बिपीको त्यो सलाई

सन् २००८ को नोभम्बरमा म अमेरिकाको क्यालिफोर्नियाबाट एरिजोनाको यात्रामा निस्कँदा कोलाराडोको डेनवर एयरपोर्टमा एकजना क्यानेडियन रेडियोकर्मीसँग परिचय भयो । संयोगले उनी पनि एरिजोना जाँदै थिइन् । म नेपालको रेडियोकर्मी भएको कुरा गरेपछि उनी मसँग अझ बढी कुरा गर्न तम्सिइन् । करिब पैँतालीस मिनेटपछि हामी त्यहाँबाट उड्यौँ । त्यो यात्रामा उनले मलाई अमेरिकासँग जोडिएको सिमानाको कारण क्यानाडाली रेडियोहरूले भोगेको इतिहास सुनाएपछि मलाई भारतसँग जोडिएको हाम्रो देशको सिमानाको याद आयो । यो यात्रामा उनले जसरी क्यानाडाको रेडियोको इतिहास भनिन्, त्यसरी मैले मेरो देशको रेडियोको इतिहास भन्न सकिनँ । र, त्यो कुरा मेरो मनमा पछिसम्म खड्किरह्यो । सन् २००९ को मध्यतिर म नेपाल फर्केपछि एउटा गहिरो अध्ययनमा जुटँे । त्रिभुवन विश्वविद्यालयको पुस्तकालय र केशरमहलको पुस्तकालयसम्म म जागिरे जस्तै हुन थालँे । नेपालबाहिर रहँदा पनि म यो काममा जुटिरहेँ ।
नेपालमा पहिलोपटक रेडियो सेट कहिले भित्रियो होला ? म यस विषयका लागि राणाकालीन इतिहास पढ्न थालेँ । त्यतिले नपुगेर सम्भावित क्षेत्रका विज्ञ र बूढापाकालाई भेट्न थालेँ । त्यसमा मलाई साथ दिनुभयो इतिहासकार पुरुषोत्तमशमशेर जबराले र म श्री ३ चन्द्रशमशेरको शासनकालसम्म पुग्दा नेपाली प्रथम आधुनिक गायिका मेलवादेवी मेरो आँखा अगाडि छर्लंग उदाइन् । तर, उनका बारेमा मान्छेपिच्छे लेखिएका फरक–फरक कुराहरूले मलाई अगाडि बढ्न गाह्रो बनायो । किनकि मेरो लेखनयात्रा अत्यन्तै कठिन थियो । तर मैले रेडियोकर्मीको नाताले ०५३ सालमा संगीत प्रवीण नरराज ढकालसँग गरेको कुराकानी सम्झेँ । मेलवादेवी उनलाई संगीत सिकाउने गुरुआमा थिइन् । उनी १३ वर्षको हुँदा मेलवादेवीसँग संगीत सिक्न गएका थिए । यो कुरा उनले तात्कालीन नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानबाट प्रकाशित एउटा पुस्तकमा छापिएको उनको अन्तरवार्तामा समेत उल्लेख गरेका छन् । त्यो अन्तरवार्ता मेरो लेखनका लागि बलियो प्रमाण बन्यो । संगीतप्रवीण नरराज ढकालको जन्ममिति र उनले अन्तर्वार्तामा उल्लेख गरेअनुसार मेलवादेवी वि.सं. १९९१–९२ को बीचमा कलकत्ता पुगेको बलियो आधार फेला पर्‍यो । त्यस घटनासँगै सहिद शुक्रराज शास्त्रीसँगको उनको चिनाजानी र आत्मीयताको पाटो पनि अत्यन्तै रोचक लाग्यो मलाई । सहिद शुक्रराज शास्त्रीको गीत मेलवादेवीले गाउनु, उनको भरोसामा मेलवादेवी कलकत्ता पलायन हुनु, राणाहरूले सहिद शुक्रराज शास्त्रीलाई फाँसी दिएपछि उनको मनमा निराशाले जरा गाड्नुजस्ता कुराहरू इतिहासको गर्भमा लुकेर बसेका रहेछन् । र, त्यससँगै जोडिएको मेलवादेवीको जीवनका पीडा, कुण्ठा, संघर्ष र केही सफलतासँगै उनको कारुणिक मृत्युले मेरो मन छोयो । त्यसपछिको लामो समयको अध्ययन र अनुसन्धानपछि मैले उनको कुरालाई ‘फिक्सन’मा उतारेँ र आफैँ पढेर दंग परेँ । लाग्यो, ‘मिहिनतको फल मिठो हुँदो रहेछ ।’
