जादुको छडीले फेरिँदैन मान्छे

मैले पत्रकारिता थालेको पाँच महिनासम्म पत्रकार सम्मेलन, औपचारिक समारोह मात्रै मेरा रिपोर्टिङका स्थान हुन्थे । बाहिर रिपोर्टिङमा गएर समाचार लेख्ने मौका पाएकै थिइनँ । ०४६, हिँउदको समय । पत्रकारितामा अनुभवी व्यक्तिहरूको समूहमा रिपोर्टिङका लागि फिल्डमा जाने आवसर मिल्यो । हामी एक गाडी पत्रकार थियौँ । हाम्रो स्पोन्सर रिपोर्टिङ थियो त्यो । दुई ठाउँमा हामीले घुम्नुपर्ने थियो, धुलिखेलको खानेपानी र सरसफाइ आयोजना तथा भक्तपुरको सरसफाइ आयोजना । यी दुवै काम जर्मनीको सहयोगमा भएका थिए । स्पोन्सर पनि उसैको ।
म पत्रिका ‘समाज दैनिक’ र ‘विश्व सन्देश’ साप्ताहिकमा काम गर्थें । अफिसले त्यतिबेला राम्रो क्वालिटीको क्यामेरा अनि रेकर्डर दिएको थियो । त्यतिबेला मसँग भएको क्यामरा र रेडर्करलाई सुविधा सम्पन्न रिपोर्टिङ नै मान्नुपर्छ ।
धुलिखेलको खानेपानी आयोजनाको काम गर्न स्थानीय निकाय र उपभोक्ताले जिम्मा पाएका थिए । खानेपानीसँगै सरसफाइको काम पनि भएको थियो । अहिलेजस्तो हल्ला नगरी धुलिखेललाई सरसफाइ र खुला दिसामुक्त क्षेत्र बनाउने अभियान थालिएको थियो ।
निकै राम्रो, निकै अनुकरणीय लाग्यो, ती काम । नराम्रो कुरा खोज्नेतर्फ लाग्नु परेन । उसै पनि हामी स्पोन्सर रिपोर्टिङमा थियौँ । आयोजकहरूले पनि स्थानीयलाई पूर्व–तयारीमा राखेका थिए । सबै राम्रा कुरा उनीहरू आफैँ फरर भन्थे । आफूले बढी सोध्नैपर्ने थिएन । त्यतिबेला नकारात्मक कुराको समाचार बढी बनाउने प्रचलन भए पनि मैले कुनै सकारात्मक कुराको पनि समाचार बन्छ भन्ने पढेको थिएँ । यसको अर्थ थियो– पहिले राम्रो भएको कुरा नराम्रो हुँदा मात्रै समाचार बन्ने होइन । आयोजनाको दानापानी नखाईकन ती विषयको अध्ययन गरेको भए पनि ती कामको प्रशंसै गर्नुपथ्र्याे । तर, हिजोआज लाग्छ, मेरो पहिलो त्यो रिपोर्टिङ आज बनेको भए गतिलो फिचर बन्ने थियो ।
धुलिखेलको खानेपानी आयोजनाका केही पक्ष अहिले पनि उत्तिकै अनुकरणीय छन् । बजार विस्तार हँुदै जाँदा पुरानो बजारबाहेकका मानिसले पानी खान नपाएको र पानीको मूल जोगाउने मानिसले फाइदा नपाएको भनी बेलाबेलामा आवाज उठ्ने गरेका छन् । तर, त्यतिबेला ती समस्या या त छँदै थिएनन् या त तिनलाई समस्या मान्ने चलन थिएन । खानेपानीसँगै शौचालय बनाउने कामलाई पनि जोड दिइएको थियो । त्यसैले मैले त्यहाँ भएका कामको तारिफ गरेर एउटा फिचर तयार गरेको थिएँ । त्यसले सन्देश साप्ताहिकमा एक पेज ठाउँ पाएको थियो । सानो फिचर त दैनिक समाजमा पनि छापिएको थियो जस्तो लाग्छ ।
धुलिखेलको भ्रमणपछि हामी भक्तपुर आयौँ । त्यहाँ सरसफाइ आयोजना थालेको निकै वर्ष भएको थियो । भक्तपुरका गल्ली निकै सफा थिए । भक्तपुर विकास परियोजनाले अरू परियोजनाले भन्दा एउटा फरक काम गरेको थियो । त्यो थियो– परियोजना सञ्चालनका क्रममा भोगेका असफलताको पनि मूल्यांकन गर्नु । परियोजनाले गरेका काम, ती कामबाट खोजिएको परिणाम र प्राप्त परिणामका बारेमा लेखिएका दुईवटा किताब त्यस अवसरमा हामीलाई दिइएका थिए ।
किताबमा सरसफाइ एकैपटक हुन नसक्ने कुरा उल्लेख थियो । विकास ढिलो हुनुको कारण खोज्ने आधार किताबले भक्तपुरको पहिलेको अवस्थाको प्रतिवेदनबाट दिएको थियो । मैले त्यो किताबलाई घरमा ल्याएर अध्ययन गरेँ । सायद अरूले विकासे डकुमेन्ट भनेर पढेनन् । भक्तपुरको लामो रिपोर्टिङलाई ‘समाज’ पत्रिकाले एक पेज दियो । मैले परिवर्तनअघि र पछिको दुई अवस्था तुलना गरेर समाचार लेखेको थिएँ । त्यो पहिलो रिपोर्टिङका क्रमा बटुलेको अनुभवले मलाई पत्रकारिता जीवनमा धेरै सहयोग गरेको छ । सम्बन्धित स्थानको समाचार संकलन गर्दा त्यससँग सम्बन्धित सामग्री अध्ययन गरेमा समाचारको स्तरीयता बढ्छ । अर्को व्यावहारिक ज्ञान, मानिसको बानी जादुको छडीले भैँm एकै छिनमा फेर्‍यौँ भनेर कुनै विकासे कार्यकर्ताले भन्यो भने त्यसलाई म त्यतिबेलासम्म गफ मात्रै ठान्छु जतिबेलासम्म त्यसका ठोस प्रमाण भेटिँदैनन् ।
प्रस्तुति : प्रतिमा सिलवाल

प्रतिक्रिया