चितवनमा व्यावसायिक गाईपालन बढ्दो

चितवन, १८ असोज । चितवनमा व्यावसायिक रूपमा गाईपालनको संख्यामा वृद्धि भएको छ । व्यावसायिक रूपमा अगाडि बढेपछि यो व्यवसायबाट राम्रो आम्दानी हुन थालेको हो ।
राम्रो आम्दनी हुने भएपछि पछिल्लो समयमा यो व्यवसायमा युवापुस्तासमेत आर्कषित भएका छन् । घरायसी प्रयोजनका लागि गाईभैँसी पाल्ने यहाँका किसान अहिले व्यावसायिक रूपमा गाई पाल्न थालेका छन् । चितवनका हरेका गाउँमा अहिले एक न एक किसान व्यावसायिक गाईपालनतर्फ आकर्षित भएका छन् ।
विदेशमा भन्दा गाईपालनबाट राम्रो आम्दानी हुनथालेपछि बिदेसिएका युवासमेत अहिले व्यावसायिक रूपमै गाईपालनमा सक्रिय रहेका छन् । यो व्यवसाय राम्रो भएसँगै अन्य व्यवसाय छाडेर गाईपालनका लाग्नेको उदाहरण धेरै छ । चितवनमामा अहिले ६० वटाको हाराहारीमा गाई फर्म रहेको तथ्यांक जिल्ला पशुसेवा कार्यलय, चितवनले जानकारी दिएको छ । विशेषगरी ग्रामीण क्षेत्रमा गाई फर्म बढी छन् । करिब तीन वर्ष मलेसियामा बसेर नेपाल फर्किएका रत्ननगर–७ का टीकाराम सापकोटाका अनुसार विदेशमा गएर अर्काको गोठालो भन्नुभन्दा आफ्नै देशमा गाईपालन गर्नु राम्रो भएको बताउँछन् । मिहेनत र परिश्रम गर्नसके मैनाको १५–२० हजार कमाउन विदेश जानु नपर्ने उनको भनाइ छ ।
आफ्नै खेतमा घाँस काटेर काम गर्न लाज नमान्ने हो भने हामी युवा बिदेसिनु नपर्नेमा उनले जोड दिए । उनी मात्र होइन, गत सात वर्षअघि चारवटा गाईबाट सुरु गरेका चैनपुर ज्यामिरे चोकका पूर्णदत्त भुसाल यो व्यवसाय राम्रो भएपछि शिक्षण पेसा नै छाडेर यो पेसामा लागेका छन् । उनले भने पहिला चारवटा थिए, अहिले बाच्छी र माउ गरेरे ४० वटा छन् । सोचेभन्दा राम्रो भयो भन्दै ढुक्कसँग महिनामा खर्च कटाएर ६० हजार भन्दा बढी बचाएको उनी बताउँछन् ।
मुलुकै कुल उत्पादनको आधाभन्दा बढी हिंसा कुखुराजन्य उत्पादनले ओगटेको चितवनमा यही रूपमा व्यावसायिक ढंगबाट गाईपालन गर्नसकिने भन्दै अहिले गाईपालनमा आकर्षण बढ्दै गएको जिल्ला पशु कार्यालय चितवनका प्रमुख विष्णुकुमार श्रेष्ठले बताए । पहिलो साताको दुई दिनसम्म मिल्क होलिडे हुँदा निरास बनेका कृषक चितवनको ठिमुरामा चितवन मिल्क उद्योग बनेपछि मिल्क होलिडे हटेको मात्र छैन, दूधको मूल्यमा समेत वृद्धि भएको जिल्ला दुग्ध उत्पादन सहकारीका अध्यक्ष नारायण उप्रतीले बताए ।
उनले चितवनमा अहिले दुई दर्जनभन्दा बढी दुग्ध सहकारी संस्थाले समेत यो व्यवसायलाई ठूलो सहयोग गरेको बताए । जिल्लामा न्यूनतम २५ हजार रुपियाँदेखि अधिकतम एक लाख १० हजार रुपियाँसम्म गाई खरिद बिक्री हुने गर्छ । पशुसेवा कार्यलयका प्रमुख श्रेष्ठले कम्तीमा पाँच लिटर दूध दिने गाईदेखि २५ लिटर दूध दिने गाईपालन गरिरहेको बताए ।

प्रतिक्रिया