वि.सं. १९९७ सालमा चारजना सहिद, दशरथ चन्द, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठलाई राणाले फाँसी दिएपछि अर्को दिन फाँसीमा झुन्डिने पालो रहेछ नासु पूर्णनारायण प्रधानको । इतिहासमा उनी श्री ३ पद्मशमशेरका मानिस थिए भन्ने कुरा उल्लेख भए पनि घरमा रेडियो राखेका कारण उनी फाँसीमा झुन्डिन आँटेका रहेछन् । यो कुरा प्रोफेसर जेम्स फिसरको किताबमा टंकप्रसाद आचार्यले भनेका रहेछन् । मैले त्यस घटनालाई ‘फिक्सन’ गरेँ । यो पनि अत्यन्तै रोचक विषय थियो मेरा लागि ।
वि.सं. २००७ को क्रान्तिताका रेडियोको प्रयोग कसरी भएको थियो भन्ने तथ्य मेरो अर्को महत्त्वपूर्ण विषय थियो । श्री ३ पद्मशमशेरको पालामा भित्रिएको आकाशवाणी सेट (रेडियो स्टेसन) पछि श्री ३ मोहनशमशेरले देखाएको रेडियोप्रतिको उत्सुकताले यसको विकासक्रमलाई माथि उठाएको इतिहासमा पाइन्छ । तर, २००७ को क्रान्तिमा राजा त्रिभुवन भागेर भारतीय दूतावास पुगेको कुरा राणा इन्दु शमशेरले आफ्नो दरबारको रेडियो सेटमा सुनेर बबरशमशेरलाई भेट्न बबरमहलतिर दौडेको रोचक प्रसंग इतिहासमा भेटपछि मलाई थप हौसला मिल्यो । भारतीय रेडियो सञ्चालकले नेहरूसँग गरेको कुराकानी थियो त्यो । वि.सं. २००७ सालमा प्रधानमन्त्री बन्न नसकेर गृहमन्त्री बनेको बिपीले राणाहरूबाट लुटेर लगेको रेडियो स्टेसन जो विराटनगरबाट सञ्चालन हुन्थ्यो । त्यसलाई सिंहदरबारभित्र ल्याउने निर्देशन दिएको कुरा मेरा लागि अर्को रोचक विषय बन्यो । लामो समयको अध्ययन र अनुसन्धानपछि मैले त्यो विषयलाई ‘फिक्सन’ बनाएँ, जसमा नायक बने बिपी कोइराला । र, उनले चुरोट पिउँदा प्रयोग गर्ने सलाईलाई मैले काल्पनिक नाम दिएर त्यो सलाईको नाम राखिदिए, ‘रेडियो छाप सलाई †’ पछि उपन्यासभित्र देखापर्ने मदन भण्डारीजस्ता ऐतिहासिक पात्रहरूले समेत त्यही रेडियो छाप सलाई प्रयोग गर्न थाले । उपन्यासको अन्त्यसम्म प्रयोग भइरहने त्यही सलाईको नाम राखेर मैले उपन्यासको नामकरण गरेँ ।
वि.सं. १९८९ सालमा मुख्तियार रुन्द्रशमशेर जबराको दरबार (हालको निर्वाचन आयोग) मा बिग्रिएको रेडियोको प्रसंगलाई उठाउँदै मैले उपन्यास लेख्दै जाँदा थाहा पाएँ त्यतिबेला किलवोर्न नाम गरेका एकजना ब्रिटिस नागरिक रहेछन् । राणाहरूले आफ्नो दरबारमा बिजुली बाल्नका लागि टँुडिखेलमा रहेको (हालको विद्युत् प्राधिकरण) बिजुली अड्डामा काम गराउन बेलायतबाट ल्याइएका उनी त्रिपुरेश्वरको गेस्ट हाउसमा बस्दा रहेछन् । उनी कसरी राणाहरूको दरबारमा रेडियो बनाउन जान्थे भन्ने कुरा पनि अत्यन्तै रोचक रहेछ । जो इतिहासको गर्भमा अझै पनि लुकेर बसेको छ ।
