पढेका हिरोइन बढ्दै छन्

काठमाडौं, २० असोज । नेपाली चलचित्र उद्योग अनपढहरूको जमात भनेर बदनाम छ । कम अध्ययनको मामलामा विशेषत: नायिकाहरूलाई बढी आक्षेप लगाइन्छ । तर, पछिल्लो पुस्ताका

नायिकाहरूले यो आक्षेपलाई गलत सावित गर्दै छन् ।
हो, नवस्थापित एवं उदीयमान नायिकाहरूबाट नेपाली चलचित्र उद्योगको छवि फेरिँदै छ । यसअघिको पुस्तामा एसएलसी फेल भएका नायिकाहरूको बाहुल्य थियो । तर, पछिल्लो समयका धेरै नायिकाले स्नातक सकेका छन् । यद्यपि, मास्टर्स सिध्याएका नायिका भने अझै पनि चलचित्र उद्योगमा छैनन् । पढेका नायिकाहरूसित प्रतिस्पर्धामा टिक्न नसकी पुराना नायिकाहरू विस्थापित हुने क्रम पनि बढ्दो छ ।
अहिलेकी सबैभन्दा चर्चित र व्यस्त नायिकामा गनिने निशा अधिकारीले तीनवटा विषयमा स्नातक गरेकी छन् । उनले पद्मकन्या क्याम्पसबाट समाजशास्त्र र राजनीतिशास्त्रमा दोस्रो श्रेणीमा बिए उत्तीर्ण गरेकी हुन् । यस्तै, बिजनेस साइन्समा आफूले डिस्टिङसन गरेको उनले सुनाइन् । निशाले अमेरिकामा गएर फिल्म मेकिङ विषयमा पनि डिप्लोमा गरेकी छन् । अब ‘इको टुरिजम’मा मास्टर्स गर्ने सोचमा रहेको उनी बताउँछिन् ।
कलाकारलाई शिक्षा किन आवश्यक छ भन्ने प्रश्नमा निशाले जवाफ दिइन्, ‘जुनसुकै क्षेत्रमा प्रतिस्पर्धात्मक रूपमा अघि बढ्न र फड्को मार्न अध्ययन चाहिन्छ र यो कलाकारका हकमा पनि लागू हुन्छ ।’ मिडिया तथा पब्लिकसित फेस गर्दा अध्ययनका कारण आत्मविश्वास बढ्ने उनको अनुभव छ । पछिल्लो समयमा अध्ययन गरेर आएका कलाकारको संख्या बढेकाले अध्ययन कम भएका कलाकारलाई प्रत्यक्ष असर परेको पनि निशा बताउँछिन् । भन्छिन्, ‘अध्ययन गरेर आएकालाई जुन क्षेत्रमा पनि सजिलो हुन्छ ।’
नायिका गरिमा पन्त पद्मकन्या क्याम्पसमा स्नातकोत्तर प्रथम वर्षमा हालै भर्ना भइन् । उनले आरडी (ग्रामीण विकास) विषय लिएर अध्ययन गरिरहेकी छन् । उनले स्नातक भने राजनीति शास्त्रमा गरेकी हुन् । तनहुँको स्कुलबाट ०५९ सालमा सेकेन्ड डिभिजनमा एसएलसी पास गरेकी गरिमा कलाकारहरू ‘पब्लिक फिगर’ भएकाले अध्ययनको ठूलो महत्त्व रहेको बताउँछिन् । ‘अहिलेको जमानामा ब्याचलर पास नगरेका त साधारण पब्लिक पनि पाउन सकिँदैन,’ उनले भनिन्, ‘नपढेकाहरूलाई अब कलाकारितामा पनि जम्न गाह्रो हुन्छ ।’ अध्ययन गरेर आएका नायिकाहरूले सम्झौताको बहानामा निर्माता–निर्देशकबाट पीडित हुनु नपर्ने उनको अनुभव छ ।
अभिनेत्री ऋचा शर्माले पद्मकन्या क्याम्पसबाट समाजशास्त्रमा स्नातक गरेकी छन् । ०६० सालमा लिटिल एन्जल्स स्कुलबाट एसएलसी गरेकी उनी वुमन स्टडिज लिएर मास्टर्स गर्ने सुरमा छिन् । ऋचाको विचारमा पनि अध्ययन कलाकारहरूका लागि महत्त्वपूर्ण छ । उनले भनिन्, ‘अध्ययन गरेर कलाकारितामा लाग्यो भने समाजमा कलाकारको पनि इज्जत बढ्छ । नपढेका कलाकारलाई समाजले राम्रो मान्दैन ।’
