अविभाजित छँदा माओवादीमा मानिसहरू पाँच कारणले जोरजम्मा भएका थिए । उग्रवामपन्थको बिँडो थाम्न, गुप्तचरी गर्न, जागिर खान, कमाउन र बाँच्न । अहिले उग्रवामपन्थको बिँडो थाम्नेहरू वैद्य खेमामा लागेका छन् । गुप्तचरी गर्ने, जागिरे र कमाउनेहरू प्रचण्ड खेमामा लिसो टाँसिएझैँ टाँसिएका छन् । ज्यान जोगाउ अभियान छेडेर केवल बाँच्नको लागि माओवादी भएकाहरू भने सामान्य जीवनमा फर्कने, वैद्य खेमामा जाने र संस्थापनमै रहने गरी तीन भागमा विभाजित छन् । यी मध्ये अन्य घटकहरू तमाम भड्काव र विकृतिले ग्रस्त भएपनि उनीहरूको देशभक्ति र कम्युनिस्ट आन्दोलनप्रतिको निष्ठामा कुनै शंका गर्ने ठाउँ छैन । सत्तारुढ गुप्तचरी गुट भने नेपाल राष्ट्रको अस्तित्व, सार्वभौमिक अखण्डता, समग्र लोकतान्त्रिक आन्दोलन, जनआन्दोलनका उपलब्धिहरू र नेपालको कम्युनिस्ट आन्दोलनको निम्ति घातक रहेको छ ।
अवसरवादी चमेराहरूले भरिभराउ यो गिरोहकै कारण माओवादीको लोकतान्त्रिकरण, माओवादी पार्टीको एकता र माओवादी नेताहरू, विशेष गरी प्रचण्डले बोकेका विराट संभावनाहरूको भ्रूण हत्या भएको छ । प्रखर राष्ट्रवादी एवं सिर्जनात्मक सोच र शैली भएको नेताका रूपमा उदाउन थालेका प्रचण्डलाई नक्कली राष्ट्रवादी र चरम असहिष्णु सावित गरेर गुप्तचरी गुटले गम्भीर क्षति पुर्याएको छ । सेनापति काण्ड, संविधानसभा विघटन र माओवादीको विभाजनमा गुप्तचरहरूको भूमिका बलशाली र निर्णायक रहेको छ । भारतीय राजनीतिमा बलशाली रहेको खुफिया संस्थाका हस्तीहरूको लालनपालन, संरक्षण र परिचालनमा हुर्किएको यही गिरोहका कारण नेपालको संक्रमणकाल लम्बिदै छ । जनआन्दोलनकारी शक्तिबीचको दूरी बढाई बाह्य हस्तक्षेप र प्रतिगमनको दोहोरो खतरा निम्त्याएर लोकतन्त्रको भविष्यमाथि कालो बादल मडराउनु, लोकतान्त्रिक दलहरूलाई विखण्डित पार्नु, लोकतान्त्रिक जनमतलाई कमजोर पार्नु र अन्तत: नेपालको कम्युनिस्ट आन्दोलनलाई असफल सावित गर्नु अवसरवादी गुटको अभिष्ट रहेको छ । मधेसी मोर्चा जस्तो जमिन्दारहरूको क्लबसँग घाँटी जोडेर गुप्तचरहरूले आÏनो ट्ेरेडमार्क प्रष्ट पारेका छन् । भूमिसुधार, सामाजिक न्याय, पारदर्शिता, जनजीविकाको सुनिश्चितता, रोजगारी सिर्जना र राष्ट्रिय उद्यमीमैत्री वातावरण जस्ता मुद्दाहरूलाई मूल्यहीन र औचित्यहीन पारिदँैछ । ऋषिकेश शाह, एसडी मुनी र पिके थराकानहरूको नेपालको वाम तथा लोकतान्त्रिक आन्दोलनलाई कमजोर पार्ने सपना पूरा गरिदिन अग्रसर सत्तारुढ गुटको यस प्रकारको राष्ट्रघातलाई ९० प्रतिशतभन्दा बढी हिस्सा भारतीय दलालहरूले ओगटेको प्रेस जगत र ठूला मिडिया हाउसहरू काँध थाप्न पुगेका छन् । यसर्थ, गुप्तचर गिरोह बिरुद्धको संघर्ष नै अहिलेको संघर्षको केन्द्रविन्दु हो ।
