खोजखबर

सहर : उत्पादन र पुनरुत्पादनको चक्र

सौर्य अनलाइन २०६९ असोज १३ गते १:४९ मा प्रकाशित

अहिले नेपाली समाज उत्पादन, पुनरुत्पादनको लामो चक्रमा घुमिरहेको छ । मान्छेले गर्ने प्रेममा पनि उपयोगिता ह्रासको नियम लागू हुँदै छ । अर्थशास्त्रको नियम भन्छ– उपयोगको अधिकतासँगै कुनै पनि वस्तुप्रतिको उपयोगिता (अनुराग) क्रमश: ह्रास हुँदै जान्छ । अर्थात्, भोको मान्छेलाई पहिलो गाँस जति स्वादिलो लाग्छ, पछिल्ला गाँसहरूमा त्यो स्वाद कम हुँदै जान्छ । यद्यपि, गाँजा, भाङ वा रक्सी खाएको अवस्थाचाहिँ यो नियमको अपवाद मात्र हो । प्रेम र विवाहका मामिलामा पनि यस्तै हो । सुरुका वर्षमा प्रणय–जोडी जति खुसी, आनन्दित र रोमान्टिक हुन्छन्, पछिल्ला वर्षमा उनीहरूको प्रेम, खुसी, आनन्द र रोमान्स घट्दै जान्छ । त्यसैले उपयोगिता ह्रासको नियम लागू हुँदै छ प्रेममा । युवकहरू प्रेमिका फेरेपिच्छे युवतीलाई एउटै कुरा भनिरहेका हुन्छन्– इज द्याट दाई फेस फर हुम थाउजेन्ड्स अफ सिप्स वेर ड्राउन्ड (त्यो तिम्रै अनुहार हो त, जसका लागि हजारौँ जहाज डुबेका थिए) ? यसपटकको लोकेसनमा मान्छे–मान्छे सम्बन्धमा अर्थशास्त्रको नियम पछ्याउने नेपाली समाज, जुन उत्पादन–पुनरुत्पादनको लामो चक्रमा मात्रै विश्वास गर्छ ।
जीवनमा प्रेम, भावना र सम्बन्धहरू नहुँदा हुन् त सायद मान्छे ढुंगोजस्तो मात्र हुन्थ्यो । स्वेच्छाले चलमलाउन सक्ने ढुंगो । उसका आँखाबाट हृदय निचोरिएर आउने आँसु होइन, जीवत्वहीन विनाशक तेजाब मात्र उर्लन्थ्यो होला । त्यो भावना नै हो, जसले मान्छेलाई यान्त्रिक हुनबाट जोगाउँछ, दायाँबायाँका अनुभूतिहरूमा डुलाउँछ । त्यो प्रेम नै हो, जसले त्याग, समर्पण र अनुराग बुझाउँछ । अनि, त्यो भावनात्मक सम्बन्धकै कारणले हो, मान्छेले अनेक तरहका विकास गर्छ । मान्छेले मान्छेकै लागि प्रगति गर्छ ।
प्रगतिको यही रÏतारका कारण दुनियाँले हामीलाई सबै सुविधा दिएको छ । तर, अपसोच, यी सुविधाबीच भावनात्मक पक्ष कमजोर हुँदै जाँदै छ । मान्छे यान्त्रिकतामा कैद छ । मान्छे हृदयभन्दा बढी दिमागबाट परिचालित हुँदै छ । यान्त्रिकताभित्रको यो भागदौडमा सम्बन्धहरूभित्रको भावनात्मक पक्ष हलुको देखिन थालेको छ । हिजोको संयुक्त परिवारभित्रका मर्महरू अब कहानीमा सीमित हुँदै छन् । पति–पत्नी, माता–पिता, छोराछोरी, बुहारी सबै एउटै भावनाको सूत्रमा बाँधिएर बस्ने पारिवारिक संरचना खण्डित हुँदो छ । मान्छे मातापितालाई छोडेर केवल द्वि–सदस्यीय परिवार बनाउन कसरत गरिरहन्छ ।