चकलेटी अनुहार भएकी नायिका केकी अधिकारी अहिले एमबिए अध्ययनरत छिन् । प्रेसिडेन्सियल कलेजमा एमबिए पढिरहेकी केकीले ०६१ सालमा बाल सिर्जनालय स्कुलबाट डिस्टिङसनमा एसएलसी पास गरेकी थिइन् । ब्याचलरमा पनि आफूले डिस्टिङसन ल्याएको उनले बताइन् ।
केकीको विचारमा सबै मानिसलाई जस्तै कलाकारलाई पनि अध्ययनको आवश्यकता छ । कलाकार पब्लिक फिगर भएकाले अध्ययनमा अझ बढी महत्त्व रहेको उनले बताइन् । ‘अध्ययन गरेका र नगरेका कलाकारमा त्यसै फरक छुट्टिन्छ,’ केकी भन्छिन्, ‘अध्ययन नगरेका कलाकारलाई पब्लिक र मिडियासित डिल गर्न समस्या पर्छ ।’
चपली हाइट गर्ल विनिता बरालले पद्मकन्या क्याम्पसबाट बिए अध्ययन गरेकी हुन् । बिए तेस्रो वर्षको हालै प्रकाशित नतिजामा अनुत्तीर्ण भएपछि उनी केही तनावमा छिन् । मार्कसिटमा एउटा विषयमा अनुपस्थित भनेर आएकाले आफू तनावमा रहेको उनले बताइन् । विनिताले मास कम्युनिकेसन लिएर पढेकी हुन् । मास्टर्समा भने कत्थक डान्स र कल्चर विषय लिएर अध्ययन गर्ने उनको योजना छ । भक्तपुर सेकेन्डरी हाइस्कुलबाट ०६० सालमा सेकेन्ड डिभिजन ल्याएर एसएलसी पास गरेकी थिइन् विनिताले ।
कलाकारले पर्दामा मात्र सीमित हुन नहुने बताउँदै विनिताले नेपालको प्रतिनिधित्व गरेर बाहिर जानुपर्दा अध्ययन काम लाग्ने उल्लेख गरिन् ।
अभिनेत्री ऋचा सिंह ठकुरीको अध्ययन प्लस टु पास भएपछि रोकिएको छ । उनले मकवानपुर मल्टिपल कलेजबाट सेकेन्ड डिभिजनमा प्लस टु पास गरेको बताइन् । उनले एसएलसी दोस्रो प्रयासमा पास गरेकी हुन् । उनलाई पहिलोचोटि एसएलसी दिँदा गणित विषय लागेको थियो । कलाकारिताले गर्दा अध्ययनलाई प्राथमिकता दिन नसकेकोमा उनको आफैँप्रति गुनासो छ । भन्छिन्, ‘केही समयपछि अध्ययनलाई प्राथमिकता दिएर कलाकारितालाई पनि सँगै लैजानेछु ।’
मास कम्युनिकेसनबाट स्नातक सिध्याएको बताउने नायिका नम्रता श्रेष्ठ समाजशास्त्रमा पुन: स्नातकमै भर्ना भएकी छन् । उनले साइन्स विषय लिएर प्लस टु पास गरेकी रहिछन् । एसएलसी फस्र्ट डिभिजनमा उत्तीर्ण गरेको उनले बताइन् । ‘धेरै किसिमका चरित्र निभाउनुपर्ने कलाकारलाई अध्ययनले सहयोग गर्छ,’ उनले भनिन् ।
नवोदित नायिका बेनिशा हमालले मास कम्युनिकेसन र मेजर इंग्लिसबाट सेकेन्ड डिभिजनमा ब्याचलर गरेको बताइन् । उनले काठमाडौं कलेज अफ बिजनेस म्यानेजमेन्ट एन्ड ह्युमानिटिजबाट ब्याचलर सकेकी हुन् । ०६२ सालमा अरुणोदय माध्यमिक विद्यालयबाट ६८ प्रतिशत ल्याएर तथा प्लस टु शान्ति एकेडेमीबाट प्रथम श्रेणीमा पास गरेको उनले बताइन् । बिनिशा मास कम्युनिकेसनबाटै मास्टर्स गर्ने योजनामा छिन् ।