यी भए इतिहासका कुरा । अब मलाई पात्र चयनमा समस्या भयो । तर, धेरै चिन्तन र मनन गरेपछि मैले ‘जनयुद्ध’का बेला माओवादी पार्टीले सञ्चालन गरेको रेडियोमा काम गर्ने एकजना रेडियोकर्मीलाई चयन गरेँ । उनलाई पछ्याउन थालेँ । उनको जीवनको संघर्ष र त्याग अत्यन्तै सान्दर्भिक लाग्यो मलाई । भूमिगतकालमा भूमिगत अवस्थामै रेडियो सञ्चालन गर्दा गर्दै उनी आमा बनेका कथा हरेक मान्छेका लागि एउटा नयाँ खबर थियो । त्यसैले एउटा सजीव पात्रका रूपमा मैले उनलाई उपन्यासमा प्रस्तुत गरेँ । उपन्यासभित्र उनका विगतलाई मैले जस्ताको तस्तै राखेको छु । अब उनको समानान्तर पात्रको आवश्यकता भयो, मलाई र मैले राजनीतिकरूपमा विगतमा ठूलो संघर्ष गर्दै संसद्सम्म पुगेकी सभासद् शान्ता चौधरीलाई रोजेँ । किनकि यी दुवै नारी पात्र हुन् । यी दुवै सजीव पात्रहरूले मेरो उपन्यासमा ऊर्जा बनेर मलाई लेख्ने हौसला प्रदान गरिरहे । त्यसपछि काठमाडौंका पूर्वमेयर पनि मेरा प्रिय सजीव पात्र हुन् । सरकारी निकायमा रहेर पनि विद्रेही पक्षलाई रेडियो स्टेसन ल्याइदिन सहयोग गर्न यिनलाई तात्कालीन शाही सेनाले मार्ने योजना बनाएपछि यिनी डरले नेपालबाहिर बस्नुपरेको सन्दर्भ रोचक र अनौठो छ । र, यिनले कम्फुड्रेस लगाएर सञ्चार सचिवको कोठामा पुगेको कुरा पनि मेरा लागि चाखलाग्दो विषय थियो ।
उपन्यासमा महत्त्वपूर्ण अर्को पात्र छ–भूषण । ऊ काल्पनिक पात्र हो । ‘असमानतामा बाँचेकाहरू समानताका लागि क्रान्ति गर्छन् र समानतामा बाँचेकाहरू श्रेष्ठ र उत्तम बन्नका लागि क्रान्ति गर्छन्’ भन्ने प्लेटोको भनाइ उसको आदर्श हो । रेडियोकर्मी हुँदै छापा पत्रकारितामा पुगेको ऊ जसरी भए पनि श्रेष्ठ बन्नुपर्छ भन्ने उद्देश्यमा हिँडिरहन्छ । उच्च शिक्षा हासिल गरेको ऊ अत्यन्तै कुटिल पात्र हो । सरकारी जासुस बनेको उसले द्वन्द्वकालमा धेरैलाई मार्न लगाएको सन्दर्भलाई मैले उल्लेख गरेको छु । र आफ्नै बाबुलाई विद्रोहीले मार्दासमेत विचलित नहुने ऊ आलिसानपूर्ण जिन्दगी बाँच्न चाहने एउटा, महत्त्वाकांक्षी पात्र हो । उसलाई मैले उपन्यासभरि बोकेर हिँडिरहेँ ।
उपन्यास लेख्दा मदन भण्डारीको पोखराबाट दासढुंगा आउँदाको वार्तालाप र संगीतकार प्रवीण गुरुङको हत्याको थप रहस्यको कुरा ‘फिक्सन’ मा उतार्दाका क्षण मेरा लागि अविस्मरणीय बनेका छन् ।
करिब साढे तीन वर्षको निरन्तर अध्ययनले जन्माएको यो उपन्यास लेख्न मलाई प्रोत्साहन गर्ने ती क्यानेडियन रेडियोकर्मीलाई यसको अंग्रेजी संस्करण कहिले पठाउन सकिएला हँ ? म अचेल यही सोच्न थालेको छु ।

प्रतिक्रिया