन । ‘युद्धमा भारतीय वायु सेनालाई आक्रामक भूमिका निर्वाह गर्न दिइएको थिएन । स्थल सैनिकलाई यातायात सुविधा उपलब्ध गराउनमै वायु सेनालाई सिमित गरिएको थियो,’ ब्राउनले भने । तर, अहिले अवस्था पुरै बदलिएको जिकिर गर्दै उनले युद्ध भएको खण्डमा भारतीय वायु सेनाले नेतृत्वदायी भूमिका निर्वाह गर्ने दाबी गरे । (एजेन्सी)

प्रतिक्रिया