देशैभरि सहरीकरण बढ्दो छ । पछिल्ला बीस वर्षमै बहुत बदलाव देख्न पाइयो सहरी मान्छेको शैलीमा । जागिरको नयाँ–नयाँ मौका मिलेको छ । आधुनिकताको होडमा महिला पनि पुरुषका साथ काँधमा काँध मिलाएर हिँड्न थालेका छन् । यस्तोमा परिवारको ढाँचा फेरिनु सहरमा नयाँ खबर होइन । नयाँ पिँढी पुरानोको तुलनामा निकै अर्थवादी छ । सँगसँगै मौलिकता पूरै बिर्सिएर ‘ट्यापे संस्कृति’ हुर्काउँदै छ । कुनै बेला हिप्पीले आवाद गरेको यो काठमान्डू नगरीमा अहिले अध्ययन र जिम्मेवारीबोध नभएको, मुन्द्रा लगाउँदै आमालाई कुट्ने, ‘स्ल्याङ वर्ड’ बोलिरहने, जाँचमा चिट चोर्न नपाएको झोँकमा गुरुलाई चड्काउने, खल्तीमा कन्डम हालेर पल्सर हाँक्दै कुनै अँध्यारो गल्लीमा स्खलित हुनेहरूको जमात हुर्कंदै छ । पुरानो पिँढीको संस्कार माटोमै मिलाएर स्याड मुडमा पूर्वगर्लफ्रेन्ड सम्भँmदै गाँजा वा चुरोटको धुवाँ उडाउँछ । यीमध्ये कतिचाहिँ रोड टु लोन्लिनेस (एक्लोपनतिरको बाटो) हिँड्ने निर्णय गर्छन् ।
तपाईं आजभन्दा एक दशक मात्रै अघिसम्म पनि गाउँसँग सम्बन्ध राख्नेमध्ये पर्नुहुन्छ भने मेला, हाट, रोधी र चिया–चौतारा साँच्चै देख्नुभएको होला । तर, सहरका बच्चाहरू त्यो संस्कृतिबाट कौसौँ टाढा छन् । त्यसो त हाट, रोधी वा दिवाली उनीहरू खास मान्दैनन्, कारण– सहरका चोकचोकमा यस्तै मेला दैनिक जो देख्छन् । तर, गाउँका हाट र रोधीले बोकेको भावना सहरका बिजनेस मल र डिस्कोसँग कहाँ छ ? यही भावना ह्रास हुँदै गएका कारण सहरी बुंगो आÏनो मौलिक संस्कारलाई लात हानिरहेको हुन्छ ।
पतिपत्नी, बाबुछोराको सम्बन्ध पहिलेजस्तो भावनात्मक छैन । सोच बदलिएको छ । पहिलेका पत्नीहरू घरभित्रै रहन्थे र श्रीमान्को सेवा गर्थे । अहिले पत्नीहरूको अपेक्षा पनि बदलिएको छ । पैसाको सुविधा र टेक्नोलोजीको क्रान्तिले मान्छेको जिन्दगी थुप्रै मानेमा व्यापक सजिलो भएको छ । यो पनि देख्न थालियो कि समाजमा सहनशक्ति पनि कम हुँदै छ, जसले पुरानो संस्कार, संस्कृतिमा ह्रास हुँदै छ । बच्चाहरूसमेत आवश्यकताभन्दा बढी स्वतन्त्रताको वकालत गर्न थालेका छन् । यतिसम्म कि अभिभावकको जायज बन्देज पनि उनीहरूलाई बोझ लाग्न थाल्छ । स्वतन्त्रता र स्वच्छन्दताको फरक मेटिइसकेको छ । कहिल्यै कुनै दु:ख नदेखेका या अल्झन नभोगेका यी सहरी बच्चा सम्बन्धमा पनि कच्चा सावित हुँदै छन् । यसले पारिवारिक तानाबानालाई छिन्नभिन्न बनाउँछ ।
