जिन्दगी : पढेरै नसकिने किताब !

सायद ९ वर्षको हुँदो हुँ, ५ कक्षाको विद्यार्थी । ज्वरोले निस्लोट भएर धेरै दिनदेखि बिस्तरामा लडिरहेको थिएँ । शिक्षक पनि रहनुभएका मेरो दाजुले एउटा पुस्तक (त्यो ‘बालक’ पत्रिका थियो कि ?) ल्याइदिनुभएको थाहा पाएर जर्‍याकजुरुक उठेँ । तर, बिरामी मान्छे, चक्कर लागेर ढलेछु । आमाले त्यतिबेला मायालु पाराले गाली गर्नुभएको अझै सम्झन्छु । सायद, त्यहीँबाट सुरु भए होला मेरो पुस्तकसँगको सहयात्रा ।
थाहा छैन, पुस्तकको कुन सम्मोहनले मलाई त्यति सानो उमेरदेखि लठ्याउन थाल्यो । त्यतिबेला आजजस्तो पुस्तकको वैविध्य, पहुँच र उपलब्धता त सम्भवै थिएन । त्यसैले ‘जे आउँछ मज्जाले पचाउँछ’ भन्ने विज्ञापनजस्तै मैले जे पाएँ, त्यही चाट्न थालेँ– महाभारत, देवीभागवत्, स्वस्थानी व्रतकथा, वीरसिक्का, मधुमालतीको कथा र लाहुरे काकाहरूले ल्याउने हिन्दी म्यागेजिनहरू । एक जमानामा म हिन्दी उपन्यासहरू, विशेष गरेर जासुसी कथाहरूको ‘दिबाना’ थिएँ । अझै पनि सम्झन्छु, एसएलसी दिन पाल्पामा बसेको बेला, २०३२ सालमा, भोलिपल्ट परीक्षा छ– मचाहिँ खल्तीमा वेदप्रकाश शर्माको कुनै किताब बोकेर टुँडिखेलमा दुबो माडिरहेको हुन्थेँ । शीर्षक बिर्सें तर एउटा जासुसी उपन्यासमा एउटा वैज्ञानिक अपराधी गिरोहले मान्छेलाई अपहरण गर्दै प्रत्यारोपणमार्फत् मस्तिष्क साटिदिएर आतंक मच्चाएको प्रसंगले मलाई रन्थन्याइदिएको थियो ।
यो गन्तव्यविहीन पुस्तकयात्राको कालखण्डपछि २०३४ तिरबाट मेरो उद्देश्यमूलक यात्रा आरम्भ भयो, जतिबेला म को.के.मा आबद्ध भएँ । त्यसो त, २०३१ सालतिरै मलाई पढाउने तिलकराम गुरुले ‘तिमीले देवासुर संग्राम पढेका छौ ?’ भनेर पुस्तकको अर्को संसार पनि छ भनेर संकेत गरेका थिए । सुरुवाती दिनमा मैले पढेको माक्र्सवाद पहिलो पुस्तक, माओका रातो किताब, तीन लेख तथा पार्टीका गोप्य दस्तावेजहरूले मलाई नयाँ दुनियाँ देखाइदिए । त्यो कालखण्डमा मलाई सर्वाधिक प्रभाव पारेका दुईवटा पुस्तक हुन्– देवासुर संग्राम र ओयाङ हाईको गीत । पहिलोले मैले सानैदेखि बुझेको पौराणिक दुनियाँका मिथकलाई उथलपुथल पारेर मलाई रन्थन्याइदियो भने दोस्रो पढ्दा एउटा उदात्त चिनियाँ क्रान्तिकारी युवाको अजस्र ऊर्जाबाट मैले आफ्ना रौँ ठाडा भएको अनुभूत गरेँ ।
