अर्को अमेरिका

पोहोरको हिउँदमा हिउँमा चिप्लिएर उसको कार एक्सिडेन्ट भएको थियो ।
ऊ दाहिने खुट्टो अलिअलि खोच्याएर हिँड्थ्यो ।
त्यसमाथि बुढ्यौलीले पनि छोएको थियो ।
म उसलाई बिहान–बिहानै एकतले पिरामिड आकारको सानो कटेजअगाडिको एक टुक्रो चउरमा देख्थेँ । धेरैजसो खैरो टोप लगाएको मोटो–मोटो बूढो सानोखाले हातेमेसिन गुडाएर तन्मयतासाथ घाँस काटिरहन्थ्यो । त्यसपछि पाइन ट्रिनिर
(त्यहाँ एकमात्र यही रूख देखिन्थ्यो) उभिएर बेस्सरी चुरोट तान्थ्यो । सायद यो उसको थकानपश्चात् सुस्ताउने आफ्नै शैली थियो ।
‘गुडमर्निङ सेवास्तियन ।’
‘गुडमर्निङ ।’
‘आज के प्रोग्राम छ ?’ म बरन्डाबाटै कराउँथेँ ।
‘केही छैन ।’
‘राति कार्लटन बारमा जाने होइन ?’
प्रत्युत्तरमा ऊ चुरोटको बाक्लो धुवाँ आकाशमा छाडेर थोरै हाँस्यो ।
सेवास्तियन फ्रेन्जेलसँग केही दिनअघि मात्र परिचय भएको थियो । म माइली छोरीको ग्रेजुएसन समारोहको युनिभर्सिटीले गरेको निम्तोमा संयुक्त राज्य अमेरिका पुगेको थिएँ । वास्तवमा मेरो उद्देश्य घुम्नु थियो । मेरिल्यान्ड, न्युयोर्क, सानफ्रान्सिस्को, सिकागो आदिको दुई महिनाको दौडधुप सकेर बसेको थिएँ । कुनै काम थिएन । त्यसैले आफू बसेको अपार्टमेन्टभन्दा केही परको गेलार्डस्ट्रिटको कम्युनिटी पार्कमा गएको थिएँ । त्यहीँ सेवास्तियन सानी नातिनीलाई खेलाउन आएको थियो ।
‘तपाईं १२ एभेन्यु नर्थ अपार्टमेन्टमा बस्नुहुन्छ, होइन ?’
एक गोरो अनुहारबाट एकाएक सोधिएको प्रश्नले म झस्किएको थिएँ ।
‘म तपाईंलाई बरन्डामा उभिएको बारम्बार देख्छु ।’
बूढो फरासिलो खालको थियो । जोसँग पनि कुराकानी गर्न आफँै अघि सथ्र्यो । त्यसो ता कुनै पनि अमेरिकी अन्य युरोपेली गोरा (खास गरेर ब्रिटिस) जातिको झैँ कन्जरभेटिभ हँुदैनन् । तर, एसियाली मूलका मानिस यिनीहरूका रोजाइमा हत्पत्ती पर्दैनथे । छालाको रंगको भेदभाव पूरै गइसकेको थिएन ।
‘तपाईंंलाई पनि मैले देखेको हँु,’ मैले भनेथँे ।
‘म तपाईंको अर्पाटमेन्टनजिकै बस्छु ।’
‘हो, मैले तपाईंलाई घाँस काटिरहेको देखेको हँु ।’
बूढो हलुकासँग हाँसेको थियो ।
त्यसैबखत उसकी सानी नातिनी रुन थाली । यताबाट उता फनफनी घुम्ने रंगीचंगी काठको घोडाबाट लडेकी थिई । बूढो सेवास्तियन लगभग दगुरेर त्यहाँ पुग्यो । र, रुँदै गरेकी सानी नातिनीलाई फकाई–फुलाई गर्न थाल्यो । यसपछि फर्केर आई मसँग हात मिलाएर बल्ल भनेको थियो, ‘म सेवास्तियन फ्रेन्जेल ।’
‘कुमार भट्टचन ।’ मैले पनि दह्रोसँग हात समातेको थिएँ ।
‘तपाईं चाइनिज ?’
‘होइन, म नेपालको ।’
‘यो नेपाल कहाँ हो ?’ उसले एक्कासि सोधेको थियो ।
‘तपाईंलाई माउन्ट एभरेस्ट थाहा छ ?’ मैले उल्टै प्रश्न गरेको थिएँ ।
‘इन्डिया ?’
‘होइन, संसारको सबभन्दा अग्लो चुचुरो नेपालमा हो ।’
उसले केही नभनेर टाउकोलाई झड्का दियो । कुन्नि, मेरो कुरो बुझेको थियो वा थिएन †
