नख्खु जेल ब्रेक गर्दा

नेपाली कम्युनिस्ट आन्दोलनको चर्चा गर्दा छुटाउनै नसकिने व्यक्तित्व हुन्, सिपी मैनाली । चर्चित झापा आन्दोलनमा सक्रिय भूमिका खेलेका उनी हाल नेकपा (माले) का महासचिव छन् । कम्युनिस्टभित्र पनि हार्ड लाइनर एवम् नौलो जनवादी विचारकका रूपमा चिनिन्छन् । झापा विद्रोहका बेला पक्राउ परेपछि उनलाई काठमाडौंको नख्खु जेलमा राख्यो, पञ्चायती शासनले । सो क्रममा उनकै अगुवाइमा नख्खु जेल ब्रेक गरेको प्रसंगले निकै चर्चा पायो । कसरी सम्भव बनाए उनीहरूले जेल ब्रेकको योजना ? सिपी सम्झँदै छन् ती दिन :
०३२ माघ १ गते पक्राउ परेसँगै मलाई झापाको चन्द्रगढी जेलमा राखियो । लाग्थ्यो– यसरी थुनिएर बस्न हुँदैन, जनताको मुक्तिका लागि बाहिर निस्कनैपर्छ । सँगै झापा विद्रोहमा सक्रिय अरू साथी पनि पक्राउ पर्नुभएको थियो । त्यहाँ रहँदा नै हामीले जेल ब्रेकको योजना बनाएका थियौँ ।
हामीले जेलभित्र र बाहिर दुवैतिरको भौगोलिक बनावट स्केच तयार पारिसकेका थियौँ । बाहिरको स्केच बाहिरकै साथीहरूले उपलब्ध गराउनुभएको थियो । तर, भित्रबाट तत्कालै सुरुङ खन्न सक्ने अवस्था थिएन । त्यसैले भित्रको स्केच पनि बाहिरका साथीलाई पठाएका थियौँ ।
बाहिरका करिब पन्ध्र जना साथीले जेलको तीन सय मिटर टाढाबाट सुरुङ खन्न सुरु गर्नुभएछ । दुई सय फिट खनिसकिएको खबर हामीले पाएका थियौँ । तर, अवस्था अनुकूल भएन । खन्दै जाँदा अक्सिजन तथा उज्यालोको अभाव, माटोको व्यवस्थापनलगायत कुराले अप्ठ्यारो पारेपछि योजना त्यत्तिकै स्थगित गर्नु परेछ । उद्देश्य हात लाग्दैन भने त्यत्तिकै ज्यान जोखिममा नपारौं भन्ने निष्कर्षमा पुग्यौँ ।
०३२ को चैतमा झापा विद्रोहबाट पक्राउ परेका धेरैलाई काठमाडौं ल्याइयो । मलाई केन्द्रीय कारागारमा राखियो । त्यहाँ आन्तरिक प्रशासन कसले हत्याउने भन्ने विषयमा विद्रोह भयो । हामी झापाबाट आएकालाई शंका गरियो । मलाई उनीहरूले त्यसको नेताका रूपमा बुझे, गोलघरमा सरुवा गरे ।
०३३ को असोजतिर मलगायत केही साथीलाई गोलघरबाट नख्खु जेल पुर्‍याइयो । आरके मैनाली, केपी ओली, मोहनचन्द्र अधिकारीलगायतका नेता पहिलेदेखि त्यहिँ हुनुहुन्थ्यो । हामी गएको दुई महिनापछि उहाँहरूलाई केन्द्रीय कारागार लगियो । नख्खु जेलमा उहाँहरूले पार्टीको जेल कमिटी बनाउनुभएको रहेछ । उहाँहरू गएपछि सहमतिमा मलाई त्यो कमिटी सचिवको जिम्मेवारी दिइयो । कमिटीलाई थप व्यवस्थित बनाइयो ।
जेलमा पनि जनताको मुक्तिका लागि चिन्तनमनन चलिरहन्थ्यो । यसका लागि जनताको बीचमा पुग्नैपथ्र्यो । लगातारको छलफलपछि हामी जेल ब्रेक गर्नुपर्ने निचोडमा पुग्यौँ । ब्रेक त गर्ने तर कसरी ? छलफलमा लामै समय बित्यो । काम सजिलो थिएन । आपसी गोपनीयता मुख्य चुनौती थियो ।
