कार्यकर्ता रिहाई पछि चितवन बन्द फिर्ता

चितवन, १२ असोज । नेकपा–माओवादीले गरेको चितवन बन्द मध्यान्ह १२ बजेबाट फिर्ता भए पछि यातायातका साधन र यात्रु गन्तव्य तर्फ लागेका छन् ।
प्रहरीले पक्राउ गरेका आफ्ना कार्यकर्ता रिहा गरेपछि बन्द फिर्ता गरिएको नेकपा माओवादीले जनाएको छ । बन्द फिर्ता भएपछि चितवन जिल्लाको जनजीवन पनि समान्य भएको छ ।
भारतीय सवारी साधन रोक्ने क्रममा पूर्वी चितवनको खैरहनी पर्साबाट १३ जना कार्यकर्ताहरुलाई प्रहरीले बिहीबार राति पक्राउ गरेको थियो ।
पक्राउ कार्यकर्ता रिहाईको माग गरेर भएको बन्दका कारण चितवन भएर चल्ने सवारी साधन र यात्रु प्रभावित भएका थिए ।
यसैबीच, बन्दका क्रममा बिद्यालय सञ्चालन गरेको भन्दै विद्यार्थीले पूर्वी चितवनको पिठूवामा रहेको जनजागृति उच्च माविमा तोडफोड गरेका छन् । तोडफोडबाट फाइल राख्ने दराज, टेबल तथा फोटोकपी मेसिनमा क्षति पुगेको छ ।

प्रतिक्रिया