सफलता निरन्तरताको चुनौती

काठमाडौं, १३  असोज । एसियाली क्रिकेट काउन्सिल (एसिसी) ट्रफी एलिट कप एसिसीको सबैभन्दा ठूलो प्रतियोगिता हो । नेपालको हकमा यसको परिचय व्यापक छ । नेपालले खेलेको पहिलो प्रतियोगिता हो एसिसी ट्रफी । तर दुर्भाग्य, सन् १९९६ देखि यस प्रतियोगितामा सहभागी हुन थालेको नेपाल अहिलेसम्म यसको विजेता भने बन्न सकेको छैन ।
एसिसी ट्रफीमा मात्र होइन, एसिसीका अन्य प्रमुख सिनयर प्रतियोगितामा पनि नेपाल उपाधिविहीन नै रहँदै आएको छ । चारपटक एसिसी यु–१९ को उपाधि जित्नुका साथै यु–१६ बाहेक एसिसीका अन्य सबै उमेरस्तरका प्रतियोगिताको उपाधि जितेर लामो समयदेखि अन्तर्राष्ट्रिय क्रिकेटमा ठूलो सम्भावना देखाएको नेपाल सिनियर क्रिकेटमा राम्रो प्रदर्शन गर्न नसकेपछि ठूला अवसरबाट वञ्चित हुँदै आएको पनि धेरै अघिदेखि हो ।
तर, यतिबेला नेपाली क्रिकेट राष्ट्रिय स्तरमै चर्चाको विषय बनिरहेको छ । आइसिसी वल्र्ड क्रिकेट लिग डिभिजन फोरमा विजेता बन्दै डिभिजन थ्रीमा उक्लिएर नेपाली सिनियर टोली सन् २०१५ को एकदिवसीय विश्वकप खेल्ने अभियानमा कायम रहेपछि यो चर्चा भइरहेको हो  ।
डिभिजन फोरको विजेता बन्नु र डिभिजन थ्रीमा उक्लनु एउटा पाटो रहयो तर त्यो जत्तिकै बलियो अर्को पाटो नेपाली टोलीको प्रदर्शन पनि रहयो । परम्परागत रूपमा ब्याटिङमा देखिएको समस्या सुधार गर्दै नेपालले हरेक खेलमा उत्कृष्ट प्रदर्शन गर्‍यो र जितको हकदार पनि भयो । यसै चर्चाबीच यतिबेला नेपाल एसिसी ट्रफी एलिट कपको दैलोमा आइपुगेको छ । युएईमा आगामी बुधबारदेखि सुरु हुने उक्त प्रतियोगितामा सहभागी हुन नेपाली टोली आइतबार त्यसतर्फ प्रस्थान गर्दै छ ।
एउटा सफलताको चर्चा सेलाउन नपाउँदै हुन लागेको अर्को ठूलो प्रतियोगितामा नेपालबाट यतिबेला धेरै आशा गरिएको छ, त्यो हो– एसिसीका सिनियर प्रतियोगितामा उपाधिविहीन यात्रा अन्त्य गर्ने ।
सन् २०१० यताका वर्षमा नेपालले सिनियर क्रिकेटमा केही उचाइ लिएको थियो । दुई वर्षअघि एसिसी ट्रफीकै फाइनलमा पुगेको नेपाल आठ वर्षपछि एसिसीको मेजर टुर्नामेन्टमा उपविजेता भयो । त्यसअघि, सन् २००२ मा पनि नेपाली टोली यही प्रतियोगिताको फाइनलमा पुगेको थियो । सन् ०१० मा नेपालमै भएको आइसिसी डिभिजन फाइभमा नेपालले उपाधि मात्र जितेन, अघिल्लो डिभिजन यात्रा पनि तय गर्‍यो । सन् २०११ मा नेपाल पहिलोपटक एसिसी टि–ट्वान्टी प्रतियोगितामा सेमिफाइनलसम्म पुग्यो । यसले नेपालले आइसिसी टि–ट्वान्टी विश्वकपको विश्वस्तरको छनोटमा स्थान पनि बनायो । १६ टिम सहभागी त्यस प्रतियोगितामा नेपाल सातौँ भयो । यसपछि भर्खरै मलेसियामा सम्पन्न डिभिजन फोरमा नेपालले सानदार प्रदर्शनसहित सबै खेलमा जित हात पार्दै उपाधिसमेत जितेर डिभिजन थ्रीको यात्रा तय गर्‍यो । यस क्रममा डेनमार्क, अमेरिकालगायत तुलानात्मक रूपमा बलिया मानिएका टोली नेपालसामु निरास बने ।
