सरा र रत्नजित च्याम्पियन

काठमाडौ, १८ असोज । नेपाली सेनाकी सरादेवी तामाङ र सशस्त्र प्रहरीका रत्नजित तामाङले ‘दोस्रो पुष्पलाल मेमोरियल र्‍याङकिङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता’ को उपाधि जितेका छन् । महिलातर्फको खेलमा सराले आफ्नै बहिनी सशस्त्र प्रहरीकी नङसलदेवी तामाङमाथि २१–१२, १६–२१ र २१–११ को जित दर्ता गरिन् ।
पुरुषतर्फको खेलमा सशस्त्रका रत्नजितले सोही क्लबका दीपेश धामीबाट रिटायर्ड हर्टको आधारमा जित हात पारे । पहिलो सेटको खेल १५–२१ ले गुमाइसकेका धामीले दोस्रो सेटमा ७–० को अवस्थामा घुँडाको चोटका कारण खेल परित्याग गरेका थिए । महिलातर्फ सशस्त्रकी सविना पन्थी र कास्कीकी पूनम गुरुङ तथा पुरुषतर्फ भोजपुरका विकास श्रेष्ठ र कैलालीका सहदेव खड्का तेस्रो भए ।
राष्ट्रिय खेलकुद महासंघ अन्तर्गतको राष्ट्रिय ब्याडमिन्टन संघद्वारा आयोजना गरिएको छात्रतर्फको खेलमा नेपाल प्रहरी स्कुलका गणेश रायमाझीले भोजपुरका नवीन श्रेष्ठलाई २१–१६ र २१–१५ ले पाखा लगाउँदै उपाधि जिते । बाँकेका रियाज अन्सारी र भोजपुरका विशाल मोक्तान संयुक्तरूपमा तेस्रो भए । छात्रातर्फ झापाकी जेसिका गुरुङले सोही जिल्लाकी सुनैना मुखियालाई २१–१४ र २१–१५ ले पराजित गरिन् । भोजपुरकी हेमख्यामा राई र बाँकेकी तिला न्यौपाने संयुक्तरूपमा तेस्रो भए । विजेताहरूलाई प्रमुख अतिथी नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेललगायतले पुरस्कार वितरण गरे ।

प्रतिक्रिया