‘इरानी अर्थतन्त्र पतनको सँघारमा’

जेरुसेलम : अन्तर्राष्ट्रिय नाकाबन्दीका कारण इरानको अर्थतन्त्र पतनको सँघारमा पुगेको इजरायली अर्थमन्त्रीले बताएका छन् । इरानलाई पारमाणविक गतिविधि रोक्न बाध्य पार्ने उद्देश्यले युरोप, अमेरिकालगायत मुलुकले इरानविरुद्ध नाकाबन्दी लगाएका छन् । यसअघि इजरायलले इरानमाथिको नाकाबन्दीले मात्रै परमाणु हतियार हासिल गर्ने उद्देश्यबाट इरानलाई विमुख गराउन नसक्ने जनाउँदै आएको थियो । तर, नाकाबन्दीबाट इरानी अर्थतन्त्र धराशयी बन्न लागेको इजरायली अर्थमन्त्री युभल स्टेनिट्जले जनाएपछि नाकाबन्दीबाट लक्षित उद्देश्य हासिल हुनेमा इजरायली अधिकारी आशावादी हुनथालेको संकेत मिलेको छ । ‘इरानमाथिको नाकाबन्दी पछिल्ला वर्षमा निक्कै बढेको छ । इरानी अर्थतन्त्र धराशयी हुँदै छ म भन्दिनँ तर यो पतनको सँघारमा पुगेको छ,’ उनले भने । युरोपेली मुलुकले इरानी तेल आयात गर्न बन्द गरेपछि इरानको अर्थव्यवस्था डगमगाएको उनले बताए । ‘तेल आयात बन्द भएपछि इरानले चालू वर्षको अन्त्यसम्म ४५–५० अर्ब अमेरिकी डलर घाटा बेहोर्ने भएको छ,’ उनले भने ।
इरानमा जारी पारमाणविक गतिविधि आमविनाशकारी परमाणु हतियार उत्पादन गर्नेतर्फ लक्षित रहेको आरोप इजरायलले लगाउँदै आएको छ । इजरायलको रणनीतिक साझेदार अमेरिका र युरोपेली महासंघसँग आबद्ध राष्ट्रले समेत इजरायलकै भनाइ दोहोर्‍याउँदै आएका छन् । इजरायल र इरानबीचको सम्बन्ध तनावपूर्ण छ । उनीहरूबीच दौत्यसम्बन्ध समेत स्थापना भएको छैन । इजरायललाई राष्ट्रको हैसियत दिन इरानले अस्वीकार गर्दै आएको छ । इजरायललाई ‘जबरजस्ती हड्पिएको भूमि’को संज्ञा इरानले दिने गरेको छ । साथै, इजरायलाई विश्व मानचित्रबाट सदाका लागि मेटिदिने धम्की इरानी अधिकारीबाट बारम्बार आउने गरेको छ । यदि अर्थमन्त्री युभलको भनाइलाई इजरायली सरकारको आधिकारिक धारणा मान्ने हो भने इजरायल र इरानबीच युद्ध हुने सम्भावना तत्काललाई टरेको छ । इरानमा जारी पारमाणविक गतिविधिले ‘आखिरी हद’ पार गर्न लागेको भन्दै इजरायलका पारमाणविक केन्द्रमा अविलम्ब हमला गर्नुपर्ने भएको इजरायली अधिकारीले बताउँदै आएका थिए । तर, अमेरिकाले भने नाकाबन्दीबाट लक्षित उद्देश्य हासिल हुने भएकाले केही समय पर्खिन इजरायललाई आग्रह गर्दै आएको थियो । केही महिनाअघि इरानमाथि तत्काल आक्रमण गर्ने कि नगर्ने भन्ने विवाद चर्किएपछि अमेरिका र इजरायलबीचको सम्बन्धमा पनि तनाव उत्पन्न भएको थियो । (एजेन्सी)

प्रतिक्रिया