ज्योतिले माफी मागिन्

‘नानी † ढोका खोल त,’ आमाले कार्यालयबाट फर्किएपछि ढोका ढकढक गर्दै ज्योतिलाई बोलाउनुभयो । ज्योति मस्तसँग टिभी हेरिरहेकी थिई । आमाले बोलाएको उसले सुनिन । उसको ध्यान टेलिशृंखलाले खिँचेको थियो । आमाले अलि ठूलो स्वरले फेरि बोलाएपछि मात्र उसले पत्तो पाई । हतारहतार टिभी बन्द गरी र मस्त निद्राबाट ब्युँझेभैँm अभिनय गर्दै उसले ढोका उघारी । आमाले छोरीको कुरा बुझिहाल्नुभयो ।
‘धेरै टिभी नहेर भनेर तिमीलाई कति सम्झाउनु, आँखा कमजोर हुन्छन् । हेर, तिमी पढाइमा पनि पहिलेभन्दा धेरै कमजोर भइसक्यौ,’ आमाले ज्योतिलाई सम्झाउँदै भन्नुभयो । ज्योतिले आमाका सबै कुरा चुपचाप सुनी र सानो स्वरमा भनी, ‘मैले टिभी हेरेको हैन क्या ममी †’ उसले आमालाई यसपटक पनि ढाँट्ने प्रयास गरी । आमा अँध्यारो अनुहार लगाउँदै आफ्नो काममा लाग्नुभयो ।
ज्योति कक्षा चारमा पढ्थी । साना कक्षामा पढ्दा ऊ सधैँ प्रथम हुन्थी । विद्यालयका विभिन्न कार्यक्रममा सहभागी हुन्थी र पुरस्कार पनि जित्थी, सबैले उसको पढाइ र सफलताको प्रशंसा गर्थे । ऊ असल, इमानदार, अनुशासित, लगनशील र आज्ञाकारी छात्राका रूपमा चिनिन्थी । तर, कक्षा चारमा पढ्न थालेपछि उसको बानीव्यवहारमा अचानक परिवर्तन आएको थियो ।
ऊ कहिलेकाहीँ साथीसँग झगडा गर्थी, शिक्षकले पढाएका बेला ध्यान दिन्नथी, गृहकार्य गर्न अल्छी गर्थी, खेल्न र टिभी हेर्नमै व्यस्त हुन्थी । आमालाई घरको काममा सघाउन छोडेकी थिई । कसैले केही काम अह्राउँदा झनक्क रिसाउँथी । बेलुकी अबेरसम्म टिभी हेर्थी, बिहान निकै ढिला उठ्थी । खाने बेलामा पनि यो खान्नँ र त्यो खान्नँ भनेर झगडा गर्थी ।
छोरीले यस्ता नराम्रा बानी सिक्दै गएकोमा ज्योतिका बुबाआमा चिन्तित हुनुहुन्थ्यो । यसबारे उहाँहरू कहिलेकाहीँ छलफल पनि गर्नुहुन्थ्यो । दुवैजना अफिस जाने भएकाले उहाँहरूले छोरीका लागि प्रशस्त समय दिन सक्नुभएको थिएन । कहिलेकाहीँ ज्योति बुबासँग गुनासो पनि गर्थी– ‘म घरमा एक्लै बस्नुपर्छ, हजुरहरू मलाई समय नै दिनुहुन्न ।’ समय दिन नसकेको र छोरीको व्यवहारबारे ज्यकोतिका बुबाले उसलाई कतिपटक सम्झाउनुभयो । भनुन्जेल सुन्थी अनि पछि उस्तै ।
साथीको संगतले हो कि अन्त कतैबाट हो, उसले नराम्रा शब्द पनि बोल्न सिकिसकेकी रहिछ । कुरा गर्दा मुखबाट फुत्त त्यस्ता शब्द बेलाबखत निस्कन्थे । ज्योतिका बुबाले यसलाई त्यति वास्ता नगरेजस्तो गर्नुभएको थियो । केटाकेटीलाई त्यस्ता शब्द बोलिस् भनेर कुटिहाल्ने कुरा पनि त भएन । ‘नानी † नम्र भएर राम्रा शब्द मात्र बोल्नुपर्छ,’ त्यस्तो बेलामा ज्योतिलाई बुबा सम्झाउनुहुन्थ्यो । ऊ बुझेजस्तो गर्थी ।