२०३६ सालमा भूमिगत भएपछि पुस्तकहरू मेरा साथी, मेरो भोक मेटाउने भोजन, तीर्खा मेटाउने कुवाको पानी र अँध्यारोमा बाटो देखाउने जुनकिरीजस्ता भए । सेल्टरको अभाव, आफ्नो अनुभवको कमी, भावुकता आदिका कारण मैले कैयौँ दिन र रात खोला किनारमा, जंगलमा र बेँसीका परित्यक्त गोठमा बिताएको छु । ती दिनमा पुस्तकले मलाई बाँच्ने प्रेरणा दिए । मैले कतै उल्लेख पनि गरेको छु– गुल्मीको धुसेनीमा एकजना साथीको घरबाट अत्यन्त अपमानित भएर निस्कनुपर्दा एकचोटि उर्लिरहेको कालीगण्डकीमा हाम फालूँ कि क्या हो भन्ने निराशाको अतिरेकमा पुगेको बेला मलाई रत्नकुमार वान्तवा, भियतनामी उपन्यास ‘अजम्मरी गाउँ’का पात्रहरू र ‘चम्किलो रातो तारा’को नायकले बाँच्ने प्रेरणा दिएका थिए । कहिलेकाहीँ काठमाडौं आउँदा भोटाहिटी, पाटनढोका र पुतलीसडकमा रहेका पुस्तक पसलबाट मन पर्ने पुस्तक किन्ने र झोलाभरि टन्न बोकेर सेल्टर या जंगलमा पढेर सिध्याउने मेरो दिनचर्याजस्तै भएको थियो । सायद सबैभन्दा धेरै किताब मैले २०३६–४६ को भूमिगत कालमै पढेँ कि ? त्यतिबेला मलाई ज्यादै प्रभावित गरेका पुस्तकमध्ये निकोलाई आस्त्रोभ्स्कीको ‘अग्निदीक्षा’ र लो क्वाङ पिन र याङ यी येनको ‘च्भम ऋचबन’ थिए । आज पनि पावेल कोर्चागिन र चेङ काङहरू यतै कतै छन् जस्तो लाग्छ ।
एउटा इखले मलाई अंग्रेजी पढ्ने बनायो । एकजना अंग्रेजी डिग्री होल्डरलाई ‘तीन विश्वको सिद्धान्त’ नामक पुस्तक अनुवाद गर्न दिँदा नसकेपछि खिन्न हुनुभएका कमरेड आश्रितसँग मागेर कनिकुथी अनुवादको दुस्साहस गरेपछि र गुल्मीको अर्बेनीमा एकजना ‘बौद्धिक’ ले ‘कति पढेका छौ बाबु ? राजनीति गर्न त डिग्री चाहिन्छ’ भनेर असाध्यै होच्याएको प्रसंगले मलाई ठसठसी कनेर भए पनि अंग्रेजी पुस्तक पढ्न प्रेरित गर्‍यो । त्यसका अलावा, असाध्यै छिटो पढ्ने बानीले पनि मलाई धेरै पुस्तक पढ्न सघायो ।
उमेर, जिम्मेवारीबोध र आवश्यकताले पुस्तकप्रतिको रुचि र लगाव बदल्दै लैजाँदो रहेछ । पहिले बढी रुमानी क्रान्तिकारी साहित्यले तान्थ्यो । पछि, क्रमश: गम्भीर, मनोविश्लेषणयुक्त, परिवेश सँगसँगै बगेका र पात्रहरूको स्वाभाविक विकास प्रतिविम्बित भएका साहित्यले बढी छुन थाले । पछिल्लो कालखण्डमा मलाई ज्यादै प्रभावित गरेका पुस्तक हुन्– हावर्ड फास्टको : त्जभ न्यिचष्यगक द्यचयतजभचक (जसमा यहुदी राष्ट्रनिर्माणको गौरवगाथा छ र जहाँ साइमनका पाँच भाइ हाम्रै पाँच पाण्डवजस्ता लाग्छन्), सोलोखोभको ख्ष्चनष्ल क्यष् िग्उतगचलभम
(जसमा सोभियत क्रान्तिपछिको पुनर्निर्माण र पार्टीभित्रको नोकरशाहीतन्त्रको जीवन्त चित्रण छ), मन्नु भण्डारीको ‘आप का बन्टी’ (जहाँ सम्बन्ध विच्छेद गरेका सहरिया जोडीको एउटा बच्चाको चर्चा छ, जो आमा र बाबुको बीचमा यसरी बाँडिन्छ कि उसको मनोदशाले तपाईंलाई भित्रैदेखि हल्लाइदिन्छ), पाब्लो नेरुदाका केही कविताहरू (जहाँ चिलीको माटोको सुगन्ध सुँघ्न सकिन्छ) र खलिल जिब्रानको ‘प्रोफेट’ । यो सूचीमा म अल्बेयर कामुको ‘न्यायप्रिय’ नाटकलाई कहिल्यै बिर्सन सक्दिनँ, जहाँ क्रान्तिमा हिंसाको प्रयोग र नैतिक धर्मको यति जीवन्त बहस छ कि मैले दोराको कथनलाई आफ्ना आलेखहरूमा पटक–पटक प्रयोग गरेको छु ।