‘लगातारको राम्रो प्रदर्शनले नेपाली टोलीको आत्मविश्वास बढेको छ,’ नेपाली टोलीका प्रशिक्षक पुबुदु दसानायके भन्छन् । हुन त नेपाललाई यो प्रतियोगिता डिभिजन फोरभन्दा निकै कठिन हुनेछ । अफगानिस्तान, युएई, हङकङलगायत डिभिजन लिगमा नेपालभन्दा अगाडि रहेका टोलीले यस प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । युएई र हङकङलाई नेपालले समूह चरणमै भेट्ने छ । यसकारण समूहचरण पार गर्नु नै नेपालका लागि कठिन देखिन्छ ।
‘हामी राम्रो लयमा छौँ । त्यसकारण हामीलाई राम्रो अवसर छ, प्रतिद्वन्द्वी कठिन भए पनि,’ दसानायके अगाडि थप्छन्, ‘निश्चय पनि डिभिजन फोरजस्तो सजिलो त हुँदैन तर त्यहाँजस्तै वा त्योभन्दा राम्रो प्रदर्शन गर्न सके नेपालले उपाधि पनि जित्न सक्छ ।’ नेपालले एसिसी ट्रफी एलिट कपको पछिल्लो संस्करणमा फाइनल यात्रा तय गरेको थियो । त्योबेला अफगानिस्तानविरुद्ध फाइनलमा भिडेको नेपाल खराब ब्याटिङका कारण पराजित भएको थियो । अफगानिस्तानभन्दा पहिले नेपाललाई यस प्रतियोगितामा युएईले पटकपटक सफलताबाट टाढा पुर्‍याएको छ । लगातार दुई संस्करणमा समूह चरणबाटै बाहिरिए पनि सन् २००० को संस्करणमा सेमिफाइनल पुगेर हौसिएको नेपाल सन् २००२ को संस्करणमा फाइनल पुगे पनि उपाधि भिडन्तमा युएईसँग पराजित भएको थियो ।
विगतमा युएईविरुद्ध प्राय: पराजित हुने गरे पनि हङकङ र ओमानसँग भने नेपालले पछिल्ला भिडन्तमा नतिजा आफ्नो पक्षमा ल्याइरहेको छ । ‘हामीले आफूमा जे छ त्यो देखाउन सक्यौँ भने अवश्य पनि उपाधि जित्न सक्छौँ,’ राष्ट्रिय टिमका सदस्य तथा पूर्वकप्तान विनोद दास भन्छन् । युएई र हङकङ सन् २००६ र २००८ को संस्करणका फाइनलिस्ट हुन् ।
सन् २००६ मा युएईले फाइनलमा हङकङलाई हरायो भने २००८ मा हङकङले युएईलाई । यी दुवै संस्करणमा सेमिफाइनल पुगेको नेपाल फाइनल प्रवेशको भिडन्तमा युएईसँग पराजित भएको थियो । पछिल्ला तीन संस्करणमा हङकङलाई समूह चरणमै भेटेको नेपालले ती सबैमा पराजित गरेको छ । ‘खेलाडीहरू जिम्मेवारी बोध गरेर खेल्न थालेका छन् । जे सिकाएको छ, त्यसलाई लागू गरेर देखाउन थालेका छन् । यो निकै राम्रो कुरा हो,’ पछिल्लो समय नेपाली टिमले पाएको सफलताको कारण खोल्दै दसानायके भन्छन् ।
यता, पूर्वकप्तान दास नेपालले नतिजामा भन्दा प्रदर्शनमा बढी जोड दिनुपर्ने बताउँछन् । ‘पछिल्लो समय हामीले राम्रो प्रदर्शन गरिरहेका छौँ र यसबाट राम्रो नतिजा पनि निस्किरहेको छ । यसलाई निरन्तरता दिन सक्नुपर्छ,’ दास अगाडि थप्छन्, ‘राम्रो प्रदर्शनसहित जित निस्किरहेको अवस्थामा हामीले फेरि राम्रो प्रदर्शन गरेनौँ भने हामी निकै पछि पर्छौं ।’
यतिबेला प्रारम्भिक ब्याट्सम्यान तथा विकेटकिपर सुभास खकुरेल, अनिल मण्डल, ज्ञानेन्द्र मल्ल, पारस खड्का, प्रदीप ऐरीलगायत प्राय: ब्याट्सम्यानले राम्रो प्रदर्शन गरिरहेका छन् । स्पिनरद्वय वसन्त रेग्मी र शक्ति गौचनले बलिङतर्फ जादुमय प्रदर्शन गरिरहेका छन् ।
नेपालले सन् २०१३ मा डिभिजन थ्री खेल्ने भएकाले यसअघि बलिया टोली सम्मिलित एसिसी ट्रफी नेपालका लागि आफूलाई जाँच गर्ने अवसरका रूपमा रहेको छ । ‘यसबाट हाम्रो स्तर थाहा पाउन सकिन्छ । अनि, हामीले सुधारका लागि थप मौका पाउनेछौँ,’ दसानायके भन्छन् ।