०००
प्रसिद्ध साहित्यकार गाब्रियल गार्सिया मार्खेजले ‘द क्रोनिकल अफ डेथ फोरटोल्ड’ (मृत्यु आख्यानको क्रमणिका) उपन्यासमा मानवद्वेषी र निरुपाय भइसकेको समाजको कुरा गरेका छन् । स्यान्टियागोको हत्या गर्ने भिसारियो दाजुभाइ पेसेबर हत्यारा थिएनन् । कुनै एकजना धनी मान्छेले सारा सहरलाई रक्सीसहितको भोज खुवाएर भिसारियोकी बहिनीसँग बिहे गर्‍यो । तर, ‘तिमी कुमारी होइनौ’ भन्दै विवाहकै रात युवतीलाई फर्कायो । बहिनीको आँसु देख्न नसकेर रक्सीको मातमा डुबेका भिसारियोले सारा समाजसामु स्यान्टियागोलाई मार्ने घोषणा गरे । तर, यो शाब्दिक घोषणा मात्र थियो । पछि उनीहरूले सोचे– कसैले हामीलाई उसलाई मार्नबाट रोक्न खोज्यो भने हामी हत्याको घोषणालाई फिर्ता लिन्छौँ । तर, अचम्म र विडम्बना, उनीहरूलाई कसैले पनि रोकेन । र, अन्तत : स्यान्टियागो मारियो । एउटा मानिस मारिँदा सबै सहर तटस्थ, शिथिल र कमजोर भएको कथा हो यो । मार्खेजले एउटा खिइँदै र ध्वस्त हुँदै गएको दर्दनाक सहरको चित्रण गरेका छन्, जहाँ नैतिकता र मानवीय मूल्य हरेक कोणबाट धुलोपिठो भएका छन् । यति ठूलो हत्याकाण्ड रचिँदा पनि सहरका सबै मान्छे, धार्मिक संस्था, प्रशासन, नगरपालिका रमिते मात्र बन्छन् ।
अहिले हाम्रै सहर र समाज पनि यस्तै रूप र अन्तर्वस्तुमा घुलित भएको छ । नेपाली समाजमा भइरहेको उत्पादन, पुनरुत्पादनको घुमाइले यिनै कुरा संकेत गर्छन् । यहाँ संस्कार र संस्कृति समयको गहिरो खाल्डोमा पुरिएका छन् ।
०००
मेरो जीवनमा बिर्सिनसक्नुका अनुभव साह्रै थोरै छन् । यिनैमध्येको एक दिनले मलाई सधैँ Ïल्यासब्याकमा पुर्‍याउँछ । त्यो घटनाले गाउँ र त्यहाँका मान्छेको असल संस्कार, संस्कृति, सौम्य र दयालु प्रवृत्ति सम्झाउँछ । मानवीय संवेदना ह्रास हुँदै गएको सहरका मान्छेलाई यो कुनै किंवदन्तीभँैm लाग्ला ।
तीन वर्षअगाडि अक्टोबर महिनाको एउटा धुम्म परेको दिन । साथीहरू र म काभ्रेको तिमालदेखि माथिको पहाड, चट्टानको खोँचैखोँचको बाटो (भोज्र्याङ) तिर यात्रा गर्दै थियौँ । उकालो लागेको तीन घन्टा हिँडिसक्दा पनि भोज्र्याङ आइपुगेको थिएन । मध्यदिनको समय थियो । आकाशमा बिजुली चम्किन थाल्यो । हेर्दाहेर्दै वरिपरि साँच्चै अन्धकार व्याप्त भयो र सिमसिमेबाट सुरु भएको पानी एकैपटक मुसलधारे भएर बर्सियो । एकैछिन हामी एउटा ओढारमा ओत लाग्यौँ । त्यस ओढारमा भूत वा बोक्सीको बास छ भन्ने हल्ला नजिकका गाउँमा व्याप्त