ऊ पटकपटक आफ्ना किताब, कलम, कापी, परिचयपत्र आदि हराउँथी तर बुबाआमालाई भन्दिनथी । आमाले उसका किताबकापी ठीक छन्/छैनन् भनेर झोला हेर्दा मात्र सामान हराएको जानकारी हुन्थ्यो । आमाले सोध्दा ऊ भन्थी, ‘ए † त्यो त अस्ति नै हरायो ।’ आमा भन्नुहुन्थ्यो– ‘अनि, किन नभनेको त ?’ ऊ बिस्तारै बोल्थी– ‘हजुरले गाली गर्नुहुन्छ भनेर नि ।’
यसरी दिनदिनै छोरीको बानी बिग्रँदै गएको थाहा पाएर ज्योतिका बाबुआमालाई झनै चिन्ता थपियो । बानी सुधार्न आमाले ज्योतिलाई धेरैपटक गाली गर्नुभयो तर बानी सुध्रनुको सट्टा अझ बढी हुँदै गयो ।
एक दिन ज्योतिकी आमा कमला कार्यालयको काममा निकै व्यस्त थिइन् । मोबाइलमा किरिर्र किरिर्र घन्टी बज्यो । फोन ज्योतिकै विद्यालयको रहेछ । उठाइन्, उताबाट आवाज आयो– ‘हेलो † ज्योतिकी ममी हो ?’ ‘हजुर, म बोल्दै छु,’ कमलाले भनिन् । ‘हजुर एकछिन विद्यालयमा आउनुपर्ने भयो, फुर्सद छ भने तुरुन्तै आउनुभए हुन्थ्यो,’ उताबाट प्रधानाध्यापकले आग्रह गर्नुभयो । त्यो खबरले कमला छाँगाबाट खसेझैँ भइन् । छोरीलाई केही भयो कि उसले केही बदमासी गरी भन्ने चिन्ताले पिरोल्यो । हत्तपत्त हाकिमसँग बिदा मागेर कमला ज्योतिको विद्यालय पुगिन् ।
विद्यालयमा ज्योति, उसकी साथी सबनम, प्रधानाध्यापक तथा कक्षाशिक्षक कमलाकै प्रतीक्षामा हुनुहुन्थ्यो । सबैलाई देखेर एकछिन त कमलाको होसहवासै उड्यो । छोरीले पक्कै बदमासी गरेकी छे भन्ने कुरा बुझ्न कमलालाई कत्ति बेर लागेन । छोरीका कारण परिवारकै बेइज्जत भएको उनले महसुस गरिन् । धैर्यपूर्वक नमस्कार गर्दै सोफामा बसिन् । प्रधानाध्यापकले शिष्टाचारपूर्वक नमस्कार फर्काउँदै कुरा सुरु गर्नुभयो– ‘ज्योतिले गर्दा हजुरलाई दु:ख दिनुपर्‍यो, नराम्रो नमान्नुहोला है ।’ उहाँले सबै कुरा खुलाउँदै भन्नुभयो– ‘ज्योतिले साथीको पुस्तक लिइछिन् अनि साथीको नाम मेटेर आफ्नो नाम पो लेखिछिन् । एउटी साथीले यो कुरा भनेपछि पो सबैले थाहा पाएछन् । अनि त के, त्यो सत्य कुरा भन्ने साथीलाई ज्योतिले गाली गरिछिन् । उनीहरूको भनाभन पनि भएछ । सुरुमा त मुख मात्रै छोडिछिन् पछि त हातै हालिछिन्, साथीले पनि हात पर्काएपछि कक्षामै कुटाकुट र भुत्लाभुत्ली चलेछ । धन्न, कक्षाका अरू साथीले समयमै कक्षाशिक्षकलाई भनेपछि उहाँले दुवैलाई छुट्याउनुभएछ । कुरा यत्ति हो । अब के गरौँ ?’
