मुस्लिम बालिकाले पौडी छोड्न नमिल्ने

बर्लिन : मुसलमान समुदायकी एक बालिकाले नांगो छाती भएका केटाहरूसँग नजिक रहेर पौडी खेल्न असजिलो हुने भएकाले विद्यालयको पौडी कक्षा छोड्न दिएको निवेदन जर्मनीको एक अदालतले अस्वीकार गरेको छ । मोरोक्कोबाट आई जर्मनीको फ्रयाङकफर्ट नगरमा अध्ययन गर्दै आएकी १२ वर्षीया बालिकाले ‘पौडी कक्ष छोडी पाऊ’ भनी अदालतमा मुद्दा दायर गरेकी थिइन् ।
यी बालिकाले पौडी कक्षा छोड्न अनुमतिका लागि अदालतमा निवेदन दिएकी थिइन् । उनका कानुन व्यवसायीले पनि कुरानअनुसार बालिकालाई आफ्नो शरीर देखाउन तथा अन्य मानिसको नांगो छाती हेर्न अनुमति नभएको तर्क गरेका थिए । क्यासेलस्थित प्रशासनिक अदालतले यी बालिकाको निवेदन अस्वीकार गरेको हो । यद्यपि, अदालतले यी बालिकाले शरीर पूर्ण ढाक्ने बुर्का लगाउन सक्ने जनाएको छ । धार्मिक स्वतन्त्रताका नाममा उनलाई यतिमात्रै सुविधा दिनसकिने अदालतको फैसलामा उल्लेख छ । पौडी कक्षा अनिवार्य भएको देशमा बालिकाको परिवारले बस्न स्वीकार गरेकाले उनले पौडी कक्षा छोड्न नमिल्ने फैसला अदालतले गरेका छ । (एएफपी)

प्रतिक्रिया