परीक्षामा फेल भएपछि आत्महत्या

जाजरकोट, २१ असोज । कक्षा १२ को परीक्षामा फेल भएपछि एक विद्यार्थीले झुन्डिएर आत्महत्या गरेका छन् । पैँक–६, कफल्लाँका २० वर्षीय शान्तबहादुर रोकायले घरनजिकैको रूखमा झुन्डिएर आत्महत्या गरेका हुन् ।

गत बुधबार गाईवस्तुलाई घाँस हाल्न भन्दै घरबाट निस्केका रोकाया बिहीबार झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी निरीक्षक दिनेश घिमिरेले जानकारी दिए । मकैबारी जोत्न गएका छिमेकीले रोकायालाई मृत फेला पारेका थिए । भारतबाट काम गरेर आसोजमा फर्किएका रोकाया परीक्षामा फेल भएपछि निराश थिए । परीक्षाको नतिजा आएदेखि जहिल्यै निराशाको कुरा गर्ने गरेको उनका दाजु राकेशकुमार रोकायले बताए । ‘घरमा आएदेखि राम्रोसँग खाना पनि खाँदैनथ्यो,’ चित्रबहादुर रोकायले भने, ‘साथीहरूका अगाडि कसरी मुख देखाउने भन्दै पीर गथ्र्यौं, आज यस्तो भयो ।’
हालसम्म फेल नभएका मृतक रोकाया गत भदौ तेस्रो साता प्रकाशित कक्षा १२ को नतिजामा दुई विषयमा फेल भएका थिए । पाँच भाइबहिनीमध्ये उनी परिवारको जेठो सन्तान हुन् । उनले जनता उमावि पैँकबाट कक्षा १२ को परीक्षा दिएका थिए । यसअघि पनि एसएलसी पूरक परीक्षामा फेल भएपछि जाजरकोट कोर्ताङकी एक किशोरीले खोलामा हाम्फालेर आत्महत्या गरेकी थिइन् । गत भदौयता मात्र जिल्लामा तीनजनाले आत्महत्या गरिसकेका छन् । लासलाई जिल्ला अस्पताल जाजरकोटमा पोस्टमार्टम गरेर शनिबार दाहसंस्कार गरिएको छ ।

प्रतिक्रिया