डा. बाबुराम नेतृत्वको सरकारको विस्थापन नेपालको अस्तित्व रक्षासँग जोडिएको छ । ‘र’ नेपालमा सधँै लेण्डुप दोर्जे जन्माउने प्रयास गर्छ । उसको बाबुराम रोजाइसँगै सिक्किमीकरणको खतरा बढेको हो । हाम्रै बीचमा भारतले खेल्यो भनेर केही वर्षअगाडि राष्ट्रवादी अडान लिन पुगेका प्रचण्डमा समेत भारतको धाप बिना सत्तामा पुनरागमन असम्भव रहेको महशुस गराउन र उनलाई मोहन वैद्य, रामबहादुर थापा, सिपी गजुरेल, देव गुरुङ्जस्ता अटल हस्तीबाट सदाका लागि अलग्याउन सकेपछि अनन्तकालसम्म सत्तामा टाँसिरहने जाल सत्तारुढ गुटले बुनेको छ । सहमति नभए २५ वर्ष यही सरकार रहने, अर्को जननिर्वाचित प्रधानमन्त्रीलाई मात्र कुर्सी हस्तान्तरण गर्ने र अध्यादेशबाट देश चलेको विगतका नजीरहरूको सिरानी हाल्ने जस्ता अभिव्यक्ति र हर्कतहरू अधिनायकवादी मानसिकताका उपज हुन् । नजीर त अध्यादेशबाट देश चलेको मात्र होइन, राष्ट्राध्यक्षले सरकार प्रमुखलाई बर्खास्त गरेको पनि छ । यसले राष्ट्रपति डा. रामवरण यादवसँग केवल तीनवटा मात्र विकल्प रहेको प्रष्ट पार्छ, पहिलो तत्काल सहमतीमार्फत् वर्तमान सरकारको विस्थापन गर्नु, दोस्रो प्रधानमन्त्रीको बर्खास्तगी र तेस्रो अधिनायकवादलाई वैधानिकता प्रदान गर्ने शिखण्डीको भूमिका खेल्नुभन्दा आफँै पद त्याग गरेर सडक संघर्षका लागि मार्ग प्रशस्त गरी दिनु ।
एमाले र कांग्रेसले पनि सहमतीबाट निकास निस्कन्छ र माओवादीको विश्वास छैन जस्ता विरोधाभास कुरा गर्न छाड्नुपर्छ । सर्वोच्च र सेनाको सहयोग र साथ पाउनु नेपालको लोकतान्त्रिक आन्दोलनको सौभाग्य हो भने नरमपातको टपरीजस्तो निर्वल र निम्छरो राजनीतिक नेतृत्व यसको ऋणात्मक पक्ष हो । गणतन्त्र घोषणा गर्दा गिरिजाप्रसाद कोइराला र सेनापति काण्डको बेला रुक्मांगद कटुवाललाई साथ दिएर नेपाली सेनाले लोकतान्त्रिक आन्दोलनलाई ठूलो सहयोग पुर्याएको थियो । संविधानसभाको आयु तोक्न सर्वोच्च अदालतले दह्रो अडान नलिएको भए अधिनायकवादी सार बोकेको गुप्तचरी गिरोहले मुलुकलाई दुहुनो गाई बनाइरहने थियो । एमाले र कांग्रेसमा माओवादीलाई हेर्ने, बुझ्ने र फेर्ने सवालमा आएको स्पष्टता र एकरूपता सकारात्मक छ । अब पनि सहमतिको नारा तत्काल परिणाममुखी नहुने हो भने त्यसको औचित्य समाप्त भएको घोषणा गर्न ढिलाइ गर्नु हुँदैन । हिटलरको गडबडीका अगाडि तत्कालीन बेलायती प्रधानमन्त्री चेम्बिर लेन फिक्का सावित भएका थिए । तर, उनका उत्तराधिकारी विन्स्टन चर्चिल काविल प्रधानमन्त्री भएर आए । म्याद नाघेको औषधी, बेत बसेको गाई, मक्किएको दाँत, प्वाल परेको डुंगा र सन्दर्भ गुमाएको नेताको भर परेर कोही पनि उँभो लाग्न सक्दैन । एमाले र कांग्रेसमा पनि माओवादीलाई बल पुर्याउने चेम्बर लेन प्रवृतिको पतन इतिहासको माग हो । आँट गुमाएको राष्ट्रलाई एउटा व्यक्तिले ऊर्जा प्रदान गर्छ र प्राण भर्छ भन्ने सच्याइका चर्चिल दृष्टान्त हुन् । एमाले र कांग्रेसका नेताहरूले पनि चर्चिलको जस्तो आँट गर्न सक्नुपर्छ । ठूलो छिमेकीले थुप्रै जोडघटाउपछि ठूलै स्वार्थका कारण सानो मलुकमा प्रक्षेपण गरेको कठपुतलीसँग जिस्किएर चेम्बर लेन प्रवृति दोहोर्याउनु इतिहास र जनताप्रति बेइमानी मात्र हुनेछ ।