यस शृंखलामा म नेपाली लेखकलाई कसरी छुटाउन सक्छु र ? रमेश विकलको ‘अविरल बग्छ इन्द्रावती’ मा नदीको शान्त प्रवाहजस्तै बगिरहेको वर्गद्वन्द्व र लालगेडीको त्रासदीले मलाई आजसम्म पनि छोइरहन्छ । अहा, कस्तो हुन्थ्यो होला मैले पनि त्यस्तै सशक्त उपन्यास लेख्न पाए भनेर म धेरै चोटि कल्पेको छु । रिमालको ‘आमाको सपना’, देवकोटाको ‘प्रभु, मलाई भेडो बनाऊ !’, भूपिको ‘मैनवत्तीको शिखा’ र मञ्जुलका केही कविताहरूले पनि मलाई भित्रैदेखि उद्वेलित गरेका छन् । पछिल्लोपटक पढेका ‘कर्नाली ब्लुज’, ‘छापामारको छोरो’, ‘लू’ र ‘सेतो धरती’ ले नेपाली साहित्यको उक्लँदो स्तरलाई प्रतिबिम्बित गरेका छन् ।
यी त भए ‘फिक्सन’ का कुरा । विचारको लागि, सिद्धान्तको विकासका लागि, दार्शनिक चेतका लागि हामीलाई ‘नन फिक्सन’ पनि उत्तिकै जरुरी हुन्छ र खास गरी आग्रह होइन तर्कमिश्रित, ढिपी होइन तथ्यआधारित पुस्तकहरू मन पराउँछु । यस्ता पुस्तकमध्ये मलाई ज्यादै प्रभावित गरेका कृतिहरू हुन्– माक्र्सको ‘राजनीतिक अर्थशास्त्रको आलोचना’ र ‘लुई बोनापार्टको अठारौँ बु्रमेर’, ग्राम्सीको ‘एचष्कयल ल्यतभदययपक’, रोजा लग्जेम्बर्गका रुसी क्रान्तिसम्बन्धी केही रचनाहरू, अमत्र्य सेनको ‘क्ष्मभलतष्तथ बलम ख्ष्यभिलअभ’ र के. दामोदरनको ‘भारतीय चिन्तन परम्परा’ । रुसोको ‘ऋयलाभककष्यलक’, नेल्सन मन्डेलाको ‘ीयलन धबपि तय ाचभभमयm’ जस्ता आत्मकथा र बबी स्यान्ड्सको जीवनकहानी ‘द्ययददथ क्बलमक स् ल्यतजष्लन दगत बल गलाष्लष्कजभम कयलन’ ले मलाई ठूलो प्रेरणा दिएका छन् ।
२०४० को दशकमा राजमोतीका नाममा मदन भण्डारीले लेखेका वैचारिक बहसयुक्त रचनाहरू, चैतन्य मिश्रको ‘पुँजीवाद र नेपाल’, हर्क गुरुङको ‘मैले देखेको नेपाल’ र जनकलाल शर्माको ‘हाम्रो समाज : एक अध्ययन’ पनि मलाई मन परेका पुस्तकहरू हुन् ।
पुस्तकसँगको यो ४० वर्षभन्दा लामो सहयात्रामा पढेको सयौँ पुस्तकमध्ये केही प्रतिनिधिमूलक दृष्टान्त हुन्– मैले माथि उल्लेख गरेका । मन परेका पुस्तकको सूची निकै लामो हुनसक्छ र पढ्न चाहेका पुस्तकको सूची अझै लामो हुनसक्छ । घरको निजी संग्रहमा रहेका झन्डै दुई हजार र आइप्याडमा रहेका झन्डै एक हजार पुस्तक कहिल्यै पढेर सकिएला खोई † तर पनि पढ्ने धोको कहिल्यै पूरा भएको छैन र कहिल्यै पूरा हुँदैन पनि होला ।
तर, जिन्दगी आफैँ पुस्तकजस्तो रहेछ, कहिल्यै  पढेर नसकिने !

प्रतिक्रिया