पाकिस्तानद्वारा अस्ट्रेलिया पराजित

कोलम्बो, १७ असोज । पाकिस्तानका स्पिनर प्रभावी रहेपछि अस्ट्रेलियाले टी–ट्वान्टी विश्वकप क्रिकेटमा पहिलो पराजयको सामना गरेको छ । कोलम्बोको प्रेमदासा क्रिकेट मैदानमा मंगलबार भएको खेलमा अस्ट्रेलिया ३२ रनले पराजित भयो । पाकिस्तानले छाडेको १५० रनको लक्ष्य पछयाएको अस्ट्रेलिया सात विकेट गुमाउँदै ११७ रनमा सीमित भयो । पराजयको बाबजुद अस्ट्रेलिया सेमिफाइनलमा प्रवेश गरेको छ । अस्ट्रेलियाका माइक हसीले ५४ रन जोड्नुबाहेक अन्यले प्रभावकारी ब्याटिङ गर्न सकेनन् । अस्ट्रेलयिाले १९ रनमा दुई विकेट गुमाइसकेको थियो ।
टोलीका सबैभन्दा प्रभावकारी खेलाडी सेन वाटसन ८ रन जोडेपछि आउट भए । चौथो ओभरको चौथो बलमा उनलाई राजा हसनले बोल्ड गरे । त्यसपछिको ओभरको अन्तिम बलमा मोहम्मद हफिजले डेविड वार्नरलाई एलबिडब्लु आउट गरे । वार्नरले पनि आठ रन नै जोडेका थिए ।
उमर गुलबाहेक अन्य सबै स्पिनर र स्लोबलर प्रयोग गरेको पाकिस्तानका लागि सइद अजमलले चार ओभरमा १७ रन खर्चंदै तीन विकेट लिए । उनले जर्ज बेलीलाई १५ रनमा आउट गरे भने म्याथ्यु वेडलाई १३ र म्याट कुमिन्सलाई शून्य रनमा आउट गरे ।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको पाकिस्तानले ६ विकेटको क्षतिमा १४९ रनको योगफल खडा गर्‍यो । नासिर जमसेदले ५५ तथा कमरान अकमलले ३२ रन जोडे । २९ रनमा दुई विकेट गुमाएको टोलीका लागि यी दुई ब्याट्सम्यानले तेस्रो विकेटका लागि ७९ रनको योगदान गरे । अब्दुर रज्जाकले २२ रन जोडे ।
जमसेदले ४६ बलको सामना गर्दै चार चौका र दुई छक्का प्रहार गरे । २६ बलको सामना गरेका अकमलले पनि एक चौका र एक छक्का प्रहार गरे । अस्ट्रेलियाका म्याक स्टार्कले चार ओभरमा २० रन खर्चंदै तीन विकेट लिए । उनले हफिज, अकमल र सहिद अफ्रिदीलाई आउट गरे । महंगो ठहरिएका कुमिन्सले एक विकेट लिए पनि चार ओभरमा ४३ रन खर्चे । एजेन्सी

प्रतिक्रिया