माओवादी नेताहरू अझै पनि कुम्भकर्ण निद्रामै छन् । एउटा अन्त्यहीन लाश–मार्गबाट माओवादी र दासमार्गबाट राजावादीलाई एमाले र कांग्रेसले मासमार्गमा ल्याएको सच्याइलाई चाँडै आत्मसाथ नगर्नुको मूल्य माओवादीका लागि भविष्यमा निकै महँगो सावित हुने छ । विन लादेन, सद्दाम हुसेन, कर्णेल गद्दाफी र प्रभाकरण कोही पनि प्रचण्ड र बाबुरामभन्दा सानो कदका बिद्रोही थिएनन् । वैधानिक प्रतिपक्षको रक्षाकवच नहुँदा नै उनीहरूको मृत्यु सुखद हुन सकेन । एमाले, कांग्रेस र छिमेकी भारत दाहिना नहुँदा हुन् त प्रभाकरणलगायत समकालीन विश्वका ठूल्ठूला विद्रोहीले बेहोर्नु परेको सर्वनाश र दु:खद अन्त्य माओवादी नेताहरूसँग बेहोर्नुको विकल्प थिएन । भारतविरुद्ध बंकर खनेर नेपाली धरती कुरूप पार्नेहरू दिल्लीमा बाह्रबुँदे सम्झौता गर्न अकारण बाध्य भएका थिएनन् । एमाले र कांग्रेसले त्यतिबेला गरेको दया, उद्धार र अनुकम्पालाई बिर्सिएर गुप्तचरी गिरोह अब हतियार उठाउने स्थिति परिपक्व भएर आएमा आफूहरूले नभए अरूले उठाउने र निशानामा एमाले र कांग्रेस पर्ने उद्घोष गरेर कृतघ्नता प्रदर्शन गर्दैछ । भारी मत दिएर संसद्मा पालैपालो सबैभन्दा ठूलो दल भएका एमाले, कांग्रेस र एमाओवादीमध्ये कसैले पनि हतियार उठाएको खण्डमा साथ दिनुको सट्टा जनताले नेताहरूको टाउकोको भकुन्डो खेल्ने प्रष्ट छ । लुम्बिनी विकास कोषका अध्यक्षको गरिमालाई घटाउने गरी प्रयोग गरिने हिंसाजन्य भाषाले विपरीत ध्रुबको रूपमा रहेका पंचशील र प्रचण्डपथ बिरोधाभाषलाई मात्र सतहमा ल्याएको छ ।
लोकतान्त्रिक दलहरूको नेतृत्व अरूलाई ठग्ने र आफू ठगिने दुवै खाले दुर्गुणभन्दा माथि नउठेसम्म आधिनायकवादलाई पछार्ने लोकतान्त्रिक जनमतको सिर्जना गर्न सकिने छैन । लोकतान्त्रिक जनमत निर्माण र जनतालाई सचेत, संगठित र आन्दोलित पार्नका लागि सडक संघर्षको विकल्प छैन । जुन, सडक संघर्ष निरंकुश राजतन्त्रपछि अधिनायकवादका लागि साक्षात् यमराज सावित हुनेछ । बिदेशी प्रभुको चरणचुम्बन् र पाउपूजन गरेर अवसरवादको लिÏट चढ्नेहरू ओरालो झर्दा पनि तीब्र गतिमा झर्ने गर्छन् । आÏनै बलबुत्ताले जनताको मन जित्ने कठीन सिँडीहरू पार गर्ने आस्थाका इस्पातहरू केही ढिलो हुन सक्छन् तर बीचबाटै हराउँदैनन् । सत्तारुढ संघीय लोकतान्त्रिक गणतन्त्रवादी गठबन्धन ९ाम्च्ब्० अर्थात् ा. फर्टिचर (ठग) म्. डकैत (डाँका) र च्. रबर (लुटेरा)हरूको डÏफाको छलछाम र सच्चा वामपन्थी एवं लोकतन्त्रवादीहरू बीचको संघर्षको हकमा पनि यही सच्याइ लागू हुनेछ । गाईलाई सिंहको आक्रमणबाट बचाएर बाघको मुखमा छाडिदिनु साँचो र सम्पूर्ण अर्थको उद्वारकार्य नभएजस्तै लोकतन्त्रलाई पूर्वराजा र कमल थापाहरूबाट बचाएर प्रचण्ड बाबुरामहरूको सिकार बनाउनु लोकतन्त्रप्रतिको साँचो र सम्पूर्ण अर्थको निष्ठा र दायित्व हुने छैन । लोकतन्त्ररूपी गाईका निम्ति निरंकुश राजतन्त्र सिंह थियो भने उग्रवामपन्थी अधिनायकवाद बाघ जत्तिकै खतराको रूपमा देखापरेको छ । निरंकुश राजतन्त्रपछि अधिनायकवादको बन्ध्याकरण इतिहासको माग हो । संकटले अवसर पनि ल्याउँछ । अधिनायकवादी हर्कत र गुप्तचरी मिसनविरुद्ध खरोरूपमा उत्रने क्रममा नै सच्चा क्रान्तिकारी एवं लोकतन्त्रवादीहरू आफूलाई आसा र भरोसाको केन्द्रको रूपमा जनसमुदायमाझ स्थापित गर्न सक्नेछन् ।
प्रतिक्रिया