नजरको फूल, तडप र खोज

काठमाडौं : आज शुक्रबारबाट तीन नेपाली चलचित्र नजरको फूल, तडप र खोज सार्वजनिक प्रदर्शन हुँदै छन् । नजरको फूल र खोज फ्रेस चलचित्र हुन् भने तडप मोफसलको प्रदर्शनपछि काठमाडौं उपत्यका भित्रिन लागेको हो । नजरको फूलमा विश्वास भन्डारीको निर्देशन रहेको छ भने खोजका निर्देशक हुन्, किसोर ढकाल । तडपमा राज बन्स्यातको निर्देशन छ
कोरियन स्टाइलका एक्सन, सस्पेन्स, लब स्टोरी, कमेडीलाई प्रथामिकतासाथ प्रस्तुत गरिएको नजरको फूलले दर्शकलाई भरपुर मनोरज्जन गराउने निर्माण पक्षले जानकारी गराएको छ । रक्चा तामाङको निर्माण रहेको चलचित्रमा दानियाल तामाङ, सुष्मा भारती, रञ्जना खड्का, प्रमिस गुरुङलगायत मुख्य भूमिकामा छन् । प्रमिस गुरुङ तथा सुगम थापाले संगीत दिएको चलचित्रको लेखन पनि प्रमिसकै छ । देव महर्जनको द्वन्द्व, सुरेस चौधरीको नृत्य रहेको छ । युवा दर्शकका लागि तारगेट गरेर निर्माण गरिएको चलचित्रको एउटा गीत निकै ग्ल्यामरस रहेको निर्देशक भण्डारीले बताए ।


माता कृष्णमाया स्मृति फिल्मस्को ब्यानरमा निर्माण भएको तडप जीवन थापाले निर्माण गरेका हुन् । राजेश हमाल, झरना थापा, दिलीप रायमाझी पनाह अधिकारी, रवि गिरी, मोहन मिश्र, जीवन थापा मुख्य भूमिकामा रहेको चलचित्रका लेखक पनाह अधिकारीले गरेका छन् । जन्मा राई र सुनील वीर श्रेष्ठको संगीत, देव महर्जनको द्वन्द्व, देवेन्द्र गिरी हुरहुरको छायांकन छ । चलचित्र चेलीबेटी बेचबिखन कथामा आधारित छ ।
कुमारसिंह महर्जन र विनोदबहादुर आमात्यको संयुक्त निर्माणमा तयार भएको चलचित्र हो, खोज । नैनु शमशेर जबरा प्रस्तुतकर्ता रहेको चलचित्रमा लक्ष्मीप्रसाद ढकाल कार्यकारी निर्माता रहेका छन् भने कमेडी, सस्पेन्स, एक्सनलगायत मसला समेटिएको बताइन्छ । विराज भट्ट, सुमन सिंह, मौसमी मल्ल, कल्पना शाही, दीपशिखा शाही, रवि बस्नेत, विजय देउजा, दिनेश लामा आदि मुख्य भूमिकामा छन् । वसन्त सापकोटाको संगीत र रोसन श्रेष्ठको द्वन्द्वनिर्देशन छ । (सौस)

प्रतिक्रिया