अष्टावक्र भन्छन्– जनक तिमी कुशल योद्धा भए पनि बेकम्मा राजा हौ । यसर्थ, बेकम्मा राजा हौ कि तिमीमा त्यो चेतना आएको छैन, त्यो उच्चकोटीको ज्ञान प्राप्त भएको छैन । यसैले तिम्रो जीवनमा वितृष्णा रह्यो– छोरा भएन भन्ने । यही वितृष्णाले तिमी कुण्ठित भयौ । त्यही कुण्ठाको कारण तिमी अरू कसैलाई पीडित गरेर आफू खुब खुसी हुन्छौ । जब, तिम्रो शब्दले अरू कोही पीडित हुन्छ त्यतिबेला तिम्रो मनमा प्रसन्नता हुन्छ, मैले यसलाई पीडा दिएँ । त्यो पीडा स्वयं तिमी आपैँmको पीडा हो । तिम्रो जीवनमा कमी थियो, न्यूनता थियो त्यही न्यूनतालाई हटाउन अर्कै सहारा लियौ । उनले थपे– यसर्थ जनक तिमी महान कहलाउन सक्दैनौ । यसकारण पनि तिमी महान् कहलाउन सक्दैनौ कि तिमी राजा हौ । तिमी त्यतिबेला मात्र महान् कहलाउने छौ जब तिमी सही अर्थमा शिष्य बन्नेछौ । तिमीले यथार्थमा जीवनको उद्देश्य शिष्य बन्नु हो, महान बन्नु हो, उच्चकोटीको बन्नु भन्ने बुझ्नुपर्छ । यसका लागि तिमीले आफ्नो आत्मा, चित्त र मनलाई पूरा परिवर्तन, गर्नुपर्ने छ । भित्रैबाट परिवर्तन नभएसम्म पोसाक लगाएर मात्रै परिवर्तन हुन सक्दैन । तिमी भित्रैबाट यसकारण परिवर्तन भइरहेका छैनौ कि तिमीभित्र गर्व छ । यी दुवै चिजले तिमीलाई तल गिराइरहेको छ । तिमीले चाहे ऋषिहरूको सत्संग गरेकै किन नहोस् तिम्रो साथमा बीसहजार शिष्य, ऋषि, गुरु बसेका किन नहुन्, तिमीले तिनीहरूसँग सत्संग गरेर केही हुन सक्दैन । किनकि प्रवचनबाट तिमीलाई केही हुँदैन । जबसम्म तिमीले अफ्नो आत्माबाट यी दुवै कुरा निकाल्दैनौ तबसम्म केही हुँदैन । यसलाई निकाल्नका लागि म यस्तै रहने हो या केही बन्ने हो भनेर तिमीले चिन्तन गर्नैपर्छ । जीवन श्रेष्ठ होस्, अद्वितीय होस्– त्यस्तो जीवन परिवर्तनका लागि तिमीले कुण्ठा तनाव र अरू न्यूनता जे छन्, पूर्णरूपले ती सबलाई निकाल्नैपर्छ ।
अष्टावक्र भन्छन्– जनक तिमी गुरुसित जोडिन सक्दैनौ किनभने तिम्रो जीवनमा गुरु नै छैनन् । तिम्रो तनखा लिने साधु, सन्यासी, ऋषिहरू छन् । जो तनखा लिएर जीवनयापन गर्छ त्यो ब्राह्मण हो । जो तनखा लिएर काम गर्छ त्यो नोकर हो । ऊ शिष्य हुन सक्दैन । त्यो कसरी शिष्य हुन सक्छ जसलाई पैसा दिन्छौ, तलब दिन्छौ, खान दिन्छौ गुणगान गराउँछौ । तिम्रो अहित गर्यो भने उसलाई हटाइदिन्छौ । त्यसैले, गुरु धारण गर अनि तिमीमा जुन कुण्ठा छ, अहं छ, त्यसलाई समाप्त गर । जुन दिन यो काम गर्नेछौ त्यसै दिनदेखि सही अर्थमा तिमी शिष्य बन्नेछौ ।
यो राजपाठ त तिम्रोभन्दा रावणसँग कति ठूलो थियो कति । तिमीसित केही रानी छन्, कृष्णसित झन् १६ हजार रानी थिए । तिमी यी सब चिजका लागि गर्व गरिरहेका छौ । रावणसँग हीरामोतीको भण्डार थियो । सुनको लंका थियो– ईंटा, ढुंगा सब सुनको, पूरा लंका सुनको । म तिम्रो गुरु बन्न पनि चाहन्नँ । म यो सभामा तिम्रो आँखा खोल्न मात्र आएको हुँ । तिमी चमार हौ, तिमी छाला देखेर हाँसेका थियौ । किनभने मेरो शरीर आठ ठाउँमा बांगो छ । मेरो छाला टेडोमेडो छ । तर, म टेडो छैन, मेरो ज्ञान टेडोमेडो छैन ।
अनुवाद : शिव ढकाल
मन्त्र–तन्त्र–यन्त्र विज्ञान पत्रिकाबाट
प्रतिक्रिया