नायिका सुमिना घिमिरे स्नातक दोस्रो वर्षमा अध्ययन गर्दै छिन् । उनी समाजशास्त्र र पपुलेसन लिएर पद्मकन्या क्याम्पसमा पढिरेकी छन् । सुमिनाले पद्मकन्याबाटै प्लस टु सकेकी हुन् । ०६२ सालमा उनले सेकेन्ड डिभिजनमा एसएलसी पास गरेकी थिइन् ।
नायिका रिमा विश्वकर्माले पनि मास कम्युनिकेसन लिएर पिनाकल एकेडेमीमा स्नातक दोस्रो वर्ष अध्ययनरत रहेको बताइन् । ०६४ सालमा काभ्रेको नवरत्न सेकेन्डरी बोर्डिङ स्कुलबाट फस्र्ट डिभिजनमा एसएलसी गरेको उनले बताइन् । मास्टर्स पनि मास कम्युनिकेसनबाटै गर्ने उनको सुर छ । केही वर्षपछि अध्ययन गरेका र नगरेका कलाकारमा फरक छुट्टिने उनको विश्वास छ । ‘प्रतिस्पर्धामा अध्ययन नगरेका कलाकारले स्वीकार गर्नुपर्ने विश्वकर्माले बताइन् ।
पुरानो पुस्ताका नायिकाहरूको भने अवस्था फरक छ । केही समयअघिसम्म नम्बर एक अभिनेत्री भनेर चिनिएकी रेखा थापा अन्डरएसएलसी हुन् । एसएलसी पास नगरेकी नायिकाले नेपाल चलचित्र बोर्डको अध्यक्ष बन्न दौडधुप गरिरहँदा हाँसोको विषयसमेत बन्ने गरेको छ । स्कुल शिक्षा पूरा गर्न नसकेपछि थापा काठमाडौं आएर फिल्म खेल्न थालेकी थिइन् । पढाइको विषयमा फोनमा प्रतिक्रिया माग्दा उनी बोल्न चाहिनन् ।
अर्की अभिनेत्री झरना थापाले भने पद्मकन्या क्याम्पसबाट फस्र्ट डिभिजनमा डिप्लोमा गरेको बताइन् । उनले डान्स, सोसल वर्क र मेजर नेपालीबाट डिप्लोमा गरेकी हुन् । ०५० सालमा एसएलसी फस्र्ट डिभिजन ल्याएर पास गरेकी अभिनेत्री थापाले डान्स विषयबाटै मास्टर्स पढ्ने विचार हुँदाहँुदै विभिन्न कारणले अध्ययन अगाडि बढाउन नसकेको गुनासो सुनाइन् ।
अर्की पुरानी अभिनेत्री मेलिना मानन्धरले एसएलसी पास गरेकी छैनन् । बच्चैदेखि पढ्न भनेपछि ‘इरिटेट’ लाग्ने भएकाले अध्ययन सफल हुन नसकेको उनको भनाइ छ ।
चलचित्र पत्रकार संघका अध्यक्ष तथा पत्रकार विदुर गिरी कलाकारितामा पछिल्लो समयमा अध्ययन अपरिहार्य बन्दै गएको बताउँछन् । उनले सौर्यसँग भने, ‘केही समयअघिसम्म नपढेका कलाकारहरूको बाहुल्यता थियो । तर, अबको समयमा कलाकारहरू अध्ययन नगरी आउने स्थिति छैन ।’ चलचित्रमा डाइलग बोल्न तथा अतिरिक्त काममा अध्ययनको आवश्यकता रहेको उनको भनाइ छ ।
गिरीले चलचित्रमा स्थापित एक अभिनेत्रीको नाम नखोल्ने सर्तमा भने, ‘उनले एसएलसीसम्मको अध्ययन पनि नगरेको हुनाले सरी पनि भन्न जान्दैनथिन् । तर, अध्ययनको अभाव खट्किएरै होला, अलि–अलि इंग्लिस घुसाएर बोल्न थालेकी छन् ।’
त्यस्तै, चलचित्र कलाकार संघको महासचिव नवल खड्का पनि अहिले पढाइ अपरिहार्य बनेको बताउँछन् । एसएलसीसम्म पनि नगरेका कलाकारहरूलाई अध्ययनको अभाव खड्किने उनको भनाइ छ ।

प्रतिक्रिया