रहेछ । अहिले पनि रात गाढा परेपछि त्यहाँ एउटी सेतो कपडा लगाएकी महिलाले राँको सल्काउँछे रे । अनि, चर्को स्वरमा आफ्ना प्रेमी अनि छोराको नाम लिँदै रुन्छे रे । धेरै वर्षअघि नजिकको भिरबाट लडेर श्रीमान् र छोरोको मृत्यु भएपछि एउटी महिलाले त्यही ओढारमा आत्महत्या गरेकी रहिछन् । साथीको मुखबाट कुनै किंवदन्तीझैँ लाग्ने यो पुरातात्त्विक कहानी सुनेपछि मलाई आफैँले लगाएको ज्याकेटको सर्‍याकसुरुकले पनि तर्साउन थाल्यो । मुटु ढक्क फुल्न थाल्यो । के हामी त्यही भूतलाई प्रत्यक्ष भेट्दै छौँ ? कुनै अदृश्य डरले मैले त्यहाँबाट भिज्दै भए पनि उकालो लाग्ने र नजिकैको कुनै गाउँलेको घरमा ओत लाग्ने ढिपी गरेँ ।
केही माइल हिँडेपछि अलि अगाडि एउटा घर देख्यौँ । त्यो सानो थियो र त्यति बेला बढेर छङछङी बगिरहेको खोलोमाथि वारपार गरेर बनाइएको थियो । होचो दैलोबाट टाउको घुसार्‍यौँ र भित्र पस्यौँ । भित्तामा बल्लबल्ल अड्याइएको सानो खटप्वालबाट अलिकति उज्यालो पसेको थियो । चारैतिर काठका ससाना तखता, बीचमा एउटा ठूलो जाँतो, यो घट्ट रहेछ । त्यति सानो घट्टमा हामी सबै खाँदिँदा मकै वा गहुँ पिस्ने त्यो जाँतो र माथिपट्टिको सोलीचाहिँ नभिजोस् भन्नेमा सचेत थियौँ । बाहिरको आँधीबेहरी र झरी थामिने आशा राख्दै थकाइ मेट्दा एक घन्टा बित्यो । भुुइँबाट खोलो गर्जेको आवाज झनै चर्कोसँग आइरहेको थियो ।
अकस्मात्, ढोकाको फग्लेटोलाई टाउकाले ठेलेर एउटी केटी भित्र पसी । उसको पिठ्युँमा लुगाले मोरेको, हेर्दै गह्रुंगो देखिने कुनै थैलो थियो । थैलोलाई भुइँमा नबिसाएसम्म उसले हामीलाई देखिनँ । के अब उसले हामीलाई गाली गर्छे ? वा ऊ त्यही अघिको ओडारमा बस्ने भूत हो ? नत्र यस्तो सुनसान र अन्धकारमा पानीमा भिज्दै एउटी सुन्दर युवती यो अनकन्टारमा कसरी आइपुगी ? भारी बिसाउनेबित्तिकै हामीतिर हेरी । गालामा डिम्पल, गोरो अनुहार, निधारमा टीका, भिजेको कुर्तासुरुवाल लपक्कै जिउमा टाँस्सिएको । चुरा लगाएको हात निधारमा पुर्‍याउँदै भिजेको कपाल पुछ्ने त्यो केटी साँच्चै सुन्दर थिई । घट्टभरि पानीले लथ्रुक्कै भिजेर मुसाजस्तो भएका हामी चार लाठेलाई देख्नेबित्तिकै तर्सिन्छे कि भन्ने सोचेर म चिन्तित भएँ । तर, मेरो सोचाइ ठीक उल्टो भयो, ऊ त निकै मिठो गरी मुस्कुराई । आहा † यसरी मुस्कुराउँदा कति सुन्दर देखिएकी थिई, त्यो पहाडे केटी । मैले नमस्ते गरेँ । उसले खुरुक्क आफ्ना दुई हात जोडी र हामीतिर हेरेर मुस्कुराइरही । त्यसपछि ऊ फुत्त बाहिर निस्की र तल झरी । घट्ट घुम्न थाल्यो, ऊ फर्केर आई, फेरि मुस्कुराई र अघि ल्याएको बोराबाट सोलीमा खन्याएर मकै पिँध्न थाली । उसले एउटा प्लास्टिकभित्र पोको पारेर ल्याएको भुटेको मकै हाम्रा अघि राखिदिई । हामी मकै टोक्न थाल्यौँ ।
