कोइराला आक्रमणबारे छानबिन गर्न प्रहरीको बोर्ड

काठमाडौं : कांग्रेस सभापति सुशील कोइरालामाथि भएको आक्रमण घटनाको छानबिन गर्न प्रहरीले डिआईजीको नेतृत्वमा पाच सदस्यीय बोर्ड गठन गरेको छ ।
महानगरीय प्रहरी आयुक्त कार्यालयका डिआईजी पर्शुराम खत्रीको संयोजकत्वमा गठित बोर्डमा आयुक्त कार्यालयकै एसएसपी केदारमानसिंह भण्डारी, प्रहरी प्रधान कार्यालयअन्तर्गत अपराध अनुसन्धान विभागका एसपी मनोज न्यौपाने, महानगरीय प्रहरी अपराध महाशाखाका एसपी सुरेशविक्रम शाह र प्रहरी प्रधान कार्यालयको कार्यविभागका डिएसपी अभिनारायण काफ्ले सदस्य छन् । कपन–३ मा शनिवार कार्यकर्ता भेला उद्घाटन गर्ने क्रममा सभापति कोइरालामाथि आक्रमण भएको थियो । कार्यक्रममा आसन ग्रहण नगराएको भन्दै नेपाल विद्यार्थी संघका क्षेत्रीय सभापति प्रवेश बस्नेतले आक्रमण गरेका थिए । कोइरालालाई अरु नेताले छेकेर ठूलो चोटपटक लाग्नबाट जोगाएका थिए । उक्त घटनाको सत्यतथ्य पत्ता लगाउन बोर्ड गठन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । (सौस)

प्रतिक्रिया