अझै बनेन जलवायु केन्द्र

काठमाडौं, १३ असोज । नेपालले जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सभासम्मेलनमा डेढ दशकभन्दा बढी समयदेखि सहभागिता जनाउँदै आए पनि जलवायु केन्द्र भने स्थापना गर्न सकेको छैन । वैज्ञानिक तथ्यविनै जलवायु परिवर्तनका कारण नेपालमा असर परेको छ भनेर अन्तर्राष्ट्रिय मञ्चमा कुरा उठाइँदै आएको छ ।
१७ वर्षअघि जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि
(युएनएफसिसिसी) को पक्ष राष्ट्र भएदेखि नेपालले हरेक जलवायु सम्मेलनमा सहभागिता जनाउँदै आएको छ । ती सभासम्मेलनमा जलवायु परिवर्तनले गर्दा नेपालमा ठूलो असर परेको बताउने नेपालसँग त्यसको कुनै ठोस प्रमाण भने छैन । त्यसैकारण सन् २०६७ सालमा जलवायु परिवर्तन नीति बन्दा सरकारले एक वर्षभित्र जलवायु परिवर्तन केन्द्र स्थापना गर्ने योजना बनाएको थियो ।
वातावरण विभाग बन्ने प्रक्रिया चलिरहेकाले केन्द्र स्थापना गर्न नसकिएको वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । ‘वातावरण विभाग स्थापना गर्ने प्रक्रिया चलिरहेकाले जलवायु परिवर्तन केन्द्रको काम सुरु हुन सकेको छैन,’ मन्त्रालयकी प्रवक्ता मीना खनालले सौर्यसँग भनिन्, ‘विभागको काम सकेपछि जलवायु परिवर्तन केन्द्रको काम सुरु हुन्छ ।’ उनले जलवायु परिवर्तनले गर्दा नेपालमा यस्तो असर पर्‍यो भन्ने वैज्ञानिक आधार नभएकाले केन्द्र स्थापना अत्यावश्यक भएको बताइन् ।
जलवायु परिवर्तन नीति २०६७ मा जलवायु परिवर्तनसम्बन्धी अध्ययन, अनुसन्धान र अनुगमन गर्न र सरकारलाई नियमित नीतिगत एवं विषयगत क्षेत्रमा प्राविधिक सहयोग गर्न एक वर्षभित्र केन्द्र स्थापना गर्ने मुख्य लक्ष्य राखिएको थियो । जलवायु परिवर्तन र यसको असरबारे अपव्याख्या हुन थालेपछि सरकारले जलवायु परिवर्तनबारे जानकारी दिने केन्द्र स्थापना गर्ने भनेर नीतिमा उल्लेख गरेको थियो ।
अहिलेसम्म जलवायु परिवर्तनबारे तथ्यांक वा कुनै जानकारी चाहिए मन्त्रालयले जल तथा मौसम विज्ञान विभागबाट वर्षा र तापक्रमको विवरण लिने गरेको छ । ‘जलवायु परिवर्तनबारे अहिलेसम्मको आकलनका लागि सबै विभागको वर्षा र तापक्रमको तथ्यांकमा भर परेका छन्,’ विभागका वरिष्ठ मौसमविद् राजेन्द्रप्रसाद श्रेष्ठले भने । विभागको अध्ययनकै आधारमा बर्सेनि ०.००६ डिग्री सेल्सियसको दरले तापक्रम बढिरहेको बताइएको छ ।

प्रतिक्रिया