समान आस्था भएका पन्ध्र जना थियौँ, साथीहरूले सम्भावनाका तीनवटा प्रस्ताव ल्याउनुभयो । पहिलो– सिधै गेटमा आक्रमण गरेर जाने । यसो गर्दा क्रान्तिकारी भइन्छ भन्ने बढी साथीहरूलाई लागेको रहेछ । डरपोक, भगौडा र लाछी तरिकाले जानु हुँदैन भन्ने उहाँहरूको राय थियो । दोस्रो– ओढ्ने कम्बल गाँसेर त्यसैको सहायताले पर्खाल नाघेर जाने । तर, पर्खालमा चारैतिर नाङ्गो तारमा करेन्ट जोडिएको थियो । तेस्रो– सुरुङ्ग खनेर जाने ।
साथीहरूलाई यी विकल्पबारे आ–आफ्ना राय पेस गर्न भनियो । अगाडिबाटै जाने कुरामा जेल कब्जा त गर्न सकिन्छ तर बाहिर जान सकिँदैन भन्ने सबैलाई लाग्यो । जेल खोलाको किनारमा रहनु, निस्किएपछि उकालो नाघेर जानुपर्ने अनि एकातिर बाक्लो सहर थियो । फेरि जेलको पर्खालमा धेरै परसम्म उज्यालो दिने बत्ती थियो । चारैतिरको सेन्ट्रीपोस्टले गर्दा पनि यो उपाय हाम्रा लागि सजिलो थिएन ।
अन्तत: सुरुङ नै खन्नुपर्छ, त्यसका लागि ढिला गर्न हुँदैन भन्नेमा हामी एकमत भयौँ । झापामा गरेको जेल ब्रेकको प्रयासले हामीलाई केही आइडिया भइसकेको थियो । त्यसअघि पुरानो कमिटीका केपी, आरके कमरेडहरूले पनि प्रयास गर्नुभएको रहेछ । जेल ब्रेक अभियानमा आवश्यक परे केहीले बलिदान दिन तयार हुनुपर्छ भन्नेमा हामी सहमत थियौँ ।
राजनीतिक रूपमा योजना त बनाइयो तर सैद्धान्तिक रूपमा सफल हुन सजिलो थिएन । पन्ध्र दिनजति अनुसन्धानमा लाग्यौँ । जेलबाहिरको भौगोलिक अवस्थाबारे जानकारी लिनु थियो । साथीहरू सामान लिने बहानामा प्रशासनको मान्छेसँग बाहिर गएर अवस्था हेर्नुभयो । क्रमश: आठ–दस फिट चौडा पेटी, सानो डिल, त्यसलगत्तै पाँच–छ फिट गहिरो अर्को डिल, किसानको खेतीयोग्य जमिन रहेको रिपोर्ट आयो ।
भित्रबाट पचास–साठी फिट खनेपछि बाहिर बारीमा पुगिने ठम्यायौँ । जेल प्रशासनसँग हामीलाई भुइँतलामा बस्ने व्यवस्था मिलाइदिन आग्रह गर्‍यौँ । चालचलनका हिसाबले हामीसँग जेल प्रशासन सकारात्मक थियो ।
पश्चिमपट्टि पाँच नम्बर ब्लकको तल्लो तला खाली थियो, हाम्रो मिसनका लागि सबै हिसाबले उपयुक्त । भित्र सुत्नका लागि बनाइएको माटोको आँट केही भत्केको थियो । हामीले जेल प्रशासनसँग त्यसलाई मर्मत गर्छौं भन्यौँ । स्विकृति दियो । खासमा हामी त्यहाँ सुरुङ खन्दाको माटो व्यवस्थापन गर्न चाहन्थ्यौँ । पर्खाल कस्तो छ, जग कति गहिरो छ भन्ने केही थाहा थिएन । खन्न मिल्ने औजार पनि थिएनन् । दाबिलो, पन्युँ, छाताको डन्डी, फलामको टुक्रा यस्तैले सुरु गर्‍यौँ ।
माघको अन्तिमतिर बस्ने कोठाको एउटा कुनाबाट सुरुङ खन्न सुरु गर्‍यौँ । दिउँस सुरुङको मुखमा काठ, इँटा राखेर झारपातले छोप्थ्यौँ । खरायो पनि पाल्न सुरु गर्‍यौँ । सुरुङको मुखमै खोर बनायौँ । भवन पुरानो थियो, ईंटालाई चुनासुतलीले जोडेको । आठ दश दिन लगाएर दुई तीनपत्र ईंट्टा निकालेपछि माटो भेट्यौँ । ईंटाको तखताजस्तो बनाएर, खरायोलाई फराकिलो ठाउँ बनाएर माटो व्यवस्थापन गर्‍यौँ । सात फिट जति सिधै तल खने पछि ओरालो पारेर पश्चिमतिर लाग्यौँ । तीन–तीन जनाको खन्ने टिम थियो । खन्ने क्रममा माटो धसिन थाल्यो, त्यसलाई काठको टेको लगाएर अड्यायौँ । उज्यालोका लागि मैनबत्ती बाल्यौँ । मैनबत्तीले अक्सिजन खाइदिने भएपछि सुरुङभित्रै तार जोडेर बिजुली बाल्यौँ ।