सेवास्तियन फ्रेन्जेल, सेन्टक्लाउड, मिनासोटा स्टेटको बासिन्दा । ऊ सेन्टक्लाउडभन्दा परको सहर मिनियापोलिसको एक फोन कम्पनीमा टेक्निसियनको काम गथ्र्यो । तीन वर्षअघि अवकाश पाएको थियो । उसकी श्रीमती थिइन । (जवानीकै बेलामा श्रीमतीले पारपाचुके गरेर अर्कैसित गएकी थिई ।) एक्लो छोरो मार्बेल फ्रेन्जेल अमेरिकाको सरकारी फोर्समा भर्ना भएर अफगानिस्तान पुगेको थियो ।
‘हेल्लो सेवास्तियन †’
‘हेल्लो भट्टचन †’
‘कता ?’ उसलाई हतारमा देखेर सोधेँ ।
‘ट्रेसीको बर्थडे आएकाले केकको अर्डर दिनु छ ।’ उसले सानी नातिनीतिर देखाएर भन्यो, ‘अनि तपाईंं कता ?’
‘हामी दुईचार दिनको खानेकुरो लिन वालमार्ट जाँदै छौँ ।’ छोरी कल्याणी भट्टचनले जवाफ दिई ।
‘वालमार्ट † † † ?’
‘तपाईं पनि उतै जान लाग्नुभएको होला नि ?’ म मित्रवत् मुस्कुराएँ ।
सेवास्तियन फ्रेन्जेल एकछिन घोरियो । तर, ओठका दुई फ्याक कम्पित थिए । सायद के भनूँ र के नभनूँको दोधार थियो † निधारका रेखा खुम्चिएका थिए । यो बुढ्यौलीको चाउरी पक्कै थिएन ।
(उसको गालामा रंग पनि फेरिएर रातो–रातो भएको लाग्यो) उसले भन्यो, ‘म कहिल्यै पनि वालमार्टमा जाने गर्दिनँ ।’
‘अनि कहाँ नि ?’ कल्याणीले सोधी ।
‘डेन्समा ।’
‘होली डे इनसँगैको डेन्स ?’
‘हो, डेन्स ।’ उसले ‘डेन्स’मा जोड दियो ।
‘वालमार्ट’ संयुक्त राज्य अमेरिकाभरि आफ्नो निजी जालो भएको प्रसिद्ध सुपरमार्केटको नाउँ हो । अझ अमेरिकाबाहिर अरू देशमा क्रमश: फैलिरहेको । वर्षभरिमा अर्बौं डलरको कारोबार गर्ने पारिवारिक कम्पनी ।
(कर्पोरेट अमेरिकाको ‘पँुजी’को वास्तविक प्रतिनिधित्व गर्नसक्ने अति सम्पन्न हैसियत भएको मान्नुपर्छ ।) यसको सानो खालको खत्र्याकखुत्रुक पसल डेन्ससँग कुनै पनि तुलनै हुन सक्दैनथ्यो ।
‘डेन्समा सामान अलि महँगो छ ।’ छोरी कल्याणीले भनी ।
‘हो, तैपनि म डेन्समा जान्छु । म मात्र होइन, यहाँका अधिकांश पाका मानिस डेन्समै किनमेल गर्ने गर्छन्् ।’ उसले गम्भीर भएर हामीलाई हेर्‍यो, ‘हामी कुनै पनि मालसामान खरिद गर्न वालमार्ट जादैनाँै ।’
‘किन सेवास्तियन ?’ मेरो उत्सुकता बढेको थियो ।
‘वालमार्ट’ माथिका धनाढ्यको काम हो । यसले सेन्टक्लाउडमा पाइला टेकेर साना–साना पसललाई धराशयी गरिदिएको छ । समुद्रको ठूलो माछाले सानो माछालाई क्वापलक्क खाएजस्तै । स्थानीय श्रम यसरी मासिँदै गएको हामी बूढाबूढीलाई मनपरेको छैन । ‘यो सरासरी अन्याय हो ।’ उसको गम्भीरता कायम थियो, ‘सेन्टक्लाउडका धेरै पसल बन्द भइसकेका छन् । जसोतसो डेन्स बाँचेको छ । यसलाई जसरी पनि वालमार्टको मारबाट हामी जोगाउन चाहन्छौँ ।’ यसरी एकनासले लामो–लामो वाक्य बोलेको थकान (अथवा तनाव) उसको अनुहारमा देखिन्थ्यो ।
मैले कल्याणीतिर हेरेँ ।
छोरी कल्याणीको अनुहार भावहीन थियो ।
त्यसपछि सेन्टक्लाउडको बूढो सेवास्तियन फ्रेन्जेललाई ।
‘ल त पछि भेटाँैला भट्टचन’ भनी ऊ आफ्नो दाहिने खुट्टोलाई असहज पाराले बिस्तारै मोडेर कारभित्र पस्यो ।

(चर्चित कवि तथा व्यंग्यकार विमल निभाको भर्खरै सार्वजनिक व्यंग्यसंग्रह ‘डाइनोसोर जिउँदो छ’ को एक निबन्ध)

प्रतिक्रिया