प्रधानाध्यापकका कुरा ध्यान दिएर सुनिरहेकी कमलाका आँखाबाट तरर्र आँसु झरिरहेका थिए । ज्योतिको अनुहार भने निकै मलिन थियो । कमलाले ज्योतितिर हेरेर भनिन्– ‘छोरी † के उहाँले भन्नुभएको कुरा साँचो हो ?’ ज्योति केही बोल्न सकिन, ऊ रुन थाली ।
उसलाई आफूले पहिलेदेखि गरेका सबै कुरा झलझली सम्झना भए । आमालाई ढाँटीढाँटी टिभी हेरेको, गृहकार्य गर्न अल्छी गरेर गुरुआमाको गाली खाएको, नपढेकाले परीक्षा बिग्रिएको, खेल्दाखेल्दै आफ्ना किताबकापी आदि छोडेर हराएको, साथीहरूसँग झगडा गरेको अनि साथीको किताब चोरेर आफूले लिएको आदि घटना एकएक गर्दै उसको दिमागमा आए ।
यसबीच आमा र प्रधानाध्यापकबीच केके कुरा भए उसले पत्तै पाइन । ‘ज्योति †’ भनेर प्रधानाध्यापकले बोलाउँदा पो ऊ झसंग भई । ‘अब तिमीलाई विद्यालयबाट निकाल्नुपर्‍यो, तिमी के भन्छ्यौ ?’ प्रधानाध्यापकको यस वाक्यले उसलाई भित्र कताकता छोयो, आफूले नराम्रो काम गरेकोमा उसलाई पछुतो भइरहेको थियो । उसले नम्र स्वरमा माफी माग्दै भनी– ‘सर, अबदेखि म कहिल्यै नराम्रा काम गर्दिनँ, राम्ररी पढ्छु, सधैँ गृहकार्य गर्छु, कसैसँग झगडा पनि गर्दिनँ, ढाट्दिनँ, ममीसँग नसोधी टिभी पनि हेर्दिनँ, कसैको केही कुरा पनि नसोधी लिन्नँ । यसपटक मलाई माफ गरिदिनुहोस् ।’
ज्योतिका यस्ता कुरा सुनेर प्रधानाध्यापक मुसुक्क मुस्कुराउनुभयो र भन्नुभयो– ‘ल ठीक छ, म त तिमीलाई माफ गर्छु, अबदेखि तिमी पक्कै यस्तो गर्दिनौ, मलाई विश्वास छ । तर, तिम्री साथीले के गर्छिन् कुन्नि ?’ ज्योति तत्कालै साथीतिर फर्किई र कान समातेर माफी मागी । उनीहरू दुवै आपसमा मिले ।
कमलाको अनुहार अघिदेखि नै निन्याउरो थियो, उनको ओठमा मुस्कान थिएन । ‘लौ त म अहिले बिदा हुन्छु,’ कमला नमस्कार गर्दै उठिन् र विद्यालयबाट बाहिरिइन् । ज्योति पनि ‘धन्यवाद सर’ भन्दै आमाको पछिपछि लागी । बाटोमा ज्योतिले भनी– ‘सरी ममी † अबदेखि म असल छोरी बन्छु नि, प्लिज ममी, अन्तिम पटकलाई माफ गर्नु न ल ?’ उनले छोरीको अनुहारतिर हेरिन्, उसका आँखा पश्चातापका आँसुले भरिएका थिए । छोरी साँच्चै सुध्रिएको विश्वास कमलालाई भयो । उनी मुसुमुसु हाँसिन् र ज्योतिको टाउको सुम्सुम्याइन् ।

प्रतिक्रिया