उसले काम सिध्याउनै लाग्दा एउटा फुच्चे केटो घट्टभित्र पस्यो र उसको पाखुरामा छोएजस्तो गर्‍यो । उसले त्यस केटीसित कुरा गर्दा हातले थुप्रै सान लगायो र मधुरो स्वरमा बोल्यो । त्यसपछि पो प्रस्ट भयो– ऊ त बोल्न नसक्ने (लाटी) पो रहिछ ।
बाहिर पानी रहेपछि हामी लस्करै ओह्रालो लाग्यौँ । ऊ उही मन्द मुस्कान लिएर हामीलाई बिदा गर्न उभिएकी थिई, जसरी लाहुरमा भर्ती हुन जाँदै गरेको छोरोलाई कुनै आमाले बिदाईको हात हल्लाउँछिन् । निकै तल पुगुन्जेल पनि मचाहिँ उसलाई फर्कीफर्की हेरिरहेको थिएँ । ऊ हात हल्लाइरहेकै थिई । मलाई त्यस रात निद्रा परेन । मात्र त्यही केटी मेरो मानसमा आउँदै/जाँदै गर्थी ।
वर्षहरू बित्दै छन्, म ऊ र उसका व्यवहार सम्झिरहन्छु । जन्मजात लाटी केटीलाई पनि त्यस्तो शिक्षा र संस्कार दिने परिवार र गुणबारे सोचिरहन्छु, जसकारण उसको स्वभाव यति सौम्य हुनसक्यो । सबैलाई माया गर्नु र मुस्कुराउँदै आफ्नो अवस्था स्विकार्नु उसको दिनचर्यामै थिए होलान् । उसले सिकेको असल संस्कृति सम्झिरहन्छु । त्यो सुन्दर, सौम्य अनि दयालु युवती मेरो मस्तिष्कबाट कहिल्यै हट्नेछैन । हो, सहरमा यिनै कुराको खोजी हुन्छ, जो पाउने मैले कल्पना पनि गर्न सक्दिनँ ।
उग्र महत्त्वाकांक्षा, निकृष्ट सोच, सामूहिकतामा कमी, एक्लो जिन्दगी, उपयोगवादी मानसिकता, तानाशाही व्यवहार अहिलेको नेपाली सहरी समाजको खास चित्र हो । माथिको घटनाले मलाई गाउँ बुझाएको छ र सहरी समाजबारे अझ गहिरोसँग बुझ्न प्रेरित गरेको छ । काठमान्डूमा नयाँ सम्पत्ति जम्मा भइरहेको छ अनि यसको भोगचलन चम्किलो, भद्दा, कृत्रिम र नक्कली छ । भित्री तबरमा प्राचीन सामन्त बाबुसाहेबजस्ता लाग्ने काठमान्डूका लाठसाहेबहरू चोरी र अवैध व्यापारबाट नयाँ धन जम्मा पार्छन् र आफ्नै छोराछोरीलाई संस्कार सिकाउन भुल्छन् । मैले माथि उल्लेख गरेजस्ता गाउँलेलाई गालीगलौजका कठोर र नराम्रा शब्द प्रयोग गर्छन् र गोरा लाठसाहेबहरूका छेउमा पुच्छर हल्लाउँछन् । उत्पादन र पुनरुत्पादनको चर्को घुमाइमा सहर युगौँयुगको यात्रा गर्न तम्सिरहेको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय