एक सातामै टिकट सकियो

काठमाडौ, १८ असोज । दसैँका लागि खुला गरिएको अग्रिम टिकट साता दिन नबित्दै सकिएको छ । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले १० असोजदेखि सुरु गरेको अग्रिम टिकट बुकिङका लागि नयाँ बसपार्क जाने यात्रु अहिले रित्तै हात फर्कन बाध्य भएका छन् ।
दाङका लागि टिकट बुक गर्न गएका रवि भण्डारीले बिहानै ४ बजे आउँदासमेत आफूले टिकट नपाएको गुनासो गरे । बुकिङ खुला गरिएको एक सातामै टिकट सकियो भनेर फर्काइनु कालोबजारीलाई प्रश्रय दिएको उनले बताए ।
बिहान बसपार्क पुगेका अधिकांश यात्रुलाई अहिले त्यहाँ रहेका टिकट काउन्टरले टिकट सकिएको भन्दै फर्काइरहेका छन् । टिकट बुकिङ खुला भएकै दिन १० असोजमा टिकट सकिएको भन्दै यात्रुलाई फर्काइएको र पछि सरकारी प्रतिनिधि पुग्दा पुन: टिकट उपलब्ध गराइएको थियो ।
महासंघले यात्रुको चापलाई मध्यनजर गर्दै राजधानीको नयाँ बसपार्कसहित कोटेश्वर, गौशाला, सातदोबाटो, कलंकीलगायत स्थानमा रहेका काउन्टरबाट अग्रिम टिकट बुकिङ खुला गरेको थियो ।
महासंघका महासचिव डोलनाथ खनालले भने, ‘यात्रुको चाप बढेपछि २० गतेदेखि थप गाडीको व्यवस्था गर्नुपर्ने भएकाले सकिएको भनेका होलान् तर, दसैँका लागि घर जाने यात्रुलाई अन्य विकल्प उपयोग गरेरै भए पनि सम्बन्धित स्थानमा पठाइने व्यवस्था मिलाइनेछ ।’
महासंघले यात्रुलाई टिकट सुरक्षित गर्दा प्रस्थान मिति, समय र सिट नम्बर प्रस्टसँग हेर्न आग्रह गरेको छ । टिकट काट्ने कर्मचारीलाई पनि परिचयपत्रको प्रयोग गर्न महासंघले निर्देशन दिएको छ । महासंघले दसैँका लागि लामो दूरीमा करिब एक हजार सार्वजनिक यातायातका सवारीसाधान थप गर्ने बताएको छ ।

प्रतिक्रिया