सुरुङ लम्बिदै गएपछि काठको गाडाजस्तो बनाएर माटो बाहिर ल्यायौँ । पर्खालको तल ठूलो ढुंगा भेटियो, हटाउन धेरै दिन लाग्यो । ढुंगा हटाएपछि त्यो ठाउँ फराकिलो भयो, पाँच–छ जना बस्न मिल्ने । माटो बढी हुन थाल्यो । सुत्ने ठाउँ, चुलो, पानी राख्ने गग्रेटो, बाटो मर्मतका बहानामा त्यो माटो प्रयोग गर्‍यौँ । जेल प्रशासनलाई बाहिरबाट माटो भित्र लाने भन्थ्यौँ । तर, सेन्ट्रीको आँखा छलेर भित्र रित्तै जान्थ्यौँ, अनि भित्रको माटोचाहिँ बाहिर ल्याउँथ्यौँ । बाहिर यसो खनखान गरेजस्तो मात्र गर्ने । माटो धेरै हुँदा कहिले भाँडा मस्काउने त कहिले कपडाको खल्तीमा राखेर धुने बहानामा पानीमा बगायौँ ।
पर्खाल र भवनको बीचमा दुई तीन फिटको पुरानो बाटो थियो, ठाउँठाउँमा भत्किएको । जेल प्रशासनसँग त्यो बनाउने अनुमति लिएर केही माटो त्यहीँ ल्याएर हाल्यौँ । यतिले पनि नपुगेपछि जेलभित्रै एउटा चौतारो बनायौँ । अभियानको बीचमा हामी कोड भाषा प्रयोग गथ्र्यौं ।
बीस–पच्चीस दिन काम गरेपछि आन्तरिक प्रशासनको बाटोमुन्तिर सुरुङ पुगेको थियो । त्यो आन्तरिक प्रशासन जेलकै बन्दीहरूबिचबाट बनाइएको हुन्थ्यो । एउटा बन्दीले राति खनेको आवाज सुनेछ । आन्तरिक प्रशासनले जेलमा रिपोर्ट गरेछ । त्यो सूचना पाउनासाथ हामी सबै सबुत लुकाएर बस्यौँ । जेल प्रशासनका कर्मचारी धुर्मस लिएर आए । हामीले केही नबुझेजसरी लौ आउनुस् हेर्नुस् भन्दै बोलायौँ । उनीहरूले कोठाभरि धुर्मसले हाने तर केही भेटेनन् । सुरुङको मुखमा खरायोको खोर थियो, खोरलाई फोहर छाडेका थियौँ । खरायो छामछुम पार्दै केही रहेनछ भन्न थाले । उनीहरूलाई चिया खुवाएर पठायौँ ।
०३३ चैत ११ गते राति सुरुङबाट खोलाको चिसो हावा आयो । विजयको नजिक पुगेको आभास भयो । १२ गते राति निस्कने योजना बनायौँ । तर, सेन्ट्रीमा रहेका ठूलाठूला बत्तीको प्रकाश हाम्रा लागि प्रतिकूल थियो । भित्र तार सट गराएर बत्तीको फ्युज उडाइदियौँ । तर, दस मिनेटजतिमा फेरि बनाइहाल्थे । दश–बाह्र पटक यही प्रक्रिया दोहोर्‍याउँदा पनि नभए पछि दुई जना बाहिर जाने र चिसो कपडा तारमा फालेर सट गराउने योजना बनायौँ । गोपाल शाक्य र एक जना सुरुङबाहिर गएर त्यसै गर्नुभयो तर पनि बत्ती निभेन । लगातार पन्ध्र पटकभन्दा बढी सट गराएपछि फ्युज बनाउने तार सकिएछ । बल्ल त्यसपछि बत्ती निभेको निभ्यै गर्‍यो ।
शंका नहोस् भनेर सिरकलाई झुलभित्र मान्छेजस्तै मिलाएर राख्यौँ र बाँकी १३ जना पनि सुरुङबाट बाहिर निस्कियौँ । केही परसम्म घिस्रँदै अगाडि बढ्यौँ । खन्न सुरु गरेको पैँतालीस दिनमा हामी जेलबाहिर निस्कन सफल भयौँ । प्रहरीले बिहान मात्र हामीले जेलब्रेक गरेको थाहा पाएछ । वीरबहादुर लामाको सहयोगमा म मकवानपुरका विभिन्न गाउँ, ओढारमा बीस दिन बसेर काठमाडौं आएँ । अमृत बोहराको सम्पर्कमार्फत पार्टी काममा लागेँ ।
प्रस्तुति : चमिना भट्टराई

प्रतिक्रिया