‘नेपाल एमच्योर स्टेजमै छ’

पुबुदु दसानायकेले नेपाली क्रिकेट प्रशिक्षण सुरु गरेको सोमबार एक वर्ष पूरा हुँदै छ । सन् २०११ अक्टोबरदेखि क्यानाडाका पूर्वप्रशिक्षक दसानायकेले नेपाली पुरुष क्रिकेट टिममा प्रशिक्षण दिन थालेका हुन् । यसबीचमा उनले युुु–१९, यु–२५ र सिनियर राष्ट्रिय क्रिकेट टिम सम्हाले । यसै सन्दर्भमा दसानायकेले सौर्यसँग कुरा गर्दै मुलुकमा उपलब्ध स्रोत–साधनअनुसार आफ्नो लक्ष्य पूरा भएको बताए । ‘हामीसँग जे–जति उपलब्ध छ, त्यसका आधारमा हामीले लक्ष्य हासिल गर्‍यौँ,’ दसानायकेले भने । उनले नेपाली टिमले राम्रो गर्ने प्रयास गरिरहेको बताए । ‘हामी अझै एमेच्योर नै छौँ । धेरै कुरा सिक्न र गर्न बाँकी छ,’ उनले भने ।
दसानायकेले खेलाडीहरू प्रतिभावान् भए पनि स्रोतसाधन पर्याप्त नभएको बताए । ‘हाम्रो सिस्टम नै प्रोफेसनल छैन । म नेपाली टिम हेर्न आएलगत्तै खेलाडीमा क्षमता भएको पहिचान गरेको थिएँ तर उनीहरूलाई बनाउने उपयुक्त वातावरण छैन ।’ राम्रो स्टयान्डर्डमा खेलेपछि मात्र अन्तर्राष्ट्रिय स्तरमा माथि आउन सक्ने बताउँदै उनले नेपाली क्रिकेटको विकासका लागि राम्रा योजना ल्याइनुपर्ने बताए । ‘हाम्रो लक्ष्य प्रस्ट हुनुपर्छ र त्यसअनुसारका योजना बनाइनु पर्छ । भद्रगोल पाराले क्रिकेटको विकास हुन्न । कुनै प्रतियोगिता हाम्रो लक्ष्य हो भने पाँच/छ महिनाअघि नै खेलाडी छनोट गरिसक्नुपर्छ ।’ नेपालमा क्रिकेट संस्कार विकसित भइनसकेको उनले बताए । यद्यपि, आफू आएयता खेलाडीहरूमा ‘सिरियसनेस’ बढेको उनको दाबी छ । ‘आजका सिनियर खेलाडी आउने पुस्ताका लागि रोल मोडल बन्न सक्नुपर्छ । सिनियरले जे गर्‍यो, त्यो आउने पुस्ताका लागि अनुकरणीय हुनुपर्छ । तर, अहिले नेपालको परिवेशमा म यस विषयमा शतप्रतिशत विश्वस्त छैन,’ उनले क्रिकेटको विकासका लागि विद्यमान नेपाली क्रिकेटको संरचना परिवर्तन गरिनुपर्ने पनि बताए ।
‘यसबीचमा मैले नेपाली क्रिकेटको विकासमा समय दिन सकिनँ । साँच्चै भन्ने हो भने १५/२० जना खेलाडीलाई हेर्दाहेर्दै मेरो समय बित्यो । तर, यतिले क्रिकेट विकास हुन्न । क्रिकेट विकासका लागि संरचना बलियो हुनुपर्छ,’ उनको भनाइ छ । खेलाडीलाई अन्तर्राष्ट्रिय प्रशिक्षण र बढीभन्दा बढी अन्तर्राष्ट्रिय एक्सपोजर दिइनुपर्ने उनको भनाइ छ । श्रीलंकाली रोय लुक डायसले करिब एक दशकको नेपाल बसाइपछि सन् २०१० को सेप्टेम्बरमा सम्झौता नवीकरण नगरेपछि विदेशी प्रशिक्षकका रूपमा उनकै देशवासी दसानायकेलाई नेपाल भित्र्याइएको थियो ।

